कालो अनुहार, कालै जुँगा, सेतो दाँत देखाएर हाँस्दा राति अन्धकारमा पनि प्रस्ट चिनिन्छ । उनी हाम्रै गाउँका काली हुन् भनेर । काली जन्मिएका बेला हजुरबाले खुसीयाली मनाउन गाउँलेलाई भोज खुवाउँदा महासेठसँग लिएको ऋण तिर्नै नसकेपछि सात/आठ वर्षकै उमेरमा महासेठकैमा दास बनाइदिएका थिए । त्यसपछि उनलाई गाउँले कालीदासका रुपमा चिन्न थाले ।
नियोगको वैठक कोठामा खित्का छाड्दै हाँस्दै थिए कालीदास । खास कुरा यो हो नि मेरो नामको पछाडि भन्दै उनीसँग । उनी भनेका मान्छे किन्ने मान्छे । दासप्रथाको अन्त्य गर्न हिँडेको काली आज पनि दास नै बनिरहेको छ मान्छे किन्ने मान्छेसँग, त्यही बन्द कोठामा । मान्छे बेच्ने मोलमोलाइका लागि ।कालिदास उनीसँग भन्दै थिए, ‘अरु केही चिन्ता लिनु पर्दैन, ‘फ्रि टिकट–फ्रि भिसा’ हामीलाई चाहिएको यत्ति नै हो ।
मान्छे किन्ने भन्दै थियो, ‘केही छैन हामीलाई काम गर्ने दास चाहिएको हो । दास लैजानका लागि विचरा त्यही दाससँग के पैसा लिनु ?’कालीदास खुसीले फेरि खित्का छाड्यो ! तपाईं त वास्तवमै भगवान् नै हो मेरा लागि । जे भन्यो त्यही ‘ओके’ गर्नुहुन्छ, ओहो ! म कति भाग्यमानी । मान्छे किन्ने मान्छे, मुण्टो हल्लाउँछ । र, मनमनै भन्छ, ‘साला आफ्नो देशको छोराछोरीलाई दास बनाउन मेरोमा पठाउँदै छ ।’ अनि आफूलाई भने निकै नै शक्तिशाली ठान्छ । विचरा ती बेचिने मानिसहरु पशुजस्तै पैसा तिरेर बेचिएका छन् ।
कालीदास फ्रि भिसा, फ्रि टिकटमा खुसी मनाउँदै बाहिर निस्कन्छ । कोटको खल्तीबाट महँगो मोबाइल निकाल्छ र कसैलाई फोन गर्छ, ‘ल तपाईंहरुको टिम त्यो होटलको स्वीट रुममा गएर बस्नु, काम भयो । अरु कुरा त्यहीँ गरौंला’ उताबाट सायद सकारात्मक सन्देश आइसकेको छ ।
कालीदास कालो सिसा भएको कालो चिल्लो गाडीमा बस्छ र जान्छ । टेकऽसास नामैले काफी छ । मेरोमा त्यो डिमाण्ड झार्न पाए क्या मज्जा हुन्थ्यो । मान्छे बेच्ने साहुले फोनमै कुरा गरिररहेको छ । त्यही बेला कालीदास आइपुग्छन् । कालीदास टेकऽसाससँग हात मिलाउँछन् र भन्छन्, ‘ल बधाई छ, साँढे ३०० को डिमाण्ड त्यो पनि फ्रि भिसा फ्रि टिकेट’ । ‘एकदम राम्रो डिमाण्ड आयो हजुर’ यो हजुरकै देन हो नि जसरी पनि मलाई नै पार्नुपर्छ हजुर’ टेकऽसास कालीदासलाई भन्छ । कालीदास मुस्कुराउँदै भन्छन्, ‘त्यो त अव तपाईंहरु साथीभाइकै कुरा हो । कुरा मिलाउनुस् अरुसँग पनि । जसले लिए पनि मलाई केही छैन । मेरो त हिसाब क्लियर हुनुपर्छ ।’
त्यसैबेला ठूलो भूँडी भएको मान्छे गाडीबाट ओर्लन्छ र कालीदासलाई सष्टांग दण्डवत् गर्दै हात मिलाउँछ । ‘कुरा त धेरै सकारात्मक छ हजुर । अब त्यो डिमाण्डलाई मिलाएर भागबण्डा गरौं हजुर । कि कसो टेकऽसासजी,’ भूँडे बोल्छ । ‘ठिकै हो दाइ । मैले पनि अघिदेखि त्यही कुरा गरिरहेको छु । मिलाएर गरौंला भनेर ।’कालीदास हाँस्दै भन्छन, ‘साथी, यो त फ्रि भिसा फ्रि टिकेट हो । यसको मतलव उनीहरुका लागि त्यो होइन हाम्रा लागिमात्र हो । कुरो बुझियो नि ?’टेकऽसास भन्छन्, ‘ल त्यसको चिन्तै नलिनुस् न हजुर । सूचनामा मात्र हो फ्रि भिसा फ्रि टिकट । त्यो त पहिल्यैदेखिको चलन हो नि !’कालीदास फेरि मुस्कुराउँछ । ‘अनि अर्थ कसरी लिनुहुन्छ नि ? रसिद काट्नु पर्दैन ?’
