काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा तोकिएकै मितिमा सम्पन्न गराउन माग गर्दै व्यवसायीहरु जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । संघमा आबद्ध विभिन्न आठवटा संस्थाले निर्वाचन सार्ने संघको निर्णय खारेजीको मागसहित मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संयुक्त निवेदन दर्ता गराएका हुन् ।
निवेदनमा उनीहरुले संघको निर्वाचनसहितको साधारणसभा सार्ने निर्णय कार्यान्वयन नगराउन र यसअघि तोकिएको मिति फागुन २ गते नै सम्पन्न गराउन प्रशासनबाट संघलाई निर्देशन दिन माग गरेका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसन, एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्था नेपाल, नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति, तराई वैदेशिक रोजगार व्यवसायी समाज, नेपाल वैदेशिक रोजगार तमुधी समाज, नेपाल वैदेशिक रोजगार तामाङ समाज र नेपाल वैदेशिक रोजगार मगर समाजका प्रतिनिधिले संयुक्त निवेदनमा हस्ताक्षर गरेका छन् । संघको वर्तमान कार्यसमितिले निर्वाचन सार्न गरेको निर्णय संस्थाको विधानविपरीत रहेको निवेदनमा उल्लेख गरिएको छ ।
‘संघको विधानको दफा १५ (क) र १९ (छ) अनुसार कार्यसमितिको पदावधि दुई वर्ष हुने स्पष्ट वैधानिक व्यवस्था हुँदाहुँदै करिब छ महिना कार्यकाल लम्ब्याउने बदनियतले मात्र यो संघको साधारणसभा मिति पटक–पटक पर धकेलिएको स्पष्ट छ,’ जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको निवेदनमा भनिएको छ, ‘...संघको साधारणसभा सार्ने निर्णय विधान तथा कानुनसम्मत नभएको कारण गलत मनसायबाट आएको निर्णय त्यस कार्यालयबाट खारेज गरी अगाडि बढिरहेको निर्वाचन प्रक्रियासहितको साधारणसभालाई निरन्तरता प्रदान गरी सम्पन्न गर्नू भनी निर्देशन दिनुहुन अनुरोध छ ।’
यसअघि संघको निर्वाचनसहितको साधारणसभा फागुन २ गतेका लागि तय गरिएको थियो । सोहीअनुसार संघले निर्वाचनका कार्यक्रमसमेत अगाडि बढाएको थियो । संघको आगामी नेतृत्व र कार्यसमितिका लागि प्यानलसहितको उम्मेदवारी घोषणा भइ व्यवसायीहरु निर्वाचनमा होमिएका बेला माघ २७ गते अचानक निर्वाचन सार्ने निर्णय भएको थियो । उक्त दिनको कार्यसमिति बैठकले निर्वाचन असार १७ गते गर्नेगरी सार्ने निर्णय गरेको थियो । व्यवसायीहरु उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रशासनसम्म पुगेका हुन् ।
संघका महासचिव मेघनाथ भुर्तेलले भने वर्तमान कार्यसमितिका केही अधुरा काम पूरा गर्न निर्वाचन सार्नुपरेको बताएका छन् । उनले संस्थाको विधानअनुसार नै निर्वाचन सारिएको र असार १७ मा सम्पन्न गर्ने जानकारी प्रशासनलाई दिइसकेको बताए । संघको भवन खरिद, सय संख्या खारेजी, सेवा शुल्कलगायतका विषय टुंग्याउनकै लागि निर्वाचन सार्नुपरेको दाबी वर्तमान कार्यसमितिको छ । निर्वाचन सार्ने निर्णय हुनुभन्दा अघिल्लो दिनमात्र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरुको तर्फबाट भुवनसिंह गुरुङको नेतृत्वमा संयुक्त प्यानल घोषणा भएको थियो । त्यसअघि नै नेकपा एमाले र एकीकृत समाजवादीनिकट व्यवसायीहरुको संयुक्त प्यानल घोषणा भइसकेको थियो । कांग्रेसनिकट लोकतान्त्रिक एसोसिएसनका कुमुद खनालले पनि छुट्टै प्यानल घोषणा गरेका थिए ।
