संघीय संविधान जारी भएसँगै नेपालमा राष्ट्रपति र उपराष्ट्रपति नयाँ संस्थाको रुपमा आए । दुवै सम्मानित पद हुन् । राष्ट्रपति र उपराष्ट्रपति भएपछि राजनीतिक दलको सदस्यतामात्र हैन राजनीति नै छाड्नुपर्ने हुन्छ । यो संवैधानिक व्यवस्था हो । यद्यपि यस्तो पदमा पुगेर पदमुक्त भएपछि के गर्न हुन्छ वा हुँदैन भन्ने प्रस्ट छैन ।
यसरी प्रस्ट नभए पनि नैतिक हिसाबमा राष्ट्रपति वा उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन हुन्न भन्ने मान्यता छ । तर यसको ठीक विपरीत पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन भने ‘कमब्याक’ भएका छन् । पुन किन राजनीतिमा फर्किए भन्ने कुरा अर्को विषय हुन सक्ला, तर राज्यको सम्मानित पदमा दुई–दुई पटक राज गरिसकेका व्यक्ति यसरी सक्रिय राजनीतिमा फर्कनु सकारात्मक सन्देश जाने खालको कदम हैन ।
एक त पुनको यो कमब्याकले नेकपा माओवादी केन्द्रलाई नै घाटा हुन्छ । कारण हरेक पार्टीले नवीकरण खोजिरहेको हुन्छ । नयाँ उत्साहसहितको नेता पार्टीले खोजिरहेको बेला पुरानै नेता जसले अवसरहरुको उपयोग गरिसकेका छन् उनैलाई पुनः राजनीतिको उच्च तहमा राख्नु उचित हुन्न । यसले पार्टीलाई गतिशील त बनाउँदै बनाउँदैन । बरु पद र प्रतिष्ठाको अभिलाषा लिएर दलगत राजनीति गर्नेहरु निराश हुन्छन् ।
यो माओवादीको हितका लागि भयो । यदि आफ्नो दललाई बलियो र अर्को पुस्तालाई आकर्षणको केन्द्रबिन्दु बनाउने हो भने पुनले तत्काल आफूलाई दिएको जिम्मेवारी अस्वीकार गर्नुपर्छ र माओवादीका बैठकहरुमा जानु हुँदैन । दलमा अथक योगदान दिएको सम्झने हो भने उनले जति अवसर अरुले पाएका छैनन् जो उनीझैं दलगत राजनीतिमा होमिएका थिए । अर्को विषय आफ्नो गुनगान गाउने भजनमण्डली तयार गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको हत्कण्ड हो भने यो पनि ठीक हुन्न । किनभने पुन आफ्नो छोरा दीपेश पुनका कारण विवादमा तानिएका छन् । भोलि सहकारी प्रकरण पुनः बल्झिँदा पुनले राजनीतिबाट हात धुनुपर्ने अवस्था आउन सक्छ ।
हुन त पुनकै पालामा दुई–दुई पटक राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीसमेत राजनीतिक मैदानमा आउने तयारी गरिरहेकी छन् । एकै ब्याचकी भण्डारी सर्वोच्च पदमा पुगेकी पहिलो महिला पनि हुन् । उनी अघि डा. रामवरण यादव राष्ट्रपति । यादव धनुषामा शक्तिशाली राजनीतिक नेताका रुपमा चिनिन्छन् । तर उनले कहिल्यै पनि सक्रिय राजनीतिमा आउने चाहना राखेनन् । राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले यसबाट पाठ सिक्ने कि ?