चितवन- विश्व सालक दिवसको अवसरमा चितवनको माडी नगरपालिका वडा १ बनकट्टामा सालक गोलमेच सम्मेलन सम्पन्न भएको छ। ग्रिनहुड नेपाल नामक संरक्षण संस्था र पाँच पाण्डव मध्यवर्ती क्षेत्र सामुदायिक वन समितिको आयोजनामा शनिबार बनकट्टास्थित बोटे समुदायिक होमस्टेमा सम्मेलन भएको हो।
'सालक संरक्षणका लागि युवा शीर्षक'मा भएको गोलमेचमा ग्रिनहुडका निर्देशक कुमार पौडेलले चितवन राष्ट्रिय निकुञ्ज र यस वरपरका बफर जोनमा सालकको अवस्थाबारे छलफल चलाएका थिए। अनुसन्धानकर्मीसमेत रहेका पौडेलका अनुसार गैंडा बाघ जोगाएर संसारमै चर्चित भएको चितवन राष्ट्रिय निकुञ्ज सालक संरक्षणका लागिसमेत अति उपयुक्त भएको बताए।
`गैंडा, बाघसँगै सालकको पनि क्षेत्र बासस्थान हो यो निकुञ्ज। पर्यावरण जोगाउन सालक महत्वपूर्ण जनावर हो। तर पछिल्लो समय सालक मानिसकै कारण लोप हुँदै गएको छ,' अनुसन्धानकर्मी पौडेलले भने, 'अहिलेको मुख्य सवाल संसारभर नै लोप हुन लागेको सालक प्रजातिहरु नेपालले कसरी जोगाउन भन्ने हो।´
![Boteban-1739619902.jpeg](https://www.prabhabonline.com/uploads/posts/Boteban-1739619902.jpeg)
२०६९ मा स्थापना भएको ग्रिनहुड सालक, संकटापन्न जडीबुटी, कछुवालगायतका प्रजाति संरक्षणमा काम गर्दै आएको संस्था हो। नेपालको पहाड र मधेश क्षेत्रमा पाइने सालक अति संकटापन्न जनावर हो। समाउन खोज्दा नभागी गुटुल्किएर बस्ने भएकोले यसको फाइदा मानिसले उठाउँदै आएका छन्।
ग्रिनहुडले माडी क्षेत्रको पाण्डुनगर र चैनपुरमा स्थानीयको सहभागितामा सालकको अवस्थाबारे अध्ययन शुरु गरेको छ।
गोलमेच सम्मेलनमा सहभागीले सालकले पर्यावरणमा पुर्याउने फाइदा, चोरीसिकारी हुनुका कारण, चोरीसिकारी भए हुने दण्डसजायबारे प्रश्न गरेका थिए।
सालकले खेतीबालीमा लाग्ने कमिलाधमिरा खाएर बाली सपार्न सघाउने भएकोले यसलाई दुख दिन नहुने सहभागीले बताए। अन्धविश्वासका कारण कतिपयले यसको मासु खाँदा विभिन्न रोग निको हुने, यसको खबटाबाट बनेका वस्तु पहिरनको रुपमा प्रयोग गरी दुरुपयोग गर्ने गरेकोले यस्तो काम रोकिनुपर्ने उनीहरुको सुझाव थियो।
माडी वडा २ का वडाध्यक्ष दण्डमणि पौडेलले सालक संरक्षणले पर्यटन बढ्ने र आयआर्जन बढ्ने बताए। जनता र जनावरबीच द्वन्द्व बढेर दुख पाइरहेको बेला सालक सहयोगी जनावरको रुपमा पाएकोमा खुसी लागेको बताए। 'जनता र जनवारबीच द्वन्द्व छ यो क्षेत्रमा। किसानको हानीनोक्सानी बढेको बढ्यै छ। क्षतिपूर्तीले केही हुन्न,' माडी नगरपालिकाका प्रवक्तासमेत रहेका पौडेलेले भने, 'तर सालक मित्र जनवार रहेछ। यसलाई जोगाउँदा हामीलाई चौतर्फी फाइदा हुने रहेछ।'
![Bote-1739619862.jpg](https://www.prabhabonline.com/uploads/posts/Bote-1739619862.jpg)
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनास थापामगरले सालक मार्ने वा यसको खबटा लेनदेन गरेको पाइएमा कानुनी कारबाही हुने बताए। 'सालकको खबटा पूजा गर्ने भन्दै पनि ल्याउने, कसैलाई दिने, लिने काम गरे कारबाही हुन्छ। पर्यावरणमा यसले निकै राम्रो खेल खेलेको हुन्छ,' थापाले भने।
सालक चोरीसिकारी वा बेचविखन गरेको पाइएमा १० लाख रुपैयाँ जरिवाना र १५ वर्ष सम्म कैद वा दुबै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ। कार्यक्रममा ग्रिनहुडले सालक जोगाउने अभियानमा सक्रिय माडी क्षेत्रका ६ जना अभियन्तालाई सम्मानसमेत गरेको थियो। विश्वभरी मनाइने सालक दिवस ग्रिनहुडले २०७१ देखि हरेक वर्ष देशका विभिन्न क्षेत्रमा यस्तै कार्यक्रम गरी मनाउँदै आएको छ।