काठमाडौं– इजरायलले माग गरेको सात महिनापछि दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर)का लागि ८२ जना नेपाली जाने भएका छन् । वैदेशिक रोजगार विभागका अनुसार उनीहरुको उडान यही फागुन पहिलो साता हुने छ । विभागले उनीहरुलाई तयारी अवस्थामा रहन भनेको छ ।
इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको युद्धका कारण केही समय रोकिएको इजरायल रोजगारी सरकारले पुनः खोलेपछि त्यहाँ कामदार पठाउने क्रम सुरु भएको हो । विभागले गत असार ११ गते केयरगिभरका लागि आवेदन आह्वान गरेको थियो । जसका लागि चार हजार २४ जनाले अनलाइनमार्फत फाराम भरेका थिए । ती मध्ये तीन हजार ४६१ वटा आवेदन स्वीकृत भएको थियो ।
विभागका अनुसार आवेदन स्वीकृत भएकामध्येबाट दुई हजार ११२ जनालाई गोलाप्रथा (लट्री)बाट छनोट गरिएको थियो । छनोट भएकाबाट एक हजार जनाको स्वास्थ्य परीक्षण गर्दा ९२३ जना सफल भएका थिए । सफल भएकाहरुबाट चार जना पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पिडिओटी)मा अनुपस्थित भएकाले पहिलो चरणमा ९१९ जनाको करार सम्झौता आउने जनाइएको छ । पछिल्लोपटक २८ जनवरीयता करार सम्झौता आउन थालेको विभागले जनाएको छ । हाल दिनहुँजसो रोजगारदाताले हस्ताक्षरसहितको करार सम्झौता धमाधम पठाइरहेका छन् । बिहीबारसम्म २३१ जनाको करार सम्झौता आएको विभागले जानकारी दिएको छ ।
विभागको इजरायल शाखाका निर्देशक गिरिराज ज्ञवालीका अनुसार करार सम्झौतापछि भिसा लागेर आइसकेकाहरूको हकमा श्रम स्वीकृति र हवाई टिकट काट्ने काम हुन्छ । त्यसअघि इजरायलको जनसंख्या तथा आप्रवासनसम्बन्धी निकाय (पिवा)ले समय तोकेपछि हवाई टिकट काट्ने प्रक्रिया अगाडि बढ्छ । सम्झौता आइसकेकाको उडान कहिले आउँछ भन्नेमा रोजगारदाताको आवश्यकतामा भर पर्ने उनको भनाइ छ । ‘यसपालि थोरै आवेदन परेको भएर सबैमा लट्री चलाइदिएको हो । नत्र आवेदन परेकामध्ये २५ प्रतिशत निकालेर मात्र चिठ्ठा छानिन्थ्यो,’ ज्ञवाली भन्छन्, ‘यद्यपि पहिले लट्रीमा फालिएकाहरु पनि लगेका उदाहरुण छन् । यदि इजरायलले छनोटमा नपरेकालाई पनि लान चाहेको खण्डमा हामी उनीहरुलाई फेरि खबर पठाउँछौं ।’
इजरायलले गत असार ११ गते सूचना निकालेर एक हजार कामदारको माग गरेको थियो । जसमध्ये ५०० मुख्य र ३०० वैकल्पिक कारदारका रुपमा लाने उल्लेख छ । उक्त मागका अनुसार ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष लगिने छ । केयरगिभरबाहेक निर्माण र कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भनेर केही अगाडि सूचना आएको थियो । अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सम्बन्धित महाशाखाको संयोजकत्वमा एउटा कमिटी निर्माण भएको छ । उक्त कमिटीले समन्वय गरेर अन्य क्षेत्रमा कामदार लैजाने विषयमा निर्देशिकाहरु बन्ने क्रममा रहेको निर्देशक ज्ञवालीको भनाइ छ । हालसम्म जिटुजी प्रणालीमार्फत सन् २०२० यता एक हजार ३४५ जना इजरायल पुगेको ज्ञवाली बताउँछन् ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजामा सैन्य कारबाही थालेको थियो । हमासको हमलामा परेर ‘लर्न एण्ड अर्न’ कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको पनि ज्यान गएको थियो । उक्त घटनामा बेपत्ता भएका नेपाली विद्यार्थी वीपिन जोशीको अवस्था अझै अज्ञात छ ।
त्यसयता नयाँ कामदार पठाउने प्रक्रिया अवरुद्ध थियो । यद्यपि पहिलेदेखि नै इजरायलमा कार्यरतहरु पुनः श्रम स्वीकृति लिएर जाने क्रम भने जारी नै थियो । चालु आर्थिक वर्षको साउनमा ३९, भदौमा ३२, असोजमा ३९, कात्तिकमा ११२, मंसिरमा ९१ र पुसमा ४७ जना इजरायल गएका तथ्यांक छ । यो संख्या व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर जानेहरुको हो ।