पाठेघरको क्यान्सरका कारण नेपालमा हरेक वर्ष करिब एक हजार ५०० महिलाको मृत्यु हुने गरेको तथ्यांक छ । क्यान्सर भनेको शरीरको कुनै पनि भागमा अस्वाभाविकरुपमा कोषहरुको वृद्धि हुनु हो । पाठेघरको मुखको क्यान्सर ह्युमनपापिलो भाइरस संक्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ ।
असुरक्षित यौनसम्पर्क, एचआइभी भएका महिलाहरु, गर्भनिरोध चक्कीको अत्यधिक सेवन, धूमपानजस्ता क्रियाकलापले पाठेघरको मुखमा क्यान्सर हुने सम्भावना बढाउँछ । जानअञ्जान, शिक्षाको कमीले पनि यस्तो क्यान्सरका रोगीहरु बढिरहेका छन् । यस्तो क्यान्सरबाट जोगाउन नौ वर्षदेखि १३ वर्षका बालिकालाई एचपिभी खोप लगाएमा रोकथाम गर्न सकिने अध्ययनहरुले देखाएको छ ।
यही कारण नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसर पारी मंगलबार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको सुरुआत गरेका हुन् । यो अभियान फागुन ६ गतेसम्म सञ्चालन हुँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यो खोपबाट कोही पनि किशोरी वञ्चित हुन नदिने बताएका छन् । यसका लागि सबैले आ–आफ्नो ठाउँबाट प्रचारप्रसार र थाहा दिएर सहयोग गर्नु उचित हुन्छ । स्वास्थ्य मन्त्रालयकाअनुसार हरेक वर्ष नियमित खोप तालिकामार्फत यो खोप किशोरीहरूलाई दिने कार्यतालिका रहेको छ । स्वास्थ्य विभागका महानिर्देशक डा. विकास देवकोटाका अनुसार १४५ देशमा प्रयोग भइरहेको यो खोप नेपालले पनि समावेश गरेको हो । कूल १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिइने लक्ष्य सरकारको छ । यसपटक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।
क्यान्सर नसर्ने रोग हो । नसर्ने रोगको भार पछिल्लोपटक बढिरहेको अवस्थामा सरकारले थालेको यो अभियान स्वागतयोग्य छ । अझ किशोरीहरुको सवालमा रोग लाग्नुअघि नै यस विषयमा सचेत र पूर्वकार्य गर्नु बुद्धिमतापूर्ण विषय हो । यो सँगै सरकारले बालबालिकालाई प्याकेजमा स्वास्थ्यसम्बन्धी शिक्षासमेत दिए यो कार्यक्रम अझ राम्रो हुने देखिन्छ ।