काठमाडौं – शंखरापुर नगरपालिकामा बुधबार विद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० जना घाइते भएका छन् ।चाबहिलको मैजुबहालस्थित सत्य साई एकेडेमीको विद्यार्थी बोकेको बस वनभोजबाट फर्कने क्रममा शंखरापुर नगरपालिका–५, कात्तिकेमा दुर्घटना भएको हो ।
दुर्घटनामा एक शिक्षक र दुई विद्यार्थी गरी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । मृत्यु हुनेमा सुरेश तामाङ (२४), क्रिशल पुरी (११) र शुशांका डोटेल (१४) रहेका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भएका सुरेश चाबहिल बस्दै आएका थिए ।
यस्तै, क्रिशल मोरङको उर्लाबारी नगरपालिका–७ स्थायी घर भई काठमाडौंको कपन बस्दै आएका थिए । अर्का मृतक शुशांका सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको भिमसेनगोला बस्थे । सुरेशको नेपाल मेडिकल कलेज, क्रिशलको त्रिवि शिक्षण अस्पताल–महाराजगञ्ज, शुशांकाको शंखरापुर अस्पतालमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक बोहराले ब्रेक फेल भएर स्कुल बस दुर्घटना भएको पाइएको बताए । दुर्घटनामा ४० जना घाइते भएका छन् । घाइतेहरूको शंखरापुरस्थित पिपुल्स लाइफ केयर अस्पताल, जोरपाटीस्थित नेपाल मेडिकल कलेज र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
विद्यार्थी बोकेको सुन्दरीमाइ यातायातको बा २ ख ७९५८ नम्बरको बस बुधबार दिउँसो वनभोजबाट फर्कने क्रममा ४ः५० बजेको समयमा दुर्घटना भएको थियो । बसमा २ देखि ९ कक्षासम्मका विद्यार्थी थिए । उनीहरू नगरकोटमा वनभोज खान गएका थिए ।