काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन समयमै नगराएको विरोधमा असन्तुष्ट व्यवसायीहरु दोस्रोपटक जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनका पूर्वअध्यक्ष हंसराज वाग्ले, महासचिव महेश बस्नेतसहित आठवटै घटक संस्थाका प्रतिनिधिले सोमबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई भेटेर कार्यसमितिले विधान मिचेको विषयमा यथाशक्य चाँडो निर्देशन दिन आग्रह गरेका थिए ।
एसोसियसनका महासचिव बस्नेतका अनुसार प्रमुख जिल्ला अधिकारी तिवारीले सकेसम्म सोमबारै संघको कार्यसमितिलाई निर्देशनात्मक आदेश दिने आश्वासन दिएका थिए । ‘सिडिओसँग सकारात्मक कुरा भएको छ, आजै बेलुकासम्म निर्देशन दिने भन्नुभएको छ,’ सोमबार प्रजिअलाई भेटेपछि बस्नेतले प्रभावसँग भने । प्रमुख जिल्ला अधिकारी तिवारीसँग संघको विषयमा बुझ्दा आफूले दुवै पक्षलाई मिलेर अघि बढ्न विगतदेखि नै भन्दै आएको बताए । चुनावको मिति र विधान मिचिएको विषयमा आफूलाई केही थाहा नभएकाले व्यवसायीलाई नै सोध्नुपर्ने उनको भनाइ छ । सोमबार नै निर्देशन दिने भन्नुभएको रहेछ नि ? भनेर सोध्दा तिवारीले भने, ‘यस विषयमा कुरा हुँदै छ, मैले उहाँहरुलाई बसेरै टुंग्याउनुहोस् मात्र भनेको हो ।’
मैले दुवै पक्षलाई बसेर विवाद टुंग्याउनू भनेको छु । संघलाई निर्देशन दिने विषयमाचाहिँ कुरा हुँदै छ ।
ऋषिराम तिवारी
प्रजिअ, काठमाडौं
निर्देशन दिने विषयमा भने तिवारीले बोल्न चाहेनन् । व्यवसायीहरु जिल्ला प्रशासनले आफूहरुको असन्तुष्टिको कारण बुझेर न्यायोचित निकास दिने भन्दै निर्देशनको प्रतीक्षामा छन् । प्रशासनबाट भने मागअनुसार निर्देशन जारी गर्न आलटाल भएको व्यवसायीहरुको गुनासो छ । फागुन २ गतेको पूर्वनिर्धारित मितिमा संघको चुनाव तथा ३०औं र ३१औं वार्षिक साधारणसभा नभएपछि विधान मिचिएको भन्दै व्यवसायीहरु संगठित भएर विरोध गर्दै आएका छन् ।
गत शुक्रबार प्रशासन पुगेका व्यवसायीहरुले प्रजिअ तिवारीलाई भेटेर संघको कार्यसमिति २ फागुनदेखि अवैधानिक भएकाले आर्थिक कारोबारमा रोक लगाई तत्कालै कार्यसमितिको निर्वाचन गराउन संघ नेतृत्वलाई निर्देशन गरिनुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए । प्रजिअ तिवारीले ‘विधान मिचिएको रहेछ’ भनेर सकारात्मक प्रतिक्रिया दिएकाले प्रशासनको तर्फबाट आइतबारसम्म निर्देशन आउने उनीहरुको अपेक्षा थियो । तर केही खबर नआएपछि आफूहरु पुनः प्रशासन पुगेको व्यवसायीहरुको भनाइ छ ।
यदि संघको कार्यसमिति र जिल्ला प्रशासनको तर्फबाट चुनाव सार्न केही कदम नचालिएको खण्डमा कडा कदम चाल्न आफूहरु तयारी अवस्थामा रहेको असन्तुष्ट पक्षको भनाइ छ । सोमबार र मंगलबारभित्र कुनै आदेश नआए आफ्नो हिसाबले अघि बढ्ने उनीहरुले चेतावनी दिएका छन् ।त्यसो त आइतबार संघमा भएको सर्वपक्षीय छलफल पनि निष्कर्षविहीन भएको थियो । एसोसिएसनका अध्यक्ष दीपक थापाले तत्कालै साधारणसभा बोलाउने निर्णय नगरे कार्यसमितिलाई अवैधानिक घोषणा गरी संघको नेतृत्वसँग कुनै पनि प्रकारको छलफल नगर्ने अडान राखेका थिए । असन्तुष्टहरुले फागुन २ यता संघ अवैधानिक भएको भन्दै आइरहेको अवस्थामा आइतबार सल्लाहकार नियुक्त गरिनु विधानको अर्को उल्लंघन भएको भन्दै थप आक्रोशित भएका छन् ।
यता संघका अध्यक्ष राजेन्द्र भण्डारीले भने सर्वपक्षीय छलफल सकारात्मक भएकाले छिट्टै नयाँ मिति तय गर्ने बताए । ‘हामीले सबै पक्षसँग छलफल गरेका छौं, छिट्टै अर्को छलफल गरेर नयाँ मिति टुंग्याउने तयारीमा छौं,’ भण्डारी भन्छन्, ‘सकेससम्म असार १७ गतेभन्दा अगाडि सार्ने प्रयासमा छौं । उहाँहरु जिल्ला प्रशासन पुग्नुभएको भन्ने छ तर सिडिओ कार्यालयबाट त्यस्तो कुनै निर्देशन आएको छैन ।’
हामीले सबै पक्षसँग छलफल गरेका छौं, छिट्टै नयाँ मिति टुंग्याउने तयारीमा छौं । सकेससम्म असार १७ गतेभन्दा अगाडि सार्ने प्रयासमा छौं ।
राजेन्द्र भण्डारी
अध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघ
संघले २ फागुनका लागि तोकिएको निर्वाचनसहितको साधारणसभा १७ असारका लागि सार्ने निर्णय गरेपछि एसोसिएसनसहित नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्था नेपाल, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति, नेपाल वैदेशिक रोजगार तमुधी समाज, नेपाल वैदेशिक रोजगार तामाङ समाज, तराई वैदेशिक रोजगार व्यवसायी समाज, नेपाल वैदेशिक रोजगार व्यवसायी मगर समाजले संघलाई दबाब दिइरहेका छन् ।
संघको वर्तमान कार्यसमितिले भने व्यवसायीको इजाजत नवीकरणका लागि बाधक रहेको एक सय संख्या समस्याको छिटो समाधान, वैदेशिक रोजगार ऐन तथा नियमावलीमा संशोधन, सेवा शुल्क परिमार्जनलगायतका अन्तिम चरणमा रहेका काम सल्टाएर मात्र साधारणसभा बोलाउनु उपयुक्त हुने अडान राख्दै आएको छ ।