काठमाडौं - नेपाल पर्वतारोहण प्रशिक्षक संघद्वारा आयोजित ‘छठौँ आइस क्लाइम्बिङ लेभल वन ट्रेनिङ’ सम्पन्न भएको छ । बिहीबार तालिम लिएका १८ जनालाई काठमाडौंको धुम्बराहीस्थित पासाङ ल्हामु फाउन्डेशन क्लाम्बिङ वालमा प्रमाणपत्र वितरण गरी सम्पन्न भएको हो ।
उनीहरुले मनाङ जिल्लाको काठमाडौं भ्याली हुम्देमा तालिम लिएका हुन् । उनीहरुलाई ६ जना प्रशिक्षकले तालिम दिएका थिए । प्रमुख प्रशिक्षक लाक्पा रङ्दु शेर्पाले भने, ' तालिम लिनको लागि ५० जनाले फारम भरेका थिए, जसबाट छनोट भई १८ जनालाई तालिम दिएको हो ।'

उनकाअनुसार प्रशिक्षक संघले दिदैँ आएको चार-पाँच वटा तालिमहरुमध्ये यो तालिम निकै महत्वपूर्ण रहेको छ । उनले तालिमहरुमा आइस लेभल वन तालिम शारिरीक रुपमा एकदमै जोखिम हुने बताए ।लाक्पा शेर्पाले भने, ‘पहिला पहिला एक पटकमा ३० जना सम्मलाई तालिम दिइन्थ्यो, जसले गर्दा तालिममा धेरै दुर्घटना हुने पनि गर्दथ्यो । तर यसपटक भने छनोट भएका १८ जना सक्षम भएकाले त्यस्तो केही दुर्घटना भएन । सुरक्षित साथ तालिम सम्पन्न भयो । पहिलाको तुलनामा यस पटकको तालिममा सहभागीहरुले अलि बढी हिँउमा खेल्न र रमाउन पाए ।’
उनका अनुसार यस पटकको तालिममा सहभागीहरुलाई बिहान ८ बजेदेखि साँझको ६ बजेसम्म हिउमा खेलाइएको थियो । जसले गर्दा उनीहरु हिउसँग अझ बढी नजिकिए र राम्रोसँग बुझ्ने मौका पाए । संघले दिने तालिमहरुमा बेसिक इन्ट्रोडक्टोरी, बेसिक माउन्टेन रेस्क्यू, रोक लेभल वन, आइस लेभल वन, हाई माउन्टेन रेस्क्यु आदि रहेका छन् ।