न्यूयोर्क- महिला स्वास्थ्यसम्बन्धी उपचारमा समर्पित बायोटेक्नोलोजी कम्पनी गमेटोले आफ्नो प्रविधि फर्टिलाे (Fertilo) प्रयोग गरी पहिलो जीवित शिशुको जन्म भएको घोषणा गरेको छ। यो सफलता पेरुको लिमा स्थित सान्ता इसाबेल क्लिनिकमा हासिल गरिएको हो।
फर्टिलाे प्रविधिले शरीर बाहिर नै अण्डा परिपक्व गराउन सक्षम बनाउँदै परम्परागत इन–भिट्रो फर्टिलाइजेसन (IVF) प्रक्रियालाई सहज बनाउँछ। यो प्रविधिले ८०% हार्मोन इन्जेक्सन घटाउने तथा उपचार चक्रलाई तीन दिनसम्म छोट्याउने क्षमता राख्छ।
गमेटोकी सीईओ तथा सहसंस्थापक डा. दिना राडेन्कोभिचले भनिन्, "हामी पहिलो पटक Fertilo प्रविधिबाट बच्चा जन्मिएको देख्न पाउँदा उत्साहित छौं। यो प्रविधिले पारम्परिक IVF को शारीरिक, मानसिक तथा भावनात्मक तनाव कम गर्दै सुरक्षित र द्रुत समाधान प्रदान गर्दछ।"
डा. लुइस गज्मान, जो फर्टिलाे सक्षम IVF चक्रको नेतृत्व गरेका थिए । उनले भने, "यो प्रविधिले अण्डा परिपक्व गर्न शरीरको बाहिर नै वातावरण सिर्जना गर्छ, जसले हार्मोनल हस्तक्षेपलाई कम गर्दै महिलाका लागि IVF प्रक्रियालाई सहज बनाउँछ।"
गमेटो हाल विभिन्न देशहरूमा Fertilo प्रविधि विस्तार गरिरहेको छ, जसमा अस्ट्रेलिया, जापान, अर्जेन्टिना, मेक्सिको लगायतका प्रमुख बजारहरू समावेश छन्। अमेरिका भित्र, कम्पनीले Fertilo को तेस्रो चरणको परीक्षणका लागि तयारी गरिरहेको छ।
यो प्रविधिले महिलाहरूका लागि प्रजनन उपचारलाई सरल, सुरक्षित र पहुँचयोग्य बनाउने विश्वास गरिएको छ।