काठमाडौं - राष्ट्रिय समाचार समिति (रासस) ले आजदेखि ‘रासस मिडिया सङ्ग्रहालय समाचार बुलेटिन’ कक्ष सर्वसाधारणका लागि खुला गरेको छ । राससको ६४औँ वार्षिकोत्सव मूल समारोहका अवसरमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो कक्षको उद्घाटन गरे ।
विसं २०१८ फागुन ७ गते रासस स्थापना भएदेखि हालसम्मका समाचार बुलेटिनलाई सङ्ग्रहालयमा सङ्ग्रहित गरिएको छ । राससको महत्वपूर्ण सम्पत्ति र उपलब्धिका रूपमा रहेको समाचार बुलेटिनलाई पत्रकारिता गरिरहेका विद्यार्थी र मिडिया अध्येताका लागि खुला गरिएको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताए ।
उनले रासस राज्यको संस्था भएको र यसका बुलेटिन र समाचार सामग्रीहरू राससको मात्रै नभएर सम्पूर्ण नेपालीको सम्पत्ति भएकाले ती बुलेटिन अध्ययन अनुसन्धान गर्ने अवसर सबैले पाउन भन्ने उद्देश्यले बुलेटिन कक्ष अध्ययन अनुसन्धानका लागि खुला गरिएको बताए ।
रासस समाचार बुलेटिन कक्षले मिडियाको अनुसन्धानमा रुचि राख्ने, आमसञ्चारका विद्यार्थी र क्रियाशील पत्रकारलाई लाभ हुनाका साथै नेपालमा समाचार ‘एजेन्सी’को विकासका सन्दर्भमा अध्ययन गर्न सघाउ पुग्ने राससका महाप्रबन्धक सिद्धराज राईले बताए। भूकम्पले राससको भवन भत्काएपछि गोदाममा थुप्रिएका र जीर्ण भएका बुलेटिनलाई सङ्ग्रह गरी राससको इतिहासलाई जीवन्त बनाउन र अभिलेखलाई दुरुस्त बनाउन बुलेटिन कक्ष स्थापना गरिएको उहाँले जानकारी दिए ।
राससले चौबिसैँ घण्टा राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वका आधिकारिक र विश्वसनीय समाचार सम्प्रेषण गर्दै आएको छ । राससको ६४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रम जारी छ ।