यसपटक भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलामा नेपाली कांग्रेसका नेताहरु पुगे । दक्षिणी छिमेकी राष्ट्र भारतसँग अहिलेको सरकारको सम्बन्ध थप बिग्रँदो छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सम्बन्ध सुधार गर्न सकेका छैनन् । जसका कारण सत्ता सहयात्री दल नेपाली कांग्रेसका नेताहरु भने धार्मिक ‘प्लेटफर्म’ प्रयोग गरी कुटनीति सुधार्ने प्रयासमा लागेको देखिन्छ ।
सत्ताको सबैभन्दा ठुलो दलका नेताहरु गगन थापा, डा प्रकाशशरण महत पुगेर गंगा, यमुना र सरस्वतीको त्रिवेणी संगममा स्नान गर्दा नेपाल भारतको सम्बन्ध गासिएको धार्मिक धागो बलियो भएको बुझाई छ । नेपालका तीर्थ जानकी मन्दिर, पशुपतिनाथ, मुक्तिनाथमा भारतीयहरुको बाक्लो भिड लाग्ने गर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा यी धार्मिक स्थल छुटाउँदैनन् ।
सम्बन्ध थप सुधार्न भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा पनि भारत जाने तयारीमा थिए । तर देउवाले अन्तिम अवस्थामा आएर आफ्नो भारत भ्रमण रद्द गरेका छन् ।सोमबारमात्र कुम्भमेला पुगेका कांग्रेस महामन्त्री थापाले त्यहाँ पुग्दा आध्यात्मिक शान्ति मिलेको अनुभूति भएको बताएका थिए । कुम्भमेलामा एमालेकी सांसद भगवती चौधरी पनि पुगेकी थिइन् । यद्यपि एमालेले उनको सहभागितालाई आधिकारिकता दिएको छैन । नेताहरु कुम्भमेला जाने भएकैले प्रतिनिधिसभा नै ठप्प छ । सरकारले ल्याएको छ अध्यादेश स्वीकृतिका लागि बहुमत पुर्याउन धौधौ परेको बेला पर्सि फागुन ११ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।
सरकारको पछिल्लो अवस्था हेर्ने हो भने कुटनीतिमा लगभग निकै कमजोर हुँदै गएको छ । मन्त्रालयगत खर्चमा परराष्ट्रको सबैभन्दा धेरै खर्च देखिन्छ । तर परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको दौडधुप खेर गए झैं देखिन्छ । उत्तरी मुलुक चीनबाहेक नेपालको सम्बन्ध अरु देशसँग खस्कँदो छ ।महाकुम्भ मेला धार्मिक सेतुमात्र हैन, अर्थतन्त्रलाई ठुलो राहत दिने पर्यटकीय महोत्सव हो । उर्जाशील युवाको श्रम बेचेर बाँचिरहेको सरकारले यस्तो खालको महोत्वसबाट पाठ सिक्नुपर्छ ।
श्रम बेच्न विभिन्न देशसँग सम्झौता गर्दै हिँड्दा नेपालको सम्बन्ध खस्कँदो छ । अर्थतन्त्र अझै नाजुक अवस्थामा पुग्ने देखिन्छ । अमेरिकी सरकारको सहयोग बन्द भएसँगै बेरोजगारी समस्था थपिँदै जाने देखिन्छ । यसैले पनि सरकारले स्वदेशमै रोजगारीको सिर्जना गर्ने र छिमेकीसँगको सम्बन्ध सुधार गर्नुपर्ने आजको टड्कारो आवश्यकता हो ।