नेपालमा धेरैजसो कार्यक्रमहरुको उद्घाटन दियो बालेर गरिन्छ । हरेक कार्यक्रममा दियो बाल्नुलाई शुभ साइतका रुपमा लिइन्छ । पानसमा बत्ती बालेर होस् या अरु जुनसुकै नाम दिएको भाँडामा बत्ती बाल्न आगोको प्रयोग गरिन्छ । पोखरामा शनिबार ‘पोखरा भ्रमण वर्ष’ कार्यक्रम उद्घाटनमा पनि विद्युतीय रिमोट कन्ट्रोलबाट पानसमा बत्ती बालियो । उक्त बत्तीको झिल्काका कारण उडाउन ठिक्का पारिएका बेलुनमा एक्कासि आगलागी भयो ।
बेलुन उडाउन अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यले हातमा समातेर तयारी अवस्थामा थिए । बेलुनमा आगलागी हुनसाथ त्यसभित्र भएको ग्यास एकैसाथ बल्यो । जसकारण अर्थमन्त्री पौडेल र मेयर आचार्य तातो हावा र आगोको लप्काले जल्न पुगे । बत्तीकै कारण नेपालमा बर्सेनि आगलागीदेखि जलनका घटना भइरहन्छन् । प्रविधिको फड्कोले विकास अघि बढेसँगै विद्युतीकरणका कारण पनि आगलागीका घटना नभएका हैनन् ।
यस्ता घटनाहरुका कारण जलन बढेकै कारण सरकारले यस प्रकारका दुर्घटनाका बिरामीलाई निःशुल्क उपचार गर्ने व्यवस्थासमेत गरेको छ । यद्यपि यस्तो घटनाका बिरामीलाई उपचार गराउन डेडिकेटेड अस्पताल छैन । कीर्तिपुर बर्न अस्पताललाई विस्तार गर्ने योजना कार्यान्वयनमा आएको छैन । यस्ता घटना जब ठूला मानिसहरुलाई हुन्छ तबमात्र सरकारको ध्यान आकर्षित हुने गर्छ ।
यसअघि सांसद चन्द्र भण्डारी ग्यास विष्फोटमा परी घाइते भएका थिए । ठीक दुई वर्षअघि काठमाडौंको शंखमुलमा भएको घटनामा परी भण्डारीको आमाको निधन भएको थियो भने उनलाई उपचारका लागि भारत लगिएको थियो । सरकारले उक्त घटनाको भोलिपल्ट नै नेपालमा जलन अस्पताल बनाउने निर्णय गरेको थियो । तर उक्त निर्णय कता पुग्यो केही थाहा छैन ।
तातोपानीका कारण, एसिडका कारण पनि जलनका घटना हुन्छन् । ग्यास विष्फोट, विद्युत् सर्ट हुँदा पनि यस्ता दुर्घटना हुन्छन् । अझ पछिल्लोसमय बेलुन भरेर पड्काउने, जन्मोत्सवमा फायर वर्क गर्नेजस्ता कार्यहरु पनि बढ्दो छ । यस्ता बेलुनमा हिलियम, हाइड्रोजनजस्ता ग्यास भरिएका हुन्छन् । ती निकै प्रज्वलनशील हुने भएकोले यो उडाउनु वा प्रयोगपूर्व पूर्वतयारी र सामान्य जानकारी दिने काम गरिन्न । यस्ता घटनाहरु कुनै जानीजानी कुनै अञ्जानबस हुने गर्छ ।
यस्तै घटनाका बिरामीलाई उपचार गराउन सरकारले जलन उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । तर सरकारले यो निर्णय कार्यन्वयनका लागि कुनै तदारुकता देखाएको छैन । छिट्टै पूर्वतयारी र जलन अस्पताल निर्माण कार्य अघि बढोस् ।