काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सरेको छ । संघले यही फागुन २ गतेलाई तय गरेको ३१औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी असार १७ गते गर्ने गरी सार्ने निर्णय गरेको हो । संघका महासचिव मेघनाथ भुर्तेलले निर्वाचन सार्ने निर्णय भएको पुष्टि गरे ।
उनले उक्त निर्णयको जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराइसकेको बताए । ‘पदलोलुप भएर निर्वाचन सारिएको होइन, वर्तमान कार्यसमितिले अगाडि बढाएका केही महत्वपूर्ण विषयहरु टुंगोमा पु¥याउनुपर्ने छ । अन्तिममा पुगिसकेका ती विषय नयाँ कार्यसमितिले अगाडि बढाउन नसक्ने अवस्था देखेर निर्वाचन केही समय पर सार्ने निर्णय भएको हो,’ महासचिव भुर्तेलले प्रभावसँग भने ।
संघको भवन, सय संख्याको प्रावधान खारेजी, मागपत्र प्रमाणीकरण निर्देशिका, सेवा शुल्कलगायतका विषय अन्तिम चरणमा पुगेकाले वर्तमान कार्यसमितिबाटै टुंग्याउन निर्वाचन सार्नुपरेको उनको भनाइ छ । ‘सय संख्याले जसरी व्यवसायीको घाँटी ङ्याक्ने काम भइरहेको छ, वर्तमान कार्यसमितिले पहिलोपटक मन्त्रिपरिषद्बाट निर्णय गराएर खारेजीका लागि संसद्मा पेस गराउन सफल भएको छ । संसद्को आउँदो अधिवेशनमा यसलाई ‘क्लियर’ गर्नु छ । नयाँ कार्यसममिति आउँदा यो विषय कहाँबाट फलो गर्ने भन्ने बाटो खोजिराख्नुपर्छ । वर्तमान कार्यसमिति हुँदा यो विषय टुंग्याउन सहज हुन्छ,’ महासचिव भुर्तेलको दाबी छ ।
संघको निर्वाचन सार्ने निर्णयको व्यवसायीहरुबाट भने विरोध भएको छ । लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन नेपाललगायतले तोकिएकै समयमा निर्वाचन गर्न माग गरेका छन् । यी संस्थाले आइतबार संघमा समयमै निर्वाचन गर्न माग गर्दै निवेदन पेस गरेका थिए । तर, उक्त निवेदन नै दर्ता गर्न नमानेको एक व्यवसायीले बताए ।
कांग्रेसनिकट लोकतान्त्रिक एसोसिएसन र माओवादी केन्द्रनिकट गणतान्त्रिक मञ्चको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार बनेका भुवनसिंह गुरुङले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने माग गरे । उनले हारको मनस्थितिबाट अन्तिम समयमा आएर निर्वाचन सार्ने निर्णय भएकोप्रति विरोध जनाए । ‘निर्वाचन सार्ने निर्णयमा हाम्रो सहमति छैन । अन्तिम समयमा आएर निर्वाचन सार्ने निर्णय वर्तमान कार्यसमितिको हतास मानसिकता र हारको मनस्थितिबाट आएको प्रस्ट देखिन्छ । चुनावी प्रक्रियामा होमिएपछि जसरी पनि तोकिएकै मितिमा सम्पन्न गर्नुपर्छ,’ गुरुङले भने ।
आफू संघमा रहेको अस्तव्यस्ततालाई सुदृढीकरण गर्ने एजेण्डा लिएर चुनावमा होमिएको उनले बताए । संघमा बेथिति निम्त्याउनेहरुबाट निर्वाचन नहुने परिस्थिति सिर्जना गरिएको उनको आरोप छ । ‘एकलौटी ढंगले चुनाव सार्न खोजिएको छ । संघको वर्तमान नेतृत्वमा चरम अकर्मण्यता देखियो । व्यवसायीहरु चुनावमा होमिइसकेको अवस्थामा सार्नुको औचित्य के हो ? १५–२० दिनदेखि निर्वाचनमा लागिपर्दाको आर्थिक क्षति कसले बेहोर्ने ?,’ गुरुङले प्रश्न गरे ।
