रोम–विश्व स्वास्थ्य सङ्गठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरसको सङ्क्रमणबाट इटालीमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म एक हजार ४४१ पुगेको छ ।
स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार सङ्क्रमितको सङ्ख्या शनिबारसम्म १७ हजार ७५० पुगेको छ । कोरोनाको सङ्क्रमणबाट चीनपछि सबैभन्दा धेरै इटालीमै मृत्यु भएको हो ।
त्यसैगरी बेलायतमा पनि बिरामीको सङ्ख्या एक हजार १४० पुगेको छ । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने २१ पुगेको अधिकारीले जनाएका छन् ।
पछिल्लो पटक मृत्यु भएका दश जनामध्ये सबै ६० वर्षभन्दा बढी उमेरका रहेको बेलायती स्वास्थ्य तथा सामाजिक हेरचाह विभागले जनाएको छ । चीनमा तीन हजार १९९ जनाको मृत्यु भएको छ भने ८० हजार ८४४ जना सङ्क्रमित भएका छन् । चीनमा कोरोनाको सङ्क्रमणमा नाटकीयरूपमा सुधार आएसँगै शहर बजारको आवतजावत खुकुलो पारिएको र उद्योग, कलकारखाना खुल्न थालेका छन् ।
तेस्रो धेरै प्रभावित हुनेमा इरान परेको छ । इरानमा १२ हजार ७२९ जना सङ्क्रमितमध्ये ६११ जनाको मृत्यु भएको छ । (रासस÷सिन्ह्वा)
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६ ०६:२७