नेपालगञ्ज- बाँकेको डुडुवा गाउँपालिका वडानम्बर ५ कम्दि निवासी माया चौधरीले १३ बर्ष पहलिे जुनिभर सँगै काट्ने भनेर रावल थरका युवासँग प्रेम विवाह गरिन् । उनका श्रीमान मजदुरी गर्ने गर्थे, कहिले काहिँ कामका लागि भारत पनि जाने गर्दथे । यहि क्रममा उनीहरुको छोरी जन्मिईन् तर उनका श्रीमान छोरा जन्मियोस् भन्ने चाहन्थे । त्यहि कारण सुखका साथ जीवन काट्ने कसम खाएर बिहे गरेका श्रीमानले उनलाई हेयको दृष्टिकोणले हेर्न थाले र दिनहुँ झगडा हुन थाल्यो ।
सूत्केरी भएको केही दिनमैं उनका श्रीमानले उनलाई छोडेर अर्को बिहे गरे र भारत तिर गए । श्रीमानले अर्को बिहे गरेपछी उनी छोरीसँग एक्लै कष्टकर जीवन यापन गर्न बाध्य भईन् । केही दिन त उनका
माईतीले सहयोग गरे तर सधै सहयोग गर्न सक्ने अवस्था नभएपछि उनी छिमेकीसँग ऋण सहयोग माग्न थालिन् कुनै पेशा, व्यवसाय नभएकाले उनलाई कसैले ऋणका लागि पत्याएन । उनले गाँउमा दैनिक मजदुरी गर्न थालिन् त्यसको बदलामा काम गरेको ठाँउबाट उनले चामल र अरु सामानहरु पाउँथिन् ।
यसरी उनले संघर्षका दिन कटाईन् । केहि महिना पछि उनका श्रीमान घर फर्केर आए र उनसँगै बस्न थाले । माया खुसी भईन्, आफ्ना दुःखका दिनहरु सकिए भनेर तर यथार्थमा उनले सोचे जस्तो भएन । केहि समय निबत्दै उनको खुसी फेरी खोसियो । उनका पतिले गाउँकै अर्की महिलालाई बिबाह गरेर भागे, यता मायाको कोखमा अर्को बच्चा बसिसकेको थियो । उनलाई पिर माथी झन पिर थपियो । उनले दोश्रो सन्तानको रुपमा छोरालाई जन्म दिईन् । उनको नागरिकता नभएका कारण उनको छोरीको जन्म दर्ता समेत भएन । बिबाह दर्ता नभएको कारण नागरिकता समेत बनेको थिएन ।
यहि क्रममा नेपालगञ्जमा रहेको मिलाप संस्थाको सहयोगमा स्थापित प्रगतिशिल स्वाबलम्बन समुहको परामर्शमा उनी समूहको सदस्य भईन् । समूहमा आफ्ना समस्याहरु भन्न थालिन् । समूहकै पहलमा उनले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित सिलाई कटाई तालिम लिईन् र सहयोग स्वरुप एउटा सिलाई मेसिन समेत पाईन् । त्यहि सिलाई मेसिनले उनलाई आत्मनिर्भर बनायो, घरमैं बसेर आफ्ना र आफ्ना बच्चा—बच्चिको खर्च जोहो गर्न सक्षम भएको मिलापकी कार्यक्रम संयोजक प्रेमा रेग्मी बताउँछिन् ।
संस्थाकै पहलमा उनको नागरिकता बन्यो, बच्चा—बच्चिको जन्मदर्ता समेत भयो । संस्थाको पहलमा उनले कानुनी अधिकार त प्राप्त गरिन्, अन्य अधिकार भने अहिले सम्म पनि उनले प्राप्त गरेकि छैनन् । उनका श्रीमानले माया बाहेक अन्य ३ जनासँग बिहे गरिसके । माया हाल १२ बर्षिया छोरी र ६ बर्षिय छोराका साथ श्रीमानकै घरमा बसिरहेकिछिन् । श्रीमान भने बिहे गर्दै भाग्दै हिँडिरहेका छन् । ससुराको सेवा गर्दै बसिरहेकी मायालाई ससुराले समेत सहयोग नगरेको गुनासो उनको छ । आर्थिक रुपमा आत्मनिर्भर भएपनि श्रीमानको अपहेलनाका कारण उनले न्याय पाउन सकिरहेकी छैनन् ।