काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारको प्रस्तुति निकै कमजोर रहेको आरोप लगाएका छन् । बिहीबार सदनलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष दाहालले सरकार अर्थतन्त्रलाई कमजोर बनाउने दिशामा अघि बढेको दाबी गरे ।
आफ्नो नेतृत्वमा आर्थिक प्रगतिका सुचक बलियो बन्दै गरेको अवस्थामा केपी शर्मा ओलीको नेतृत्वले देशलाई बर्बादीतिर लगेको दाहालको तर्क थियो । ‘सरकार अनौपचारिक तथा अवैधानिक माध्यमलाई प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्र कमजोर बनाउने दिशामा अग्रसर छ,’ उनले भने । प्रधानमन्त्री ओलीले माघ १८ गते सदनलाई सम्बोधन गर्दै सरकारले आर्थिक अवस्था सुधारका लागि अथक मेहेनत गरेको र सुधारका संकेतहरु देखिन थालेको बताएका थिए । तर ती उपलब्धि अत्मरतिमा आधारित भएको दाहालले दाबी गरे । ‘प्रधानमन्त्रीका रुपमा मैले यो सम्मानित संसदमा एउटा परम्परा सुरु गरेको थिएँ, रिपोर्ट कार्डको परम्परा । तर, अहिले संसदमा रिपोर्ट कार्ड होइन, तथ्य होइन, मिथ्या कल्पना र आत्मरति सुनिन थालेको छ,’ उनले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले व्यापार घाटा तीव्र रुपले बढेको, रेमिट्यान्स घटिरहेको अवस्थामा पनि सरकारले ढाकछोपको प्रयास गरेको आरोप लगाए । ‘सरकारले चालु वर्षको खर्च र राजश्वको लक्ष्य पुरा गर्न सक्ने छैन । छ महिनाअघि २.६ प्रतिशतले घटेको व्यापार घाटा यो सरकारको छ महिने अवधिमा ४.४ प्रतिशतले बढेर ७ सय २३ अर्ब पुगेको छ । छ महिनाअघि २२.२ प्रतिशतले वृद्धि भएको थियो रेमिट्यान्स । अहिले वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढे पनि रेमिट्यान्स आप्रवाह भने घटेर ४.१ प्रतिशत पुगेको छ,’ दाहालले भने ।
मैले सरकार छोड्दा मुद्रास्फीति ३.५७ प्रतिशत थियो, अहिले बढेर ५.४१ प्रतिशत पुगेको छ । खाद्यान्न मूल्यवृद्धि झन् गम्भीर रूपमा २८.५२ प्रतिशतले बढेर औसतमा ७.६७ प्रतिशत पुगेको छ, जबकि मैले छोड्दा यो दर ४.०४ प्रतिशत मात्र थियो
पुष्पकमल दाहाल
अध्यक्ष
माओवादी केन्द्र
महँगी अहिले बढेको र श्रमिकको ज्याला भने नबढेको दाहालको भनाई थियो । वित्तिय संस्थाबाट प्रवाह हुने कर्जा पनि निरन्तर ओरालो लागेको उनको भनाइ थियो । ‘छ महिनाअघि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा २.६ प्रतिशतले वृद्धि भइरहेको थियो, अहिले घटेर १.२ प्रतिशतमा सीमित भएको छ । मेरो नेतृत्वमा ३ सय ७७ अर्बले बढेको निक्षेप यो सरकार बनेपछि घटेर २ सय ३९ अर्बले मात्र बढेको छ,’ दाहालले भने ।
दाहालले कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत अर्थमन्त्री भएको समयमा यो प्रगति भएको बताएका थिए । महतकै कारण सरकार अप्ठेरोमा परेको भन्दै दाहालले कांग्रेससँग सत्ता समीकरण छाडेर एमालेसँग मिलेर सरकार गठन गरेका थिए । आफ्नो प्रशंसा सुनेर कांग्रेस प्रवक्ता महत भने खुसी भएनन् । बरु महतले उल्टै असन्तुष्टि पोखे । ‘जुन बेला नेपाली कांग्रेससँग छाडेर जानुभयो, अर्थमन्त्रीले सहयोग गरेन भन्नेजस्तो अभिव्यक्ति उहाँले दिनुभयो । तर आज त्यसबेला एकएक गरेर आर्थिक उपलब्धि भएको थियो भनेर दोहोर्याउनुभयो,’ महतले भने ।
