काठमाडौं– ओभरसिज इम्प्लोइमेन्ट प्रालिका सञ्चालक अख्तर हुसेनले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तराई वैदेशिक रोजगार व्यवसायी समाजका वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले आफू संघको प्रथम उपाध्यक्षका लागि चुनाव लड्ने प्रभावसँग बताए ।
विगतमा विभिन्न राजनीतिक दलनिकट संस्थासँग प्यानल बनाएर चुनाव लड्ने गरेको तराई समाज आउँदो फागुन २ गते हुने संघको चुनावमा एक्लै प्रतिस्पर्धामा उत्रने तयारीमा छ । राजनीतिक दलनिकटका उम्मेदवारले चुनाव जित्दा संघका लागि केही कम गर्न नसक्ने हुसेन बताउँछन् । ‘चुनावमा कि हार हुन्छ कि जित । अब हामी कुनै पनि पार्टीको शरणमा जाँदैनौं । व्यवसायीको हितमा काम गर्न पहिला पार्टी त्याग्नुपर्छ,’ उनी भन्छन्, ‘दलको झण्डा ओढेर यो गर्छु, त्यो गर्छु भन्नेहरु झूठा हुन् भन्ने प्रमाणित भइसक्यो । विस्तारै व्यवसायीहरुले बुझ्न थालेका छन् ।’
तराई वैदेशिक रोजगार व्यवसायी समाजको तर्फबाट हुसेन एकल उमेद्वारको रुपमा खडा हुने भएका छन् । राजनीतिक दलनिकट उम्मेदवारहरु आफ्नासामु बलियो भएर उभिँदा आफू पनि उत्तिकै साहसकासाथ मैदानमा उत्रने हुसेन बताउँछन् । म्यानपावर व्यवसाय सुरक्षित र सम्मानित नभएकोमा उनी दुःखी छन् । वैदेशिक रोजगारीले नछोएको क्षेत्र कुनै नभएको उल्लेख गर्दै उनले अर्थतन्त्रको मेरुदण्ड नै वैदेशिक रोजगारी भएको दाबी गरे । यद्यपि, राज्यले यो क्षेत्रलाई प्रवद्र्धन गर्न नचाहेको उनको आरोप छ ।
साथै अभियन्ताको खोल ओढेर व्यवसायीमाथि खुलेआम आक्रमण गर्ने गरेकोप्रति उनले आक्रोश व्यक्त गरे । ‘हामी पनि वैधानिकरुपमा दर्ता भएर राज्यलाई कर तिरेर व्यवसाय चलाइरहेका छौं । यदि गल्ती गरेको छ भने हामीमाथि कानुनी कारबाही हुन्छ । तर जो कोहीले जथाभावी आक्रमण गर्न पाइने कानुन राज्यले बनाएको छ र ?,’ उनी प्रश्न गर्छन् ।
के–के छन् हुसेनका एजेन्डा
हुसेन संघ नियमनकारी निकाय नभएको हुँदा चुनाव जितेर यो गर्छु त्यो गर्छु भन्नु गलत हभएको बताउँछन् । ‘संघले वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउन भूमिका खेल्नुपर्छ,’ उनले भने । यदि मतदाताले आफूलाई जिताए वार्षिक न्यूनतम १०० जना कामदार पठाउनुपर्ने प्रावधान हटाउन सशक्त पहल गर्ने बताए । ‘अहिले हट्ने तयारीमा त छ तर सरकारले कतिबेला ‘र’, ‘वा’ घुसाउँछ, थाहा हुँदैन,’ उनी भन्छन्, ‘मलेसियाले कामदार नलग्दा व्यवसाय गर्न नपाएका व्यवसायीलाई अब असारमा बन्द गर्ने त ? व्यवसाय गर्ने अन्तर्राष्ट्रिय बजारको मागअनुसार हो, सरकारले यति नै हुनुपर्छ भन्न मिल्दैन ।’
त्यसैगरी संघमा दलको नभएर व्यवसायीको प्रतिनिधित्व सुनिश्चित गर्न काम गर्ने उनी बताउँछन् । वैदेशिक रोजगार क्षेत्रको सिन्डिकेट हटाउन आफू लागिरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘सिन्डिकेट केका लागि हो, सबैलाई व्यवसाय गर्न देऊ न, एक जनाले मात्र कति पैसा कमाउने हो र ?’ त्यस्तै, संघको निर्वाचनमा पनि राजनीतिक दलको सिन्डिकेट भएकाले खुलारुपमा अध्यक्षमा लड्न पाउने प्रावधान ल्याउने विषयमा काम गर्ने उनी बताउँछन् । हुसेनका अनुसार एकचोटि पदाधिकारी भएको व्यक्तिमात्र अध्यक्षमा चुनाव लड्न पाउने संघको विधानमा रहेको प्रावधान गलत छ । ‘व्यवसाय गरेको हुनुपर्यो, लाइसेन्स प्राप्त हुनुपर्यो, कम्पनी अद्यावधिक हुनुपर्यो बाँकी ऊ योग्य छ छैन भन्ने कुरा व्यवसायीले निर्णय लिने हो,’ उनले भने । क्षमतावान् व्यक्तिलाई विधानले रोकेको हुसेनको गुनासो छ ।
युट्युबर र अभियन्ताको नाममा व्यवसायीलाई आतंकित बनाउने गतिविधि रोक्न आफूले भूमिका खेलेको उनको दबी छ । ‘विगत २०–२५ वर्षदेखि व्यवसायीमाथि हुँदै आएको आक्रमण रोक्न मैले ‘डिजिटल प्रतिकार’को अवधारणा ल्याएर कार्यान्वयन गराएँ । मेरै आइडियाले व्यवसायी सुरक्षित भए,’ हुसेनको भनाइ छ ।