कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा १८ दिन अघि घर भित्रै मृत भेटिएका भण्डारी दम्पतीको हत्या आशंकामा पक्राउ परेका छोरा भरत भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आफ्नो आमा बुवाको हत्या गरेको आरोपमा पक्राउ गरेका छोरा भरत भण्डारीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । गत फागुन १५ गते घर भित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न भएको आशंकामा छोरा भरतलाई प्रहरीले डडेल्धुराबाट पक्राउ गरि सोमबार कञ्चनपुर ल्याएको हो ।
स्थानीयका अनुसार कलुवापुरस्थित घरमै हत्या गरेको अवस्थामा भेटिएका भण्डारी दम्पती र छोराबिच लामो समयदेखि सम्पतिको विषयमा घरायसी विवाद चल्दै आएको थियो । जेठी श्रीमतीको मृत्युपछि भण्डारीले धनालाई दुई वर्ष अघि मात्र कान्छी श्रीमतीको रुपमा भित्र्याएका थिए । भरतले बुबा र कान्छी आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको स्वीकारेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
दम्पतीको हत्यापछि घरमा बेहोस अवस्थामा भेटिएकी ७ महिनाकी छोरी भने धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत रहेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६ ०९:२५