आज प्रमुख जिल्ला अधिकारीलाई हस्ताक्षर बुझाउने
यसैबीच संघको निर्वाचन सार्ने निर्णयप्रति असन्तुष्ट व्यवसायीहरुले भाेलि जिल्ला प्रशासन कार्यालयमा हस्ताक्षर बुझाउने भएका छन् । फागुन २ गते नै निर्वाचन हुनुपर्ने माग गर्दै प्रशासनमा निवेदन दर्ता गराएका संस्थाहरुले मंगलबार संयुक्त भेला आयोजना गरी व्यवसायीहरुको हस्ताक्षर संकलन गरेका छन् । वर्तमान कार्यसमितिमाथि समयमा साधारणसभा नगर्ने, अडिट रिपोर्ट नदिने, व्यवसायीको कुरा नसुन्ने, कार्यकाल सकिए पनि आफू नै भइरहनुपर्छ भन्ने स्वार्थपूर्ण व्यवहार देखाउने गरेको आरोप लागेको छ । जिल्ला प्रशासनले यसमा न्याय दिलाउने विश्वास व्यवसायीहरुको छ ।
मंगलबारको भेलामा २५० भन्दा बढी व्यवसायीले हस्ताक्षर गरेका र आज (बुधबार) थप व्यवसायीको हस्ताक्षरसहित प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाइने भनेकाेमा बुधबार पनि हस्ताक्षर संकलन जारी गरिरहेकाेले भाेलि जाने लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका महासचिव महेश बस्नेतले जानकारी दिए । उनले व्यवसायीलाई समस्या पर्दा छत्रछायाँ दिने संघ अपहरणमा परेको आरोप लगाए । ‘संघ व्यक्तिको चाहनाअनुरुप नभइ विधानमा टेकेर चल्नुपर्छ । गत माघ ५ गते नै साधारणसभा हुनुपर्ने थियो तर कार्यसमितिले एक महिना पछि धकेल्यो । माघ ५ यता संघ अवैधानिक भइसकेको छ,’ महासचिव बस्नेतले भने ।
गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीले संघको वर्तमान कार्यसमितिले आफ्नो आयु आफैं लम्ब्याउनु विधानसम्मत नहुने बताए । साधारणसभा हुन नसकेकोे अवस्थामा २५ प्रतिशतको हस्ताक्षर लिएर निवेदन दिन सकिने विधानमा भएको व्यवस्था अनुसार हस्ताक्षर संकलन गरिएको उनले बताए । ‘यत्रो दुई वर्षसम्म के गरेर बस्नुभयो ? यदि राम्रो काम गर्नुभएको छ भने व्यवसायीले त्यसको हिसाब राखेका छन्, फेरि चुनाव जितेर जानुहोस्,’ जैसीले भने ।तमुधी समाजका अध्यक्ष तीर्थ गुरुङले अब आउने नेतृत्वले बाँकी कामलाई अघि बढाउने बताए । अहिलेको नेतृत्वले भनेजस्तो भवन, सय संख्यालगायतका विषयमा काम गर्नु आवश्यक रहेको तर त्यो भन्दा पनि बढी के आवश्यक छ भनेर बुझ्न सुझाव दिए । ‘यो हस्ताक्षर कसैको विरुद्धमा होइन, तोकिएको मितिमा साधारणसभा हुनुपर्छ भनेर हो,’ उनले भने ।
राई वैदेशिक रोजगार समाजका वरिष्ठ उपाध्यक्ष अख्तर हुसेनले विधानविपरीत कार्यकाल लम्ब्याउन खोजेको भन्दै असन्तुष्टि पोखे । ‘व्यवसायीको खोल ओढेर संघमा राजनीति प्रवेश गराएर निर्वाचन गर्न नदिने चलखेल भइरहेको छ, चुप बसेर हुँदैन,’ उनले सजग गराए । त्यसैगरी नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डेले कसैको आलोचना गर्न नभइ व्यवसायी समस्यामा परेकाले यो बाटो रोज्नुपरेको बताए । व्यवसायीलाई ओत दिने संस्थाको विधान अपहरण भएकाले यसबाट बचाउन संघमा ताला लगाउन पनि तयार रहेको उनले बताए । ‘यदि प्रधानमन्त्रीले आफूले अघि सारेको योजना सक्न नभ्याए यो काम गरेर मात्र कुर्सी छोड्छु भन्न पाउँछ ?,’ पाण्डेले प्रश्न गरे ।