हरेक वर्ष नेपालबाट एक लाखभन्दा बढी विद्यार्थी उच्च शिक्षाका लागि विदेशिन्छन् । उनीहरु विदेशिँदा नेपाली अभिभावकको करोडौं लगानी सँगसँगै जान्छ । विदेश पढ्न जानुको अनेक कारण छन्– रहर, बाध्यता, देखासिकी, आकर्षण आदि.. ।
विदेशी कलेजहरु आफ्नो डिग्री बेच्न नेपालीको घरआँगनसम्मै आइपुग्छन् । शैक्षिक मेला सञ्चालन गर्छन् । परामर्शमा अनेकन सपना बाँड्छन् । राम्रो अंक ल्याएकालाई छात्रवृत्तिको लोभ देखाइन्छ । यही सपनामा मोहित भएर विद्यार्थीहरु विदेशको डिग्री पाउन आतुर हुन्छन् । राम्रो अंक, छात्रवृत्तिको पहिलो योग्यता हो । यसैमा ध्यान दिन्छन् अभिभावक । नेपाली विद्यालयलाई प्रभावमा पारेर आफ्ना सन्तानको प्रमाणपत्रमा अंकको ओइरो लगाउन लगाउँछन् । आधाभन्दा बढी पैसा तिरेर ५० प्रतिशत छात्रवृत्ति भन्दा पनि अभिभावक मक्ख पर्छन् ।
यसरी नै प्रकृति लम्सालजस्ता पात्र विदेशी डिग्रीका लागि विदेशिन बाध्य हुन्छन् । देशमा उच्च शिक्षाको व्यवस्था भए पनि नेपाली समाजमा विदेशी डिग्रीको मान्यता छ । विश्वविद्यालय प्रशासनको मनोमानी, क्यालेण्डरअनुसार विश्वविद्यालय नचल्नु, चरम राजनीतिक थलोका रुपमा विश्वविद्यालयलाई राजनीतिक दलले प्रयोग गर्नु नेपाली विश्वविद्यालयको विडम्बना बनेको छ । हाम्रोलाई राम्रो अंक र अरुकोलाई पटक–पटक फेल गराउने बेथिति यहाँको रोग नै हो । यस्तै जालझेल सहनुभन्दा चुपचाप दुःख खपेरै विश्वको कुनै कुनाबाट डिग्रीको प्रमाणपत्र बोकेर ल्याउँदा उज्यालो अनुहार देखिन्छ नेपाली विद्यार्थीमा ।
सायद प्रकृति पनि यस्तै पात्र हुनुपर्छ । मेकानिकल इञ्जिनियरिङमा स्नातक गरिरहेकी उनले आफ्नो सपना भने पूरा गर्न पाएनन् । उनको मृत्युको कारण जे होला, तर उनको मृत्यु प्रकरणले नेपाली शिक्षा पद्दतिलाई भने नराम्ररी झापट हानेको छ । एक जना विश्वविद्यालयको कर्मचारीले नेपालको हैसियत सम्झाइदिएको छ । जुन सत्य हो, त्यो तीतो हुन्छ । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयकी ती कर्मचारीले नेपालीलाई भारतले कसरी सित्तैमा खुवाउँदै र पढाउँदै आएको छ र त्यति त नेपालको बजेट पनि हुँदैन भनेर केही सेकेण्डमै सम्झाइदिएकी छन् । कर्मचारीले विद्यार्थीलाई गलहत्याएर निकालेका छन् । चौतर्फी विरोधपछि भने विश्वविद्यालयले माफी मागेको छ ।
विश्वविद्यालयको विद्यार्थीप्रति नै यस्तो व्यवहार गरिन्छ भने नागरिकस्तरको व्यवहार कस्तो होला ? पक्कै पनि यसमा देशको बेथिति चित्रण हुन्छ । विश्वको जुनसुकै कुनामा पुगे पनि अहिले नेपालीप्रतिको व्यवहार खस्कँदो छ । यो देशको शासकवर्गको कमजोरीकै कारण हो । त्यसैले सदनदेखि सामाजिक सञ्जालमा गलफत्ती गर्नुभन्दा प्रकृति लम्साल प्रकरणबाट पाठ सिक्ने कि !