देशमा रोजगारी छैन । जसका कारण युवाहरु नयाँ–नयाँ श्रम गन्तव्यको खोजीमा छन् । यसरी नयाँ श्रम गन्तव्यको खोजीमा रहेका युवालाई आफ्नो जालोमा पार्न विभिन्न व्यक्ति, समूह र संस्थासमेत सक्रिय देखिन्छ ।साठीको दशकमा म्यानपावर कम्पनी र यसका एजेन्टहरुबाटै वैदेशिक रोजगारीमा जानेहरु ठगिन्थे । यस्ताखालको ठूलै समस्या सिर्जना भएपछि सरकारले कडा कानुन बनाएर नियमन थाल्यो ।
वैदेशिक रोजगार व्यवसाय सञ्चालनका लागि म्यानपावरले धरौटीबापत एक करोड रुपैयाँ नगद र तीन करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नैपर्ने व्यवस्था भयो । जसकारण कुनै श्रमिक ठगिए त्यही धरौटीबाट क्षतिपूर्ति दिने व्यवस्था सुरू भयो । वैदेशिक रोजगार विभागलगायत नियमक निकायको कडाइका कारण म्यानपावर व्यवसायी यसखालको गतिविधिबाट टाढा हुँदै गए ।
म्यानपावर व्यवसायीले दक्ष श्रमिकमात्र पठाउन थालेसँगै जुनसुकै अवस्थामा जसरी पनि विदेश जाने युवाहरु शैक्षिक परामर्शको अनुमति लिएर खोलिएका कन्सल्टेन्सी धाउन थाले । कन्सल्टेन्सी यस्तो संस्था हो, जुन वैधानिकरुपमा युवालाई विदेश पठाउन पाउँदैन तर अवैध तवरले यो धन्दामा लागिरहेको छ । म्यानपावर कम्पनीलाई जसरी धरौटीको कुनै व्यवस्था कन्सल्टेन्सीलाई छैन । तर भाषाको पढाइ, म्यानपावरलेभन्दा पनि धेरै कमाइ हुने देशमा पठाइदिने भन्दै युवाहरुलाई तानिरहेको छ कन्सल्टेन्सीवालाले ।
निश्चित रकम जम्मा गर्न लगाउने, पूरा रकम नबुझाए गन्तव्य मुलुकमा नलगिदिने र कसैलाई उजुरी वा गुनासो गरे पैसा नै फिर्ता नदिनेसम्मको धम्की कन्सल्टेन्सीका सञ्चालकले दिन्छन् । यतिमात्र हैन, कतिपयको रकम ठगेर कन्सल्टेन्सीका सञ्चालकहरु फरारसमेत भएका छन् । नेपाली युवाको पछिल्लो आकर्षक गन्तव्य हो युरोपेली मुलुक । यी मुलुकमा जान युवाहरु जुनसुकै मूल्य चुकाउन तयार हुन्छन् । जसका कारण पनि कन्सल्टेन्सीबाट जति ठगिए पनि अवसर पाइन्छ कि भनेर सहेर पर्खिबसेका हुन्छन् । जब सञ्चालकहरु सम्पर्कमा आउँदैनन् तबमात्र उनीहरु उजुरी लिएर पुग्छन् सम्बन्धित निकायमा । यसरी ठगिने सयौं युवा छन् । ठगिएका उनीहरु एक त समाजमा खुलेर भन्न सक्दैनन् । दोस्रो आधिकारिक कागजपत्र नहुँदा आफैं समस्यामा पर्छन् ।
अहिले उपत्यकाका चोकबजारमा यस्ता कन्सल्टेन्सी छ्यापछ्याप्ती भेटिन्छन् । कतिपयले म्यानपावर सञ्चालकहरुले नै धेरै रकम धरौटी राखेर म्यानपावर सञ्चालन गर्नुभन्दा धरौटी नराखी कन्सल्टेन्सी चलाएर ठगी थालेको आरोपसमेत लाग्न थालेको छ । जस्तोसुकै गरे पनि ठगी ठगी नै हो । यस्तो धन्दामा लागेकाहरुलाई कडाभन्दा कडा कारवाही हुनैपर्छ । यसैगरी यस्ता ठगीबाट युवाहरुलाई जोगाउन कन्सल्टेन्सीलाई पनि कानुनी दायरामा ल्याउनुपर्छ, जसरी म्यानपावरलाई सामाजिक दायित्वअन्तर्गत नियमन गरिन्छ र करोड धरौटी राख्नुपर्ने कानुनी व्यवस्था गरिएको छ ।