काठमाडौं– गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माणाधीन केबलकार खारेजीको मागसहित आन्दोलनरत ‘नो केबलकार’ पक्षसँग वार्ता गर्न मन्त्रीस्तरीय समिति गठन नहुने बताएका छन् । उनले यसअघि गृह मन्त्रालयले गठन गरेको सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीसँगै वार्तामा बसेर निकास निकाल्न आग्रह गरे ।
‘सहसचिव भट्टराईले संसारभरका १९० देशका प्रमुखहरूसँग संयुक्त राष्ट्रसंघमा वार्ता गर्नुभएको छ,’ सोमबार गृह मन्त्रालयमा नो केबलकार पक्षका प्रतिनिधिहरुसँग भएको भेटवार्तामा गृहमन्त्री लेखकले भने, ‘सोही वार्ता समितिसँग बसेर तपाईंहरूले समस्या समाधान गर्नुप¥यो । अर्को वार्ता समिति गठन हुँदैन ।’गृहमन्त्री लेखकसँग भेटवार्ताका लागि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, आदिवासी अभियन्ता आङकाजी शेर्पालगायत गएका थिए । त्यसक्रममा गृहमन्त्री लेखक मन्त्रीस्तरीय वार्ता समिति गठनका लागि सकारात्मक नभएपछि आन्दोलनरत पक्ष असन्तुष्ट भएको छ ।
आफूहरुले कर्मचारीस्तरको सरकारी वार्ता टोली अस्वीकार गरेको अध्यक्ष शेर्पाले बताए । ‘हामीले मन्त्रीस्तरीय वार्ता टोली गठनको माग ग¥यौं । कर्मचारीस्तरको वार्ता टोलीले समस्यालाई सम्बोधन गर्न सक्दैन भन्ने कुरा राख्यौं, तर गृहमन्त्रीले अडान छोड्नुभएन,’ उनले भने ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको ग्लोबल आइएमई समूहले पाथीभरा देवी केबलकारी प्रालिको नाममा केबलकार निर्माण गर्न लागेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । आदिवासी लिम्बूहरुको मुन्दुमीस्थल मुक्कुम्लुङमा स्थानीयको सहमतिविनै केबलकार निर्माण गर्न खोजिएपछि विवाद सिर्जना भएको हो । केबलकार खारेजीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा तीनजना गम्भीर घाइते भएका थिए । उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ ।
सरकारले गृहका सहसचिव भट्टराईको संयोजकत्वमा गठन गरेको वार्ता समितिसँग यसअघि भएको वार्तामा छ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा केबलकार निर्माणको काम र आन्दोलनरत पक्षका सबै कार्यक्रम तत्काललाई स्थगित गर्ने, पक्राउ परेकाहरुलाई विनासर्त रिहा गर्ने, घाइतेको सरकारले उपचार गर्नेलगायत थियो । तर, सहमतिविपरीत पक्राउ परेकालाई धरौटीमा छाडिएको र केबलकार निर्माणको काम जारी राखेको भन्दै आन्दोलनरत पक्षले उक्त वार्ता समितिसँग वार्तामा नबस्ने घोषणा गरेको थियो ।यहीबीच ताप्लेजुङबाट निर्वाचिन प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको पहलमा सोमबार गृहमन्त्रीसँग आन्दोलनरत पक्षको भेटवार्ता भएको हो । दुवै पक्षले आ–आफ्नो अडान नछाडेपछि उक्त भेटवार्ता निष्कर्षविहीन बनेको वार्तामा सहभागीले बताएका छन् ।
आन्दोलनका थप कार्यक्रम सार्वजनिक
यसैबीच नो केबलकार पक्षले सोमबार नै पत्रकार सम्मेलन गरी थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । घोषित कार्यक्रममा आजदेखि फागुन ९ गतेसम्म कोशीका सबै जिल्लामा रहेका ग्लोबल आइएमई बैंक बहिष्कार गर्ने, फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका कार्यालय घेराउ गर्ने, केबलकार निर्माण सामग्री ढुवानी नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्ने, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोधसभा गर्नेलगायत छन् । यसैगरी केबलकार खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत संघ सरकारलाई विरोधपत्र पठाउने, प्रदर्शन गर्ने र विदेशस्थित दूतावासबाट विरोधपत्र पठाउने, अनिश्चितकालीन यातायात बन्द र आमहडतालसम्मका कार्यक्रम सार्वजनिक गरिएको छ ।