काठमाडौं– फागुन २ गतेका लागि तोकिएको निर्वाचनसहितको साधारणसभा सार्ने निर्णयसँगै नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति विवादमा तानिएको छ । संघको विधानविपरीत आफ्नो कार्यकाल लम्ब्याउन अन्तिम समयमा निर्वाचन सारिएको आरोपसहित व्यवसायीहरुले तीव्र आलोचना गरिरहेका छन् ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीसहितका पदाधिकारीहरु गैरजिम्मेवार बन्दै संघको विधान मिचेर आफ्नो कार्यकाल लम्ब्याउने स्वार्थमा लागेको उनीहरुको आरोप छ । संघको कार्यसमितिले निर्वाचनका लागि तोकिएको मिति आउन पाँच दिनमात्र बाँकी रहेको अवस्थामा माघ २७ गते अकस्मात् निर्वाचन स्थगित गर्ने निर्णय गरेको थियो । जसकारण फागुन २ मा हुनुपर्ने निर्वाचन असार १७ मा पु¥याइएको छ ।
व्यवसायीहरुले फागुन २ मा नै निर्वाचन गर्नुपर्ने भन्दै दबाब बढाइरहेका छन् । संघमा आबद्ध विभिन्न आठवटा संस्थाले निर्वाचन सार्ने निर्णय खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा संयुक्त निवेदनसमेत दर्ता गराएका छन् । उक्त निवेदनमा संघको पछिल्लो निर्णय खारेजी गरी पूर्वनिर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न निर्देशन माग गरिएको छ ।
यद्यपि, प्रशासनबाट बुधबारसम्म कुनै निर्देशन दिएको छैन ।व्यवसायीहरुले दबाब बढाउन व्यवसायीहरुको हस्ताक्षरसमेत बुझाउने तयारी गरेका छन् । जसअनुसार मंगलबारबाट सुरु गरेको हस्ताक्षर संकलन अभियानलाई बुधबार पनि निरन्तरता दिइएको थियो । बुधबारसम्म ३०० भन्दा बढी व्यवसायीले हस्ताक्षर गरिसकेको जनाइएको छ । संकलित हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालयमा बुझाउने तयारी रहेको तराई वैदेशिक रोजगार समाजका वरिष्ठ उपाध्यक्ष अख्तर हुसेनले बताए ।
नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चबाहेक सबै संस्थाहरुले निर्वाचन सार्ने निर्णयप्रति आपत्ति जनाएका छन् । तराई वैदेशिक रोजगार समाजका वरिष्ठ उपाध्यक्ष तथा संघको निर्वाचनका प्रथम उपाध्यक्षका उम्मेदवार हुसेन निर्वाचन सार्ने निर्णयले व्यवसायीमा अन्योल सिर्जना गरेको बताए । कामको जस लिने, सत्ता लम्ब्याउने र विभिन्न खाले षड्यन्त्र गर्ने दाउमा वर्तमान कार्यसमिति लागेको उनको आरोप छ ।
![Rajendra-Bhandari-1739423042.jpg](https://www.prabhabonline.com/uploads/posts/Rajendra-Bhandari-1739423042.jpg)
के भन्छन् अध्यक्ष भण्डारी ?
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी भने निर्वाचनको समय हेरफेर गर्ने विषयमा कोही पनि छलफल गर्न नआएको दाबी गर्छन् । यद्यपि जिल्ला प्रशासन कार्यालयबाट जस्तो निर्देशन आए पनि आफूहरु मान्न तयार रहेको उनको भनाइ छ । ‘जिल्ला प्रशासनले हाम्रो परिस्थिति बुझ्छ भन्नेमा विश्वास लिएका छौं,’ उनले भने, ‘व्यवसायीहरु हस्ताक्षर लिएर प्रशासन जानुभन्दा संघमा आएर छलफल गरेको भए उपयुक्त हुन्थ्यो ।’
मिति सार्दा विरोध गर्नेहरु संस्थाको भवन नचाहने पक्षका मानिसहरु भएको आरोपसमेत अध्यक्ष भण्डारीले लगाए । नयाँ नेतृत्वले भवनको बाँकी कामलाई निरन्तरता दिन नसक्ने भएकोले निर्वाचन सारिएको उनको भनाइ छ । ‘भवनको काम अन्तिम चरणमा छ । सक्किन लागेको काम अर्को नेतृत्वलाई सुम्पिँदा अनियमितता हुनसक्छ,’ उनी भन्छन्, ‘त्यसैगरी हामीले काम गरेर अन्तिम चरणमा पु¥याएको एक सयको संख्या, मागपत्र प्रमाणीकरणजस्ता विषय अब सल्टिने अवस्थामा छ ।’
नयाँ आउने कार्यसमितिलाई तीन–चार महिना प्रक्रिया बुझ्नै लाग्ने भण्डारीले जिकिर गरे । ‘यदि अर्को कार्यसमितिले यसलाई निरन्तरता नदिए व्यवसायीलाई फेरि यसले दुःख दिन्छ । हामी अब धेरै समय लगाउँदैनौं । काम चाँडै सकिएको अवस्थामा चुनाव असार १७ गतेभन्दा अगाडि सर्नसक्छ, यसमा ठूलो समस्या छैन,’ उनले भने ।