- महाकुम्भ मेलाको अवसर पारी नेपाली कांग्रेसले धार्मिक ‘प्लेटफर्म’ प्रयोग गर्दै भारतसँग सम्बन्ध सुधारको प्रयास
- कांग्रेस महामन्त्री गगन थापा, प्रवक्ता डा. प्रकाशशरण महतपछि सभापति शेरबहादुर देउवा पनि महाकुम्भ जाँदै
- महाकुम्भकै कारण सरकारले ल्याएको छ अध्यादेश स्वीकृतिका लागि बहुमत पुर्याउन धौधौ परेको बेला फागुन ११ सम्म प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं– पछिल्लो समय नेपाल र भारतको सम्बन्ध चिसिँदो छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएयता नेपाली कांग्रेसले सम्बन्ध सुधार्ने प्रयास गरेको थियो । कांग्रेस नेतृसमेत रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भारतीय पक्षले विशेष महत्वका साथ भारतमा स्वागत पनि गरेको थियो । तर जब प्रधानमन्त्री ओलीले भारत भ्रमणको इच्छा देखाए, सोही सन्देश लिएर भारत पुग्दा परराष्ट्रमन्त्री देउवालाई भारतले कुनै महत्व दिएन ।
यही झोकमा प्रधानमन्त्री ओली मंसिर १७ गते उत्तरी छिमेक चीनतिर हानिए । तीन दिन घुमेर बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) फ्रेमवर्कमा सम्झौता गरेर फर्किए । त्यसयता पनि भारत जाने इच्छा ओलीले नगरेका हैनन् । तर भारतबाट उनलाई कुनै ‘ग्रिन सिग्नल’ आएको छैन ।
यही मेसोमा ओलीसँग सत्ता गठजोड गरिरहेको नेपाली कांग्रेसले भने धार्मिक ‘प्लेटफर्म’ प्रयोग गर्दै भारतसँग सम्बन्ध सुधारको प्रयास थालेको छ । कांग्रेस महामन्त्री गगन थापा, प्रवक्ता डा. प्रकाशशरण महत र नेता अर्जुननरसिंह केसी भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा पुगेर फर्केका छन् । भारतीय तीर्थयात्री नेपाल आउने र नेपाली तीर्थयात्री भारत जाने चलन पुरानै हो ।
भारत र नेपाल छिमेकी देश हो । तीर्थमा आउजाउ चलिरहेकै छ । यसलाई राजनीतिक रङ दिन हुँदैन ।
डा. प्रकाशशरण मत
प्रवक्ता, नेपाली कांग्रेस
तर कांग्रेसले यसलाई धार्मिक कूटनीतिका रुपमा प्रयोग गरेको कांग्रेसकै नेताहरु बताउँछन् । सोमबारमात्र कुम्भमेला पुगेका कांग्रेस महामन्त्री थापाले त्यहाँ पुग्दा आध्यात्मिक शान्ति मिलेको अनुभूति भएको बताएका छन् ।
‘महाकुम्भको पावन अवसरमा तीर्थराज प्रयागस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा अद्भूत आध्यात्मिक शान्ति र पवित्रताको अनुभूति भयो,’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।कांग्रेस प्रवक्ता डा. महतले पनि आफू पहिलोपटक कुम्भमेला पुगेको र असाध्यै राम्रो लागेको बताए । ‘सोमबार गएर मंगलबार फर्किहालें । निकै राम्रो लाग्यो,’ महतले भने ।
प्रयागराजमा देउवा पनि जाँदै
प्रयागराजमा चलिरहेको महाकुम्भमा कांग्रेस सभापति शेरबहादुर देउवा जाने तयारीमा छन् । ‘सभापतिजी शुक्रबार र शनिबारको कार्यक्रमका लागि जाँदै हुनुहुन्छ,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने ।देउवा भारतमा रहँदा इन्डिया फाउन्डेसनले आयोजना गर्ने दुई दिने सम्मेलनमासमेत भाग लिने छन् । उनले शुक्रबार र शनिबार ‘कुम्भ ग्लोबल समिट अन डेभलप्मेन्ट एन्ड सस्टेइनबेलिटी’ विषयमा बोल्ने कार्यतालिका रहेको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुने समिटमा अन्य देशका वक्ताहरुसमेत छन् । प्रयागराजमा नेपाली कांग्रेसका नेताहरुको उपस्थिति बढ्दो छ । यसको कारण हो भारतलाई रिझाउने प्रयास । ‘पछिल्लो समय सरकार निकै संकटमा गुज्रेको छ । परराष्ट्र नीति राम्रो भइरहेको छैन,’ कांग्रेसका एक नेताले भने, ‘त्यसैले यो सुधार्ने प्रयासमा कांग्रेस लागेको देखिन्छ ।’
कांग्रेस प्रवक्ता महत भने यसलाई राजनीतिक रङ दिन नहुने बताउँछन् । ‘भारत र नेपाल छिमेकी देश हो । तीर्थमा आउजाउ चलिरहेकै छ । यसलाई राजनीतिक रङ दिन हुँदैन,’ महतले भने । यद्यपि कांग्रेस नेताहरु कुम्भमेला जाने भएकैले प्रतिनिधिसभा नै ठप्प भएको छ । सरकारले ल्याएको छ अध्यादेश स्वीकृतिका लागि बहुमत पुर्याउन धौधौ परेको बेला फागुन ११ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।
पुस २९ बाट सुरु भएको यो महाकुम्भ फागुन १४ गतेसम्म चल्ने छ । गंगा, यमुना र अदृश्य सरस्वती नदीको संगममा यस अवधिभर ४५ करोड मानिस पुग्ने अनुमान भारत सरकारले गरेको छ । यो मेलामा गत माघ २१ गते भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक पनि पुगेका थिए । भुटानका राजा पुग्दा नेपालबाट पनि सरकारी पक्षबाट प्रतिनिधित्व हुनेगरी राष्ट्रप्रमुख वा प्रधानमन्त्री जानुपर्ने माग कांग्रेस नेताहरुको छ । यद्यपि सरकारी पक्षबाट कोही पनि जाने तयारीमा नरहेको प्रधानमन्त्री कार्यालयले जनायो ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि आफूलाई कुनै पनि सांसदले प्रयागराजमा जाने भनेर सूचना नदिएको बताए । ‘कांग्रेस नेताहरु महाकुम्भमा पुगिरहेको हामीले पनि सुनेका छौं । हाम्रोबाट त्यस्तो तयारी छैन,’ प्रमुख सचेतक बर्तौलाले भने । यो मेलालाई भारतले अर्थतन्त्र बलियो बनाउने प्रमुख मेलाको रुपमासमेत लिएको छ । यस मेलाका लागि भारत सरकारले सात हजार ५०० करोड भारतीय रुपैयाँ बजेट लगानी गरेको छ । यसबाट ठूलो मात्रामा व्यापार हुने र छिमेकी मुलुकहरुबाट आउने यात्रीबाट नै भारतको अर्थतन्त्रमा ठूलो योगदान हुने गर्छ । १२ वर्षमा एकचोटि आयोजना हुने मेलालाई भारतले विशेष महत्वका साथ हेर्दै आएको छ ।