- बैंकको खराब कर्जा र निष्क्रिय कर्जामा उच्च वृद्धि
- खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा र प्रतिसेयर आम्दानी नकारात्मक
- कर्जा असुली न्यायाधिकरणमा ऋणीविरुद्ध ८३ वटा मुद्दा
- एक समय नम्बर १ बन्ने दौडमा रहेको एनआइसी अहिले सबैखाले सूचकमा पछाडि पर्दै
- एनआइसी एसियासँगको सम्झौता भंग गर्ने तयारीमा कामपा
काठमाडौं– ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ मूल नारा लिएर स्थापना भएको एनआइसी एसिया बैंक पछिल्लो समय न ग्राहकको साथी बन्न सकेको छ न त हाम्रो नै बन्न सकेको छ । आफ्नै मूल नाराको ठीक विपरीत अघि बढिरहेकाले बैंकका ग्राहकहरु साथी भनिएको बैंकबाट त्रसित बन्न पुगेका छन् ।बैंकबाट कर्जा लिएका ग्राहकहरु आफ्नो सम्पत्ति कुन बेला बैंकले हत्याउने हो भन्नेमा सधैं चिन्तित हुनुपर्ने अवस्था आएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले त एनआइसी एसिया बैंकबाट पीडित ग्राहकहरुलाई सार्वजनिकरुपमा प्रतिवाद गर्न आग्रह गरेका थिए ।
नेपाल राष्ट्र बैंकले पछिल्लो समय एनआइसी एसिया खराब कर्जामा चुर्लुम्म डुबेको प्रतिवेदन नै सार्वजनिक गरिसकेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा बैंकको खराब कर्जा दर ९५ प्रतिशतभन्दा माथि पुगेको देखिएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार पुस मसान्तसम्म बैंकले तीन खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै गर्दा दुई खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सोमध्ये तीन अर्ब ४८ करोड रुपैयाँ खराब कर्जाका रुपमा देखाएको छ । त्यसैका कारण पनि बैंकको निष्क्रिय कर्जा दर ०.६१ बाट बढेर १.१९ प्रतिशत पुगेको प्रतिवेदनले प्रस्ट देखाएको छ । अहिले बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशतले घटेकोमा सञ्चालन मुनाफा २४.१३ प्रतिशतले घटेको छ । बैंकको प्रतिसेयर आम्दानी ५४.९२ प्रतिशतले घट्न पुगेको छ ।
खराब कर्जाका कारण ८३ वटा मुद्दा
बैंकले गरेको खराब कर्जाका कारण ऋण उठाउने बैला अहिले ऋणीहरुको तीन पुस्ते सार्वजनिक गरिरहेको छ । हरेक दिन बैंकले सार्वजनिक गरेका ऋणीहरुको धितो लिलामसम्बन्धी सूचनाले पनि बैंक कसरी डुब्दै गइरहेको छ भन्ने कुराको पुष्टि गर्छ । पटक–पटक लिलामीमा जाँदासमेत जिन्सी धितो लिलामी गर्न नसकेको बैंकले खराब कर्जाको व्यवस्थापनकै लागि चालु आर्थिक वर्षमा पाँच अर्ब ६२ करोड ९० लाख रुपैयाँभन्दा माथि ‘लोन लस्ट प्रोभिजन’ गर्न बाध्य भएको छ ।
त्यही भएर एनआइसी एसियाले कर्जा असुली न्यायाधिकरणमा ऋणीविरुद्ध ८३ वटा मुद्दा हालेको देखिन्छ । उच्च कर्मचारीहरुकै मिलेमतोमा दिइएको कर्जा आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई अर्ब ९३ अर्ब रुपैयाँभन्दा बढी उठ्न नसकेपछि कर्जा असुली न्यायाधिकरणमा बैंक मुद्धा हाल्न पुगेको हो ।
जोखिममा कामपाको १२ अर्ब
एनआइसी एसिया बैंकले काठमाडौं महानगरपालिको दैनिक डेढदेखि दुई करोड रुपैयाँसम्मको कारोबार सम्हाल्दै आइरहेको छ । महानगरपालिको ३२ वटै वडा तथा सबै विभागबाट हुने राजस्व संकलन उक्त बैंकले गर्दै आइरहेको हो ।
सैगरी महानगरको १२ अर्ब रुपैयाँ मुद्दती खातामा रहेकाले पनि एनआइसी एसिया महानगरकै मुद्दतीको रकममा रमाइरहेको छ । जति नै खराब कर्जा भए पनि नेपाल राष्ट्र बैंकलाई महानगरको १२ अर्ब रुपैयाँ मुद्दतीको फेहरिस्ता एनआइसीले देखाउने गरेको छ । बैंकले सार्वजनिक गरेको प्रतिवेदनलाई नै आधार मान्ने हो भने पनि अहिले एनआइसी बैंक सञ्चालनको मेरुदण्ड नै महानगरको १२ अर्ब मुद्दती रकम भएको देखिन्छ ।
एनआइसी एसिया बैंकले खराब कर्जा र कर्जा असुली न्यायाधिकरणमा ऋणीविरुद्ध ८३ वटा मुद्दाले महानगरपालिकाको रकमसमेत जोखिममा पर्ने देखिएको जानकारहरुले बताएका छन् । जनताले तिरेको कर धरापमा पर्ने संकेत पाएपछि महानगरपालिका एनआइसी एसिया बैंकसँग गरिएको सम्झौता भंग गर्ने तयारी गरिरहेको महानगरपालिकाको राजस्व विभागका एक अधिकारीले बताए ।