काठमाडौं – नेपालमा पहिलो पटक क्यानियोइङ उत्सव हुने भएको छ । सिन्धुपाल्चोकको गातीमा रहेकाे बोर्डरल्याण्ड इको रिर्सोटको आयोजनामा यही फागुन १६ गतेदेखि १८ गतेसम्म नेपालमा पहिलो पटक तीन दिने क्यानियोइङ उत्सव हुने भएको हो ।
यो कार्यक्रम विशेष गरी साहसिक खेलहरूमा रुचि राख्ने नेपालीहरूलाई लक्षित गरिएको छ । नेपालमा साहसिक पर्यटकहरूका लागि पर्वतारोहण, पदयात्रा, र्याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ तथा मह संकलनजस्ता रोमाञ्चक गतिविधिहरूको संगालेमा क्यानियोइङले पनि अपार सम्भावना बोकेको छ ।नेपालमा क्यानियोइङका लागि विभिन्न स्थानहरू प्रसिद्ध छन् । जसमध्ये काठमाडौँको सुन्दरीजल, सिन्धुपाल्चोकको पुरानो जम्बो, पोखरा र चितवनको जलबिरे प्रमुख छन् ।

नेपाल नदी संरक्षण (एनआरसीटी)का अध्यक्ष ,कर्णाली रिभर वाटरकिपर एवम् बोर्डरल्याण्ड इको रिर्सोटका सञ्चालक मेघ आलेले भने ,‘ नेपालमा क्यानियोइङ गर्दा पानीको बहाव, भौगोलिक स्थिति र खेलाडीहरूको सुरक्षामा विशेष ध्यान दिँदै वसन्त ऋतुमा नेपालमै पहिलो पटक व्यापक कार्यक्रमको आयोजना गरिएको हो ।’ उनले भने,‘ नेपालको नौ वटा क्यानियोइङ गर्न मिल्ने झरनाहरु यही सिन्धुपाल्चोकमा नै रहेका छ । जसमा विश्वमो हामीले यही यो फेस्टिभल गरेको हो । करिब डेढ सयदेखि दुई सयको हाराहारीमा आन्तरिक पर्यटकहरुको सहभागीता हुने अपेक्षा लिएका छौँ । ’
कर्णाली रिभर वाटरकिपर मेघ आलेका अनुसार नेपालमा साहसिक खेलहरू दिनप्रतिदिन लोकप्रिय बन्दै गइरहेका छन् । साहसिक खेलप्रेमीहरूका लागि पर्वतारोहण, पदयात्रा, राफ्टिङ मात्र नभई क्यानियोइङ पनि आकर्षक गन्तव्य बन्दै गएको छ । यसमा आन्तरिक तथा बाह्य पर्यटकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । नेपालमा साहसिक खेलप्रति बढ्दो रुचि देखिंदै गएपछि आगामी दिनमा यस क्षेत्र अझै व्यवसायिक हुने आशा गरिएको उनको भनाइ छ ।
नेपालमा क्यानियोइङको व्यवसायिक यात्रा १९९६ मा सुरु भएको इतिहास छ । फ्रान्सबाट सुरु भएको क्यानियोइङ वाटरकिपर र बोर्डरल्याण्डका सञ्चालक मेघ आलेले अष्ट्रियामा तालिम लिएर नेपालमा भित्र्याएका हुन् । प्रारम्भमा विदेशी प्रशिक्षकहरूद्वारा सिकाइएको यो खेल अहिले नेपाली साहसिक खेलाडीहरूमाझ लोकप्रिय बन्दै गएको छ ।

कार्यक्रम निर्देशक मदन मगरका अनुसार, ‘राफ्टिङ गर्दा वाक्क हुनेहरूका लागि क्यानियोइङ उत्कृष्ट विकल्प हुन सक्छ । डोरीको नट र पौडीन चाहनेहरुका लागि यो खेल रोमाञ्चक मात्र नभई सुरक्षित पनि हुन्छ ।’ सुरुवातमा विदेशी पर्यटकहरूको मात्र रुचि रहेको क्यानियोइङ अहिले नेपालीहरूका लागि पनि अवसर बन्दै गएको छ । यसलाई नेपाल क्यानियोइङ एसोसिएसनले व्यवस्थित गर्दै व्यावसायिक बनाउने प्रयास गरिरहेको उनले भने । उनका अनुसार यस कार्यक्रमका लागि १०–१५ जना क्यानियोङ गाइड तथा २५ जना स्वयंसेवक खटाइनेछ ।
साहसिक पर्यटनमा विदेशीहरूको मात्र आकर्षण रहेको देखिएको छ, तर आन्तरिक पर्यटकहरू यस खेलप्रति कम आकर्षित भएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । नेपालमा ट्रेकिङ गाइड, र्याफटिङ गाइडहरूको संख्या धेरै भए पनि ५० जना पनि क्यानियोइङ गाइड नभएको स्थितिमा यस क्षेत्रलाई प्रवद्र्धन गर्नु आवश्यक देखिएको छ ।
कार्यक्रम अन्तर्गत सहभागीहरुले भरपुर मनोरञ्जन लिने अपेक्षा गरिएको कार्यक्रम निर्देशक मगरले बताए । सहभागीहरूले बोर्डरल्याण्ड इको रिर्सोटको फेसबुक पेज(https://www.facebook.com/share/15tyW2j6MG/),इन्स्टाग्रामको पेज (https://www.instagram.com/borderlands.nepal?igsh=MTdjem41Yjlsb252eQ==) वा नयाँ बजार र ठमेलमा रहेको अफिसमार्फत वा फोन वा अनलाइन माध्यमबाट दर्ता गर्न सक्नेछन् ।