जनकपुर – धनुषामा अवैध मदिरा सेवन गरी मृत्यु हुने हरेकका परिवारलाई प्रदेश २ सरकारले तीन लाख रुपैयाँ क्षतिपुर्ति दिने भएको छ । मदिरा सेवन गरी मृत्यु भएका परिवारहरुलाई क्षतिपुर्ति दिनुपर्ने आवाज प्रदेशसभा बैठकमा उठ्न थालेपछि सोमबार मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारको घरमा पुगेर क्षतिपुर्तिवापत उनीहरुलाई जनही तीन लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा र पूर्व सांसद उर्मिला साहले मुख्यमन्त्री राउतसँगै सोमबार दिउँसो पीडित परिवारहरुको घरमा पुगेर उनीहरुको अवस्था र घटनाको अनुगमन गरेका छन् ।
होलीको दिन गत बुधबार विषाक्त मदिरा सेवन गर्ने ९ जनाको मृत्यु भइसकेको भने ६ जना उपचाररत अवस्थामा अस्पतालमा छन् । केही व्यक्ति समान्य उपचारपछि घर पनि फर्कीसकेका छन् ।
सोहिक्रममा, आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले तत्कालै प्रदेश स्तरीय सुरक्षा समितिको बैठक बसेर खुल्ला रुपमा उत्पादन तथा बिक्री वितरण हुने मदिरा नियन्त्रण गर्न पहल थालेको बताएका छन् । उनले सोमबार नै बैठक बोलाएर खुल्ला मदिरा नियन्त्रण गर्ने तयारी सुरु गर्न लागिएको बताए ।
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६ ०८:३५