‘होइन, तपाईं कस्तो थाहा पाएर पनि नपाएको जस्तोगरी सोधिरहनुभएको छ । मलाई त शंका लाग्यो है । कतै गडबड त गर्न लाग्नुभएन ?,’ टेकऽसासले शंका व्यक्त गर्यो । अवस्था ठीक छैन । कालीदासले भँुडेतिर संकेत गर्दै भन्छ, ‘त्यही बेला ठीक नभएकै कारण सोधेको नि ! बाहिर हेर्दा त पारदर्शी देखिनुपर्यो नि !’‘तपाईं पनि, हामी मान्छे बेच्ने लाइसेन्सधारी हौं । काँचो काम कहाँ गर्छाैं र ? पैसा धेरै लिन्छौं, रसिद थोरैको दिन्छौं । त्यसमा पनि फ्रि टिकट फ्रि भिसा भनेर ।’कालीदास फेरि हाँस्छ..... ‘तर पनि अहिले पहिलेजस्तो छैन ।’ भुँडे भन्छ, ‘तर अहिले निकै गाह्रो भाको छ । यताबाट भन्दा उताबाट बढी जान थाले ।’
कालीदास सोध्छ, ‘उताबाट भनेको कताबाट ?’
टेकऽसास, ‘कहाँबाट हुनु नि सबै कन्सल्टेन्सी पनि हामीजस्तै भयो अनि कहाँबाट हुन्थ्यो व्यापार । मान्छे बेच्ने लाइसेन्स त हाम्रो हो नि तिनीहरुले पनि हाम्रै काम गर्न थाले । जसरी पनि रोक्नुपर्यो !’ कालीदास भन्छन्, ‘सम्भावना छैन ! मैले माथि धेरै कुरा गरिसकें । तपाईंहरुलाई यही फ्रि भिसा फ्रि टिकेट नै ठीक छ । काम एउटा, कुरा अर्को । न समस्या, न लफडा । यही मान्छे बेच्ने लाइसेन्स नै ठीक छ । उनीहरु त शिक्षाका नामबाट मान्छे बेच्ने लाइसेन्स बनेका छन् । जुन बेला पनि जान सक्छन् ।’
भुँडे बोल्छ, ‘त्यो पनि ठिकै हो ।’टेकऽसास भन्छन्, ‘यो फ्रि भिसा र फ्रि टिकेट भन्दै झ्याम कि झ्याम रकम असुलेको छ । शुद्धीकरण भयो भने कोही बाँकी रहँदैनन् ।’त्यही भएर त व्यापारीलाई अख्तियारले हेर्न नपाउनेगरी नियम बनाउन लगाको त । कम खेलो छ ? तपाईंहरु बुझ्नु नै हुन्न । यतादेखि उतासम्म मिलाउनुपर्छ ।’ कालीदासले फेरि थपे । ‘कहाँ–कहाँ के मिलाउनुपर्ने हो तपाईंको जिम्मा अरु केही छैन ।’
‘कोही बोल्नेवाला छैन । तपाईंहरुले सबलाई व्यवस्था गर्नुभएकै छ । नेतादेखि गुण्डा, प्रशासकदेखि पत्रकारसम्म सिण्डिकेट छँदै छ,’ कालीदासले पोल खोले ।
टेकऽसासले भने, ‘त्यत्ति गरेन भने त हैरानै पार्छन् नि । मान्छे बेच्ने लाइसेन्स लिएर त यस्तो अवस्था छ । भुँडेदेखि सुँडेसम्मले सेटिङ मिलाको छ । मान्छे बेच्ने लाइसेन्स पाको छ । बाहिर फ्रि भिसा, भित्र पैसै पैसा !’
तीनै जना खित्का छाडेर हाँस्छन् ।