काठमाडौं –किसान र उपभोक्ताबीचको सम्बन्ध प्रत्यक्ष बनाउन किसान बजारकाे सुरूवात गरिएकाे छ । ललितपुरकाे झम्सिखेलमा शनिबार मेट्रो मार्केट र राष्ट्रिय कृषक समूह महासंघ (NFGF) नेपालकाे सहकार्यमा किसान बजार सुरु गरेको हाे ।
सहकार्यको उद्देश्य किसान र उपभोक्ताबीचको सम्बन्धलाई मजबुत बनाउँदै स्थानीय कृषि उत्पादनलाई प्रत्यक्ष बजार पहुँच प्रदान गर्नु यस बजारकाे मुख्य उदेश्य रहेको आयोजकहरूले बताएका छन्।
राष्ट्रिय कृषक समूह महासंघ (NFGF) नेपालका अध्यक्ष कृष्ण केदार कोइरालाले भने, "हामी किसानहरूको उत्पादनलाई न्यायोचित मूल्यमा उपभोक्तासम्म पुर्याउने वातावरण सिर्जना गर्न लागिपरेका छौं। किसान बजारको सुरुआत हुनु भनेको स्थानीय उत्पादनको प्रवर्द्धन तथा किसानलाई आत्मनिर्भर बनाउन एक महत्वपूर्ण कदम हो।"
कार्यक्रममा मेट्रो मार्केटका प्रतिनिधि ईशा श्रेष्ठले कार्यक्रम बोल्दै कृषि क्षेत्रको सशक्तीकरण तथा दिगो स्थानीय बजार व्यवस्थापनका लागि संस्थाले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले भनिन् , "हामीले किसानको उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष रूपमा पुर्याउन प्रयास गरिरहेका छौं। यो बजारले किसानलाई उचित मूल्य र उपभोक्तालाई ताजा उत्पादन उपलब्ध गराउनेछ।"
उक्त अवसरमा सहभागी किसानहरूले किसान बजार सञ्चालनले आफूहरूलाई ठूलो राहत पुग्ने बताएका छन्। ललितपुरका एक किसान, जसला खत्रीले भनिन् "हामी वर्षौंदेखि आफ्ना उत्पादन उचित मूल्यमा बिक्री गर्न कठिनाइ भोगिरहेका थियौं। यो बजारले हामीलाई बिचौलियाको चक्करमा पर्नु नपर्ने बनाउनेछ। अब उपभोक्तासँग प्रत्यक्ष रूपमा कारोबार गर्न पाउँदा खुसी लागेको छ।"किसानको उत्पादनको मूल्य हाम्रो हातमा रहनु जरूरी छ। यस किसिमको बजारले हामीलाई हाम्रो मेहनतको उचित मूल्य पाउन सहयोग गर्छ भने उनको भनाई छ ।
कार्यक्रममा सहभागी कृषि विज्ञहरूले किसान बजारजस्ता पहलहरूले स्थानीय उत्पादनलाई प्राथमिकता दिने र उपभोक्तालाई ताजा, जैविक तथा गुणस्तरीय सामग्री उपलब्ध गराउने बताए। स्थानीय कृषि प्रवर्द्धनका लागि यस्तो सहकार्यले दीर्घकालीन प्रभाव पार्ने विज्ञहरूको भनाइ थियो। आयोजक मेट्रो मार्केट र राष्ट्रिय कृषक समूह महासंघ नेपालले आगामी दिनमा किसान बजारको दायरालाई थप फराकिलो बनाउँदै अन्य स्थानमा पनि यस्ता पहलहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
उक्त कार्यक्रममा किसान, उपभोक्ता, कृषि विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।