काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरुको संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । मंगलबारसम्म विभिन्न राजनीतिक दलसम्बद्ध व्यवसायीहरुले गरेका तयारी बुझ्दा तीन पक्षबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको हो ।
प्रमुख सत्तापक्षीय दलहरु नेकपा एमाले र नेपाली कांग्रेसनिकट व्यवसायीहरु छुट्टाछुट्टै चुनावमा होमिने भएका छन् । अर्कोतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रनिकट व्यवसायी एक्लै अगाडि बढ्ने तयारीमा लागेका छन् । एकीकृत समाजवादीनिकट व्यवसायी भने एमालेनिकटसँग सहकार्यमा जुटेका छन् ।
यसपटक संघको नेतृत्व लिन नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र माओवादीनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका उम्मेदवार नै मुख्य प्रतिस्पर्धी बन्ने भएका छन् । प्रगतिशीलले संघका पूर्वअध्यक्ष तथा मञ्चका पूर्वमहासचिव नरेश गेलाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
लोकतान्त्रिक एसोसिएसनले संघका पूर्वद्वितीय अध्यक्ष भूवनसिंह गुरुङलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । तर उक्त निर्णयसँगै एसोसिएसन आन्तरिक विवादमा फसेको छ । अध्यक्षको उम्मेदवार बन्न आकांक्षीहरु धेरै हुँदा लोकतान्त्रिकलाई एकल उम्मेदवार बनाउन सकस पर्ने देखिएको छ । जसले गर्दा अघिल्लो चुनावमा जस्तै ‘बागी’ उम्मेदवार उठ्ने सम्भावना बढेको छ ।
माओवादी केन्द्रनिकट गणतान्त्रिक मञ्चले भने संघका पूर्वप्रथम उपाध्यक्ष रामप्रसाद भान्तनालाई अध्यक्षमा उठाउने तयारी गरेको छ । मञ्चबाट महासचिवमा कुन्छादोर्जे डिम्दोङसहित केही पदाधिकारी र सदस्यहरु टुंग्याए पनि सबै टुंगो लाग्न बाँकी रहेको जनाएको छ ।
प्रगतिशील र एकीकृतबीच सहकार्य
प्रगतिशील र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच सहकार्यको सहमति बनेको छ । तराई वैदेशिक रोजगार फोरमले पनि प्रगतिशीलका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।प्रगतिशीलसँग ३५० को हाराहारीमा मत रहेको दाबी गरिएको छ । एकीकृतले १०० र तराई फोरमले करिब ६० मत रहेको दाबी प्रस्तुत गरेका छन् । यदि यो दाबी सही भए प्रगतिशील नेतृत्वको प्यानललाई चुनाव जित्न सहज हुने व्यवसायीहरु बताउँछन् । अर्कोतर्फ चुनावको सम्मुखमा लोकतान्त्रिक एसोसिएसनभित्रको आन्तरिक कलहले प्रगतिशीललाई फाइदा हुने उनीहरुको भनाइ छ । अघिल्लो चुनावमा पनि लोकतान्त्रिकको आन्तरिक कलहको लाभ प्रगतिशीलले उठाएको थियो ।
प्रगतिशीलले मञ्चका वर्तमान अध्यक्ष जनक रावललाई महासचिव उठाउने निर्णय गरिसकेको छ । संघको विधानअनुसार अध्यक्षमा उमेदवारी दिन नपाएर सहकार्य गरेको एकीकृतले द्वितीय उपाध्यक्ष, सचिव र दुई जना सदस्य पाउने भएको छ । द्वितीय उपाध्यक्षमा संस्थाका महासचिव मधुकर रिजाल र सचिवमा संस्थाका सचिव अनिल बोगटीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । तराई वैदेशिक रोजगार फोरमले पनि यदि प्यानलले जितेको खण्डमा सल्लाहकार पाउने सहमतिअनुसार सघाउने निर्णय भएको फोरमका पूर्वअध्यक्ष शितल यादवले बताए ।
