काठमाडौं– चालु आर्थिक वर्ष २०८०÷८१ को माघ महिनामा ७२ हजारभन्दा बढी वैदेशिक रोजगारीका लागि विदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघमा ७२ हजार हजार ४४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् ।
यो संख्या व्यक्तिगत, संस्थागत, पुनः श्रम स्वीकृति लिनेको । जिटुजी प्रणालीमार्फत जानेहरुको संख्या पनि यसमा समावेश छ । विभागले उपलब्ध गराएको विवरणअनुसार माघ महिनामा विदेसिनेमध्ये ६४ हजार ३११ जना पुरुष र आठ हजार ४४१ जना महिला रहेका छन् ।
श्रम स्वीकृति लिनेमध्ये व्यक्तिगततर्फ नौ हजार ७१५ जना रहेका छन् । यसैगरी संस्थागत श्रम स्वीकृति लिने श्रमिक ३३ हजार ४५२ तथा पुनः श्रम स्वीकृति लिने २८ हजार २५८ रहेका विभागले जनाएको छ । उक्त महिनामा जिटुजीमार्फत एक हजार १६ जना रोजगारीका लागि विदेश लागेका छन् ।
यससँगै चालु आर्थिक वर्षको सात महिनामा रोजगारीका लागि विभिन्न मुलुक जाने श्रमिकको संख्या चार लाख ६५ हजार ५०८ पुगेको छ । माघ महिनामा विदेसिनेको संख्या अघिल्लो महिनाको तुलनामा पाँच हजारले बढेको छ । गत पुसमा ६७ हजार २५८ जना श्रम स्वीकृति लिएर विभिन्न मुलुक गएका थिए । विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९० र मंसिरमा ८४ हजार २२६ जना वैदेशिक रोजगारीमा गएका थिए ।
संस्थागत उजुरीको अवस्था
विभागमा गत माघ महिनामा संस्थागततर्फका ११२ वटा उजुरी परेका छन् । यस्ता उजुरी विभागको उद्धार, राहत तथा समन्वय शाखामा दर्ता हुने गरेका छन् । जसमध्ये १० वटा उद्धार, १५ वटा क्षतिपूर्ति र २० वटा घटनामा आपसी सहमति भएको छ ।
माघ महिनामा विभागमा परेका उजुरीमध्ये ४५ वटा फस्र्योट भएका विभागले जनाएको छ । यसैगरी २४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्तिबापत उपलब्ध गराइएको तथ्यांक छ । सात महिनाको अवधिमा विभागमा जम्मा एक हजार ६६ वटा उजुरी परेकामा हालसम्म ५६५ वटा फस्र्योट भएको विभागले जनाएको छ ।
गत साउनमा २२५, भदौमा २३१, असोजमा १३७, कात्तिकमा ८६, मंसिरमा १४१ र पुसमा १३४ वटा संस्थागततर्फका उजुरी परेका छन् । जसअनुसार चालु आर्थिक वर्षको सुरुआतको तुलनामा पछिल्लो महिनामा यस्ता घटनामा केही कमी आएको देखिन्छ । चालु आर्थिक वर्षको सात महिनामा विभागले जम्मा पाँच करोड १२ लाख १४ हजार ५५० रुपैयाँ क्षतिपूर्ति दिलाएको जानकारी दिएको छ ।
व्यक्तिगत र कन्सल्टेन्सीको ठगी बढ्यो
पछिल्लो समय वैदेशिक रोजगारीका नाममा व्यक्ति र कन्सल्टेन्सीबाट हुने ठगीका घटना बढेको पाइएको छ । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांकमा यस्तो देखिएको हो ।माघ महिनामा विभागको मुद्दा तथा अनुसन्धान शाखामा ५०५ र प्रहरी शाखामा ४८० वटा उजुरी परेका छन् । विभागका अनुसार यी उजुरी व्यक्तिगत र कन्सल्टेन्सीबाट भएका ठगीसँग सम्बन्धित हुन् । माघ महिनामा परेका उजुरीमध्ये करिब ४० प्रतिशत उजुरी कन्सल्टेन्सीको ठगीसँग सम्बन्धित रहेको विभागले जनाएको छ ।
पछिल्लो केही महिनायता कन्सल्टेन्सीमार्फत हुने ठगीका घटना बढ्दै गएको विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी बताउँछन् । ‘विगतमा ठगी भएर नआएको पनि हुनसक्छ, तर पछिल्लो दुई–तीन महिनायता कन्सल्टेन्सीबाट भएका ठगीका घटना बढेका छन्,’ सुवेदी भन्छन् । विभागको उजुरी शाखामा कहिलेकाहीँ एक दिनमै १० देखि १५ वटासम्म कन्सल्टेन्सीबाट ठगिएका उजुरीहरु आएको रेकर्ड रहेको विभागको उजुरी शाखाले जनाएको छ ।
माघमा आएका ९०० भन्दा बढी उजुरीमध्ये ४९ वटा घटनामा मिलापत्र भएका छन् । विभागका अनुसार ११ वटा मुद्दा अदालतमा दायर भएका छन् । माघमामात्रै विभागको मुद्दा तथा अनुसन्धान शाखाले तीन करोड ९५ लाख आठ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको तथ्यांक छ । पछिल्लो सात महिनामा जम्मा १०९ वटा मुद्दा अदातलसम्म पुगेको छ ।
चालु आर्थिक वर्षको साउनमा ९१३, भदौमा ७५४, असोजमा ४४७, कात्तिकमा ४६७, मंसिरमा ६८८ र पुसमा ८९३ वटा व्यक्तिगत र कन्सल्टेन्सीबाट ठगिएका उजुरी परेका छन् । पछिल्लो महिना माघमा यस्तो उजुरी बढेको विभागले उपलब्ध गराएको तथ्यांकमा देखिन्छ ।