सत्ता गठबन्धनमा रहेका दुई दलको नेतृत्वमा छुट्टाछुट्टै प्यानल घोषणा भएका थिए । लोकतान्त्रिक एसोसिएसनले माओवादीनिकट गणतान्त्रिक मञ्चसँग गठबन्धन गर्दा एमालेनिकट प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले एकीकृत समाजवादी पार्टीनिकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनसँग गठबन्धन गरेको थियो । यसरी सत्तापक्षीय दुई दलले फरक–फरक प्रतिपक्षी दलसँग चुनावी तालमेल गरेपछि ती दलका नेतृत्वको हस्तक्षेपमा संघको निर्वाचन सारिएको जानकारहरु बताउँछन् ।
संघका महासचिव भुर्तेलले यसलाई स्वीकार गरेका छन् । उनले अप्राकृतिक गठबन्धनका कारण सरकार सञ्चालनमा नै समस्या हुने भएकोले सरकारबाट चासो हुनु स्वाभाविक भएको बताए । ‘वर्तमान सरकारमा कांग्रेस–एमालेको गठबन्धन छ । अहिले संघको चुनावमा एमालेले एकीकृत समाजवादीसँग गठबन्धन गरेको छ, कांग्रेसले माओवादीसँग । यो अप्राकृतिक गठबन्धन भयो । यसले सरकारको कार्यसञ्चालनमा पनि असर पर्ने भएकोले सरकार नेतृत्वबाट चासो हुनु स्वाभाविक हो,’ भुर्तेलले भने ।
लोकतान्त्रिक एसोसिएसनका उम्मेदवार गुरुङले भने राजनीतिक नेतृत्वबाट कुनै कुरा नआएको बताए । प्रगतिशीलसँग गठबन्धन गरेको एकीकृत संगठनले आइतबार नै विज्ञप्ति जारी गरेर निर्वाचन तोकिएकै समयमा गर्न माग गरेको छ ।
‘अधुरा काम टुंग्याउन निर्वाचन सार्नुपर्यो’
![Meghnath-Bhurtel-1739180403.jpg](https://www.prabhabonline.com/uploads/posts/Meghnath-Bhurtel-1739180403.jpg)
मेघनाथ भुर्तेल
महासचिव, वैदेशिक रोजगार व्यवसायी संघ
वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमितिले फागुन २ गतेका लागि निर्धारण गरिएको निर्वाचन असार १७ गतेलाई सार्ने निर्णय गरेको छ । कार्यसमितिको उक्त निर्णय जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको छ । अब संघको स्थापना दिवसको दिन असार १७ गते निर्वाचन हुने छ ।
निर्वाचन सार्नुको पछाडि वर्तमान कार्यसमिति पदलोलुप भएर होइन, हामी निर्वाचन गर्ने तयारीमै छौं । निर्वाचन समिति बनाएर हामीले निर्वाचनको कार्यक्रम अघि बढाइसकेका थियौं । प्रतिनिधि दर्ताको काम चलिरहेको थियो । तर, वर्तमान कार्यसमितिले अगाडि बढाएका केही महत्वपूर्ण विषयहरु टुंगोमा पु¥याउनुपर्ने छ । अन्तिममा पुगिसकेका ती विषय नयाँ कार्यसमितिले अगाडि बढाउन नसक्ने अवस्था देखेर निर्वाचन केही समय पर सार्ने निर्णय भएको हो ।
पूर्वअध्यक्षहरु र विभिन्न संस्थाका प्रतिनिधिहरुले पनि वर्तमान कार्यसमितिको स्पिरिटलाई ‘ब्रेक’ गर्न हुन्न भन्ने राय प्राप्त भयो । आम व्यवसायीको हितका लागि नै हामी निर्वाचन सार्ने निर्णयमा पुगेका हौं । ज–जसले संघका मुद्दाहरुलाई नजिकबाट बुझेका छन्, उनीहरुले निर्वाचन सार्ने निर्णयलाई सकारात्मक रुपमा लिएका छन् । आम व्यवसायीले तत्कालै यो कुरा बुझ्दैनन् ।