विगतकै नियति दोहो¥याउने बाटोमा लोकतान्त्रिक एसोसिएसन
कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक एसोसिएसन अघिल्लो निर्वाचनको जस्तै आन्तरिक किचलोमा फसेको छ । एसोसिएसन कसरी अघि बढ्छ भन्ने भोलि २४ गतेपछि मात्र निक्र्योल हुने जनाइएको छ । एसोसिएसनले सात जना आकांक्षीमध्ये संघका पूर्वद्वितीय अध्यक्ष गुरुङलाई अध्यक्षमा उठाउने निर्णय गरेसँगै संस्थाभित्र कलह मच्चिएको छ । अध्यक्षका बाँकी छ जना आकांक्षीमा सोलार एचआर म्यानेजमेन्ट प्रालिका सञ्चालक प्रज्ञान न्यौपाने, एलाइन्स ह्युमन रिसोर्स प्रालिका सञ्चालक सुजितकुमार श्रेष्ठ, फ्युजन इन्टरनेसनल प्रालिका सञ्चालक कुमुद खनाल, फेमस ह्युमन रिसोर्स प्रालिका सञ्चालक चिरञ्जीवी बस्याल, नीलकमल ह्युमन रिसोर्स प्रालिका सञ्चालक मेघनाथ भुर्तेल र एसआरके ओभरसिज प्रालिका सञ्चालक किशोर केसी छन् । उनीहरु गुरुङलाई उठाउने निर्णयविरुद्ध एक ठाउँमा उभिएका छन् ।
अघिल्लो निर्वाचनमा बागी उठेका गुरुङलाई सजाय दिनुको साटो उल्टै अध्यक्षमा उठाउनु जायज नभएको उनीहरुको तर्क छ । यस्तै उमेदवार टुंग्याउने प्रक्रिया त्रुटिपूर्ण भएको उनीहरुको ठहर छ । गुरुङलाई उमेदवार बनाउने विषयमा पुनर्विचार नगरिए संस्थाबाट अलग्गिनेसम्मको चेतावनी उनीहरुले दिएका छन् । अघिल्लोपटक एसोसियसनले खनाललाई अध्यक्षमा उठाउँदा गुरुङ बागी उठेका थिए । खनालले १५७ मत पाएका थिए भने गुरुङको पक्षमा १३१ मत परेको थियो । त्यसबेला प्रगतिशीलका राजेन्द्र भण्डारी १९९ मत पाएर विजयी भएका थिए ।
एसोसिएसन एक ढिक्का भएर अघि बढेको अवस्थामा स्पष्ट बहुमत हुँदाहुँदै आन्तरिक कलहले पराजय बेहोर्न बाध्य भएको कांग्रेसनिकट व्यवसायीहरु बताउँछन् । संस्थामा यसपटक सिर्जित घटनाक्रमले पनि अघिल्लोपटककै नियति दोहो¥याउने छाँटकाँट देखाएकोप्रति एसोसिएसनका सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् ।
गणतान्त्रिकको तयारी
लोकतान्त्रिक एसोसिएसनसँग सहकार्य गर्ने विषयमा कुरा नमिलेपछि वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले संघका पूर्वप्रथम उपाध्यक्ष रामप्रसाद भान्तनालाई अध्यक्षमा उठाउने निर्यय गरेको छ । त्यसैगरी महासचिवमा आकृति रिक्रुटिङ प्रालिका सञ्चालक तथा मञ्चका महासचिव कुन्छादोर्जे दिम्दोङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरी युनिभर्सल एचआर सोलुसन प्रालिका सञ्चालक भरत सापकोटा, रिजा ओभरसिज इम्प्लोइमेन्ट प्रालिकी सञ्चालक रेखा शर्मा, इगल म्यानपावर कन्सल्ट्यान्ट प्रालिका सञ्चालक कृष्ण ढकाल र रोजबर्ड एचआर प्रालिका सञ्चालक मेघबहादुर राउत गरीे चार जना सदस्यका उम्मेदवार टुंग्याएको छ । मञ्चले अन्य साना दलनिकट व्यवसायीहरुसँग सहकार्यका लागि प्रयास गरिरहेको जनाएको छ ।