काठमाडौं – दक्षिण कोरियामा रोजगारीको अनुभव भएका आप्रवासीहरूलाई नेपालमा उद्यमी बनाउने कार्यक्रम सञ्चालनमा ल्याइएको छ । अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) द्वारा आयोजित आप्रवासी कामदारको ‘स्टार्टअप’ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
‘नेपाल आप्रवासी कामदार उद्यमशीलता प्रतियोगिता’ विषयक कार्यक्रम कोरिया सरकारले ‘कोरियामा रोजगारीको अनुभव लिइ नेपाल फर्किएका व्यक्तिहरूको स्थिर पुनर्वासका लागि चरणबद्ध रूपमा सहयोगी भूमिका कार्यान्वयन गर्न लागिएको हो । यस परियोजना सञ्चालन भएपश्चात् विगत एक वर्षमा नेपाली आप्रवासी कामदारको उद्यमशीलता क्षमतालाई सुदृढ गर्ने कार्यक्रमको मूल्यांकन गर्दै नौ जना उत्कृष्ट सहभागीले उद्यमशीलता विचार प्रस्तुत गर्ने प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा कोरियाको आधारभूत उद्यमशीलता शिक्षण पाठ्यक्रम, नेपालको वस्तुस्थितिमा उपयोगी पाठ्यक्रम, इन्क्युवेसन र स्टार्टअपसम्बन्धी विषय समावेश गरिएको थियो ।कोरिया सरकारले सन् २०२२ देखि नेपाली आप्रवासी कामदारलाई कोरियामा रोजगारमा जानुपूर्व तालिमदेखि फर्केपश्चात् व्यवसाय सुरू गर्न सहयोग गर्नेसम्म चरणबद्ध रोजगारी र उद्यमशीलता शिक्षा प्रदान गर्दै आएको छ । यसका लागि ८० लाख अमेरिकी डलरको बजेट लगानी गरेको छ । उद्यमशीलता तालिम पूरा गरेका स्टार्टअपहरूलाई स्टार्टअप पुँजी (ऋण) र वित्तीय सहयोगसँग जोड्न मद्दत गर्ने जानकारी दिइएको छ ।
कोइकामार्फत सञ्चालन गर्ने यो परियोजना नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि विकास बैंक, द ब्रिज इन्टरनेसनल, कोरिया फेडरेसन अफ कम्युनिटी क्रेडिट कोअपरेटिभ, एमवाई एससीजस्ता कन्सोर्टियम संस्थाहरूसँगको सहकार्यमा कार्यान्वयन भइरहेको छ ।शुक्रबारको कार्यक्रममा नेपालस्थित कोरियाली राजदूत पार्क थेयङ, नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव निश्चलराज पाण्डे, कोइका नेपाल कार्यालय प्रमुख खोङ मुहन र नेपाल स्टार्टअप इकोसिस्टमका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
उक्त अवसरमा, स्टार्टअपसम्बन्धी आफ्नो प्रस्तुति दिने प्रतियोगीहरूले योजनामा रहेको उत्कृष्ट उद्यमशीलता क्षमता प्रस्तुत गर्नुका साथै विभिन्न व्यावसायिक मोडलहरू प्रस्तुत गरेका थिए । साथै, कोरियामा कार्यरत हुँदा हासिल गरेको सीप, ज्ञान र क्षमताको उपयोग गरेर स्वदेश फर्केपछि सफल उद्यमशीलताका उदाहरणहरू समावेश गरेका थिए । नौ जना प्रतियोगीमध्येबाट पाँच जना उद्यमीलाई उत्कृष्ट उद्यमीका रूपमा छनोट गरिएको थियो ।