प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले बिहीबार सदनलाई सम्बोधन गरे । सामान्यतय विपक्षी दलका नेताले सदनमा सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने हो । तर प्रधानमन्त्री केपी शर्मा ओली दाहालको सम्बोधनमा देखिएनन् । बरु संसदमा विरलै देखिने कांग्रेस सभापति शेरबहादुर देउवा दाहाल बोल्दाबोल्दै टुप्लुक्क आइपुगे ।
भन्नलाई सदन विपक्षको भनिन्छ । तर सदन जनताको आवाज बुलन्द हुने ठाउँ हो । बिहीबारको सदनमा शुन्य समयमा जनताको समस्याका विषयमा आवाज उठेपनि विपक्षी दलका नेता र सत्ता पक्षका नेताहरुले विशेष समयमा सत्ताकै जुहारी खेले । माओवादी अध्यक्ष दाहालले शुरुमै वर्तमान सरकार कुनै पनि रुपमा सफल नदेखिएको भन्दै जुनसुकै बेला ढल्न सक्ने चेतावनी दिए ।
सरकार ढल्दैन भन्दै प्रधानमन्त्रीले दैनिक खाइरहने कसमबाट नै सरकार कति कमजोर रहेछ भन्ने प्रमाणित भएको दाहालको भनाई थियो । दाहालले सरकारको आलोचना र आफ्नो गुनगान गाउनेबाहेक बिहीबार एक घण्टा बोल्दा जनताका कुरा सम्झेनन् । विपक्षी दलले सरकारलाई बाटो देखाउने हो । विकासको लागि चुनौति दिने हो । तर दाहालले सरकारको आलोचनाबाहेक केही गरेनन् ।
नयाँ दलका युवा नेताहरुले पनि प्रतिप्रश्नबाहेक केही गरेको देखिएन । आएका कार्यक्रमहरु प्रश्न गर्ने, विरोधका लागि विरोध गर्नेबाहेक अरु काम सदनमा देखिएन । विपक्षी दलले एजेन्डा दिने हो, गल्ती भएका ठाउँमा यसरी गर्ने हो भनी पाठ सिकाउने हो । तर विपक्षी दलका नेताहरुले समस्या देखाएर त्यसलाई ठुलो बनाउने कामबाहेक सदनमा केही गरेको देखिएन ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालको भाषण पुरानै अभिव्यक्तिको ‘कम्पाइल’ सिवाय अरु थिएन । सरकारलाई मार्गदर्शन गर्ने कुनै टार्गेट नभएपछि दाहालको दैनिक अभिव्यक्ति हो – यो सरकार छिट्टै ढल्छ । यता प्रधानमन्त्री ओली उस्तै । उखान टुक्क र गीतका लय हालेर अरुलाई मोहित गराउने कला छ उनमा । यही कला देखाउँदै ओलीले माघ १८ गते सदनमा दाहाप्रति कटाक्ष गरेका थिए । सोही कटाक्षको जवाफ दाहालले बिहीबार फर्काएका हुन् । यसरी घन्टौ सदनमा बोल्न जनताका पीरमर्का सम्बोधन भए पो जननिर्वाचित प्रतिनिधि भन्दा सुहाउँछ । उही विरोधका लागि विरोध र प्रश्नका लागि प्रश्न उठाउँदै सत्ताको जुहारी खेल्नु परम्परागत शैली नै भएन र ?