नयाँ दिल्ली - भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युकाे बारेमा नेपाली राजदूतावास नयाँ दिल्लीबाट एक विज्ञप्ति जारी गरी निष्पक्ष तवरले अनुसन्धान हुन जनाएकाे छ ।
विकसित घटनाक्रमहरुका सम्बन्धमा उक्त शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई छात्रावासबाट निकालिएको सूचना प्राप्त हुनासाथ उक्त शैक्षिक संस्थाका रजिस्ट्रार लगायतका प्रतिनिधिहरुसँग छलफल गरी समन्वय गरी लम्सालको मृत्युको सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुने राजदूतावासले जनाएकाे छ ।
उत्पन्न परिस्थितिले नेपाली विद्यार्थीहरूलाई गहिरो अन्योल र असुरक्षाको अवस्थामा पुर्याएको र नेपाली विद्यार्थीहरूको सुरक्षासँग जोडिएकोले कूटनीतिक संकट निमत्याउन सक्ने भन्दै विभिन्न सामाजिक सञ्जालमा अाइरहदा नयाँ दिल्लीमा रहेकाे नेपाली राजदूतावासले प्रेस विज्ञप्ति निकालेकाे हाे । उक्त विज्ञप्तिमा 'छलफलमा यस राजदूतावासले सो शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरुको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै वस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको ' जनाइकाे छ ।
विज्ञप्तिमा भनिएकाे छ ,' त्यसैगरी, उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरुको कक्षा संचालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत अनुरोध गरिएको थियो । यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरुलाई छात्रावासमा वस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरुको लागि कक्षा संचालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ। '
साथै, यस राजदूतावासले उक्त शैक्षिक संस्थाकी विद्यार्थी स्व.प्रकृति लम्सालको मृत्युको सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुने जोड दिएकोमा सो शैक्षिक संस्थाले उक्त विषयलाई गम्भीरतापूर्वक लिने प्रतिवद्धता व्यक्त गरेको छ। मृतक प्रकृति लम्सालको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति यस राजदूतावास हार्दिक समवेदना व्यक्त गरेकाे छ ।
यस घटनाका सम्बन्धमा यस राजदूतावासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रिय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरुसँग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायहरुबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको छ। प्रभावित नेपाली विद्यार्थी एवं अभिभावकहरुले केहि समस्या भएमा यस राजदुतावाससंग निम्न इमेलमा सम्पर्क राख्न राजदूतावासले आग्रह गरेकाे छ ।