पहिलो त संघको भवन अधुरो छ, यसलाई टुंग्याउनुपर्ने छ । अर्को महत्वपूर्ण कुरा सय संख्याको प्रावधानले जसरी व्यवसायीको घाँटी ङ्याक्ने काम भइरहेको छ, वर्तमान कार्यसमितिले पहिलोपटक मन्त्रिपरिषद्बाट निर्णय गराएर खारेजीका लागि संसद्मा पेस गराउन सफल भएको छ । संसद्को आउँदो अधिवेशनमा यसलाई ‘क्लियर’ गर्नु छ । नयाँ कार्यसममिति आउँदा यो विषय कहाँबाट फलो गर्ने भन्ने बाटो खोजिराख्नुपर्छ । वर्तमान कार्यसमिति हुँदा त्यो अलमल रहँदैन । अर्को मागपत्र प्रमाणीकरण निर्देशिका, २०८० टुंग्याउनुपर्ने छ । सेवा शुल्क, यथार्थ लागत खर्चको वर्गीकरणलगायतका कुरा टुंग्याउनु छ । यी कार्य वर्तमान कार्यसमितिबाट मात्रै सम्भव हुने अग्रजहरुको पनि ठहर छ ।
अर्कोतर्फ वर्तमान सरकारमा कांग्रेस–एमालेको गठबन्धन छ । अहिले संघको चुनावमा एमालेले एकीकृत समाजवादीसँग गठबन्धन गरेको छ, कांग्रेसले माओवादीसँग । यो अप्राकृतिक गठबन्धन भयो । यसले सरकारको कार्यसञ्चालनमा पनि असर पर्ने भएकोले सरकार नेतृत्वबाट चासो हुनु स्वाभाविक हो । यो राजनीतिक विषय भयो । चुनाव सार्नुको पछाडिचाहिँ राजनीतिक विषय छैन, आम व्यवसायीको हितको विषय जोडिएको छ ।
‘निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ’
![Bhuwan-Singh-Gurung-1739180401.jpg](https://www.prabhabonline.com/uploads/posts/Bhuwan-Singh-Gurung-1739180401.jpg)
भुवनसिंह गुरुङ
अध्यक्षका उम्मेदवार, लोकतान्त्रिक–गणतान्त्रिक संयुक्त प्यानल
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सार्ने निर्णयमा हाम्रो सहमति छैन । अन्तिम समयमा आएर निर्वाचन सार्नु वर्तमान कार्यसमितिको हतास मानसिकता र हारको मनस्थितिबाट आएको प्रस्ट देखिन्छ । चुनावी प्रक्रियामा होमिएपछि जसरी पनि तोकिएकै मितिमा सम्पन्न गर्नुपर्छ । हारको मनस्थितिबाहेक निर्वाचन सार्नुपर्ने कुनै कारण नै छैन । होइन भने चुनावी प्रक्रियामा जाऔं ।
संघमा रहेको अस्तव्यस्ततालाई सुदृढीकरण गर्ने मूल एजेण्डा लिएर म नेतृत्वका लागि अगाडि बढेको छु । व्यवसायीको हित नचाहने, वर्षौंदेखि संघमा बसेर बेथिति सिर्जना गर्ने नाइकेहरुका कारण निर्वाचन सार्ने निर्णय भएको हो । व्यवसायीको हित र वैदेशिक रोजगार क्षेत्रको अस्तव्यस्ततालाई सुदृढीकरण गर्न म दृढ भएर लड्ने छु ।
निर्वाचन सार्ने विषयमा हामीसँग एकपटक पनि छलफल गरिएन । हामीलाई जानकारीसमेत छैन । आम व्यवसायी तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ भन्ने पक्षमा छ । संघमा आबद्ध संस्थाहरुले तोकिएकै समयमा गर्न माग गर्दै निवेदन पेस गरेकामा कार्यालय सचिवले दर्ता नै गरेनन् । एकलौटी ढंगले चुनाव सार्न खोजिएको छ । संघको वर्तमान नेतृत्वमा चरम अकर्मण्यता देखियो । व्यवसायीहरु चुनावमा होमिइसकेको अवस्थामा सार्नुको औचित्य के हो ? १५–२० दिनदेखि निर्वाचनमा लागिपर्दाको आर्थिक क्षति कसले बेहोर्ने ?