काठमाडाैं - नेपाल र्याफ्टिङ्ग एण्ड क्यानोईङ संघको आयोजनामा बार्षिक कार्यक्रम अनुरुपको १३ औं राष्ट्रिय कायाक स्लालम प्रतियोगिता सम्पन्न भएको छ ।
चितवनको फिस्लिङ, त्रिसुली नदीमा आयोजना भएको प्रतियोगितामा चितवनका प्रितम गुरुङ्गले स्वर्ण पदक प्राप्त गरे । गुरुङले १२३.३२ अंक ल्याइ स्वर्ण जितेका हुन् ।
दोश्रो स्थानमा रहेको गोरखाका रविन चेपाङ्ग १५०.६१ अंकका साथ रजत र तेश्रो स्थानमा रहेको चितवनकै विक्रम गुरुङ १५४.४५ अंकका साथ कास्य पदक प्राप्त गर्न सफल भएका थिए । विजयी खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथ प्रथमले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद प्राप्त गरे ।
खेलाडीहरुलाई नेपाल र्याफ्टिङ एण्ड क्यानोईङ संघका बरिष्ठ उपाध्यक्ष सूर्य जोशी, संघका महासचिव एवं अन्तराष्ट्रिय निर्णायक सुदीप गौतम, कोषाध्यक्ष महेश थापा लगायतले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण तथा समापन समारोहलाई बरिष्ठ प्रशिक्षक निम बहादुर मगरले बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।
दुई दिने प्रतियोगिताको अन्तिम चरणमा २ महिला सहित ३८ खेलाडीहरुको सहभागिता रहेको थियो । त्रिसुली नदीमा ६ वटा अपस्ट्रिम गेटका साथ १३ वटा गेटमा प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितालाई सफल पार्न ५ अन्तर्राष्ट्रिय सहित १७ जनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।