काठमाडौं - अभिनेता विल्सनविक्रम राई पनि केदार घिमिरेको मुख्य भूमिका रहने ‘माग्ने राजा’को कलाकार टोलीमा सामेल भएका छन् । निर्माण टिमले मंगलबार विल्सनलाई औपचारिक रुपमा फिल्ममा अनुबन्ध गरेसँगै चलचित्र ‘माग्ने राजा’मा माग्ने बुढा र तक्मे बुढाको जुगलबन्दी पक्का भएको छ । दुवैले करिब दशकपछि चलचित्रमा सँगै काम गर्न लागेका हुन् ।
एक दशकअघि उनीहरुले ‘राम कहानी’मा सँगै काम गरेका थिए । त्यसयता निर्माताहरुको अथक प्रयासका बावजुद जोडी सम्भव भएको थिएन । विल्सन विक्रम राईलाई ‘मेरी बास्सै’मा अभिनयको मौका दिनुसँगै उनको चरित्रलाई तक्मे बुढा नामाकरण पनि केदार घिमिरेले नै गर्दिएका थिए । विल्सनविक्रम राईले यही कारण केदार घिमिरेलाई गुरुको रुपमा मान्ने गरेका छन् ।
मंगलबार चलचित्रमा तक्मे बुढालाई स्वागत गर्दै केदार घिमिरेले लामो समयपछिको सहकार्यलाई लिएर उत्साहित रहेको प्रतिक्रिया दिए । ‘हामी लामो समयदेखि एकअर्कासँग काम गर्न उत्सुक थियौँ । अखण्ड प्रयासका बावजुद पनि जुरेको थिएन,’ उनले भने,‘तर माग्ने राजामा हामी दुवैलाई अटाउने भूमिका निस्कियो । यो जुगलबन्दीलाई सार्थक बनाउने प्रयास गर्नेछौँ ।’
माग्ने बुढासँगको सहकार्यलाई लिएर तक्मे बुढा पनि उत्तिकै उत्साहित छन् । उनले चलचित्रमा काम गर्ने प्रस्ताव आएदेखि नै पुराना दिन याद आएको स्मरण गरे । ‘उहाँले र मैले टेलिभिजनबाहेक देश विदेशमा थुप्रै स्टेज सो गरेका थियौँ । सँगै काम गर्ने भएपछि मन त्यता पनि पुगिरहेको छ । चलचित्रमा भने त्यति धेरै सहकार्य गर्न पाइएको थिएन । यो चलचित्रले त्यो चाहना पूरा गरिदिएको छ । बुढाहरुको जोडीले पहिलेझैँ दर्शक हँसाउने पक्का छ,’ विल्सनले भने ।
ऋषि लामिछानेको निर्देशनमा बन्न गइरहेको चलचित्रमा यसअघि नै वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, पुष्कर गुरुङ आदि कलाकार तय छन् । आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गरिरहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र सामीप्य राज तिमल्सेनाको पटकथा रहेको छ । चलचित्रको यही शिवरात्रीका दिनदेखि सुटिङ सुरु हुँदैछ ।