भक्तपुर- वैदेशिक रोजगारीमा विभिन्र देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा, अजरबैजान रमोरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४१ वर्षीय गणेश बहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-४ काफ्लेचोक घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-६ बनेपा बस्ने ३९ वर्षीय दिनेश प्रसाद अधिकारी रहेका छन् ।
उनीहरूले क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ७१ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भक्तपुरको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरू उपर मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को ठगी सम्बन्धी कसूरको दफा १४(६) बमोजिम जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।