त्यतिबेला देश आर्थिक मन्दीको घेरामा परिसकेको उल्लेख गर्दै त्यसबाट उम्कन लगानी सम्मेलन आयोजना गरिए पनि दाहालकै कारण त्यो असफल भएको महतले आरोप लगाए । ‘त्यो अवस्थाबाट हामीले अगाडि बढाउने सशक्त अभियान थाल्यौ । लगानी सम्मेलन गर्न लागेका थियौ । सरकार परिवर्तन भएर त्यो फ्लप भयो,’ महतले भने, ‘यो कुरा उहाँले बिर्सन हुन्न । धेरै लगानी भित्रने वाला थियो । मन्त्रिपरिषद्को निर्णय उल्ट्याउनुभयो उहाँले । अनि यति लामो फेहरिस्त आयो कि जुन कार्यान्वयन गर्न सकिने अवस्था नै आएन । अहिलेको सरकारलाई पनि मुश्किल छ ।’
अहिले सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक ल्याएर नागरिकको मुख बन्द गर्न खोजिएको तर्क गर्दै दाहालले यसमा कांग्रेस जिम्मेवार हुनुपर्ने बताए । ‘खासमा यो विधेयकमा सरकारको नियत प्रकट भएको छ । प्रधानमन्त्री केपी ओलीजी विरोध त परको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न,’ दाहालले भने, ‘यस्तो प्रयास प्रधानमन्त्रीकै रुपमा उहाँले यसअघि पनि पटकपटक गरिसक्नुभएको हो । त्यसैले म उहाँलाई प्रश्न गर्दिनँ । मेरो प्रश्न छ, नेपाली कांग्रेसलाई ।’
कांग्रेसको चाहना पनि ओलीको जस्तै हो कि भनेर दाहालले प्रश्न गरेका थिए । यसैगरी दाहालले पहिले गठबन्धन गर्न हुन्न भनेर ताली खाने कांग्रेस नेताहरु अहिले मौन रहेकोमा आफूलाई अचम्म लागेको बताए । ‘माओवादीसँग गठबन्धनमा हुँदा निर्वाचनपूर्वको गठबन्धन पाप हो भन्ने साथीहरु पनि थिए कांग्रेसमा । कांग्रेस एक्लै लड्छ, अब रुखबाहेक अन्त भोट हाल्दैन भनेर ती साथीहरुले धेरै ताली खाए,’ कांग्रेस महामन्त्री गगन थापातिर लक्षित गर्दै दाहालले भने, ‘तर, गत स्थानीय निकायको उपचुनावमा के भयो ? दुई ठूला दलबीच नै गठबन्धन भयो ।’
जुन बेला नेपाली कांग्रेससँग छाडेर जानुभयो, अर्थमन्त्रीले सहयोग गरेन भन्नेजस्तो अभिव्यक्ति उहाँले दिनुभयो । तर आज त्यसबेला एकएक गरेर आर्थिक उपलब्धि भएको थियो भनेर दोहोर्याउनुभयो । त्यो अवस्थाबाट हामीले अगाडि बढाउने सशक्त अभियान थाल्यौ । लगानी सम्मेलन गर्न लागेका थियौ । सरकार परिवर्तन भएर त्यो फ्लप भयो
डा प्रकाशशरण महत
प्रवक्ता, नेपाली कांग्रेस
दाहालको यो अभिव्यक्ति प्रधानमन्त्री पद गुमेको असन्तुष्टिमात्र भएको कांग्रेस प्रवक्ता महतको दाबी थियो । ‘एमालेसँग सहकार्य गरे पनि नेपाली कांग्रेससँग सहकार्य गरे पनि प्रधानमन्त्री पद चै प्रचण्डकै हुन्छ भन्ने थियो । त्यो परिस्थिति समाप्त भएकोले त्यसबाट अभिप्रेरित भएर अभिव्यक्ति आएको मैले ठानेको छु,’ महतले भने ।
एकदलीय व्यवस्थाका लागि युद्ध लडेको दाहालले समावेशी र समानुपातिकको कुरा उठाउनु हस्यास्पद भएको महतको तर्क थियो । ‘एकदलीय व्यवस्था स्थापना गर्नका लागि उहाँ लड्नुभएको थियो । बहुदलीय व्यवस्थामा उहाँ आउनुभएको कुरा बिर्सन भएन । समानुपातिकको आवाज कांग्रेसले उठाएको कुरा उहाँले बिर्सन भएन,’ महतले भने ।