पोखरा- पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको पोखरामा फागुन १५ देखि १८ गतेसम्म हुने १२औँ संस्करणको नेपाल साहित्यिक महोत्सवले पर्यटकीय नगरीमा अर्को रौनकता थप्दै छ । बुकवर्म फाउन्डेसनद्वारा आयोजित महोत्सवमा फेवाताल, माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खलालाई साक्षी राखेर देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतले विचार मन्थन गर्दैछन् । महोत्सवमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि मन्थन हुँदैछ ।
पर्यटकीय राजधानी पोखरालाई पर्यटकको उत्कृष्ट गन्तव्य बनाउन फागुन ३ गते मात्र पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गरेको थियो । करिब २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भएको घोषणालाई सार्थक बनाउन पनि पोखराले कुनै न कुनै गतिविधि गरेर पर्यटकलाई भित्र्याउनुपर्ने अवस्थामा यो महोत्सवले पनि पर्यटन प्रवर्द्धनमा थप भुमिका खेल्ने विश्वास व्यवसायीको छ ।
पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक एवं पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईले नेपाल साहित्यक महोत्सवको १२औँ संस्करणले पोखरालाई थप पर्यटकमयी बनाउने विश्वास व्यक्त गर्नुभयो । उनले फेवा किनारमा हुने विचारमन्थनले राजनीति, विभिन्न जात, धर्म, भाषाभाषीको पहिचान र कला संंस्कृतिका बारेमा विषय उठान नयाँ र अग्रज पुस्ताबीचको समन्वयात्मक भूमिका पनि महोत्सवले खेल्ने बताए।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा इभेन्ट नै इभेन्टको सहर भएको जनाउँदै लिटरेचर फेस्टिभलले पोखराको पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले पोखरा भ्रमण वर्ष २०२५ सफल बनाउन पनि यो एउटा कोशेढुङ्गा सावित हुने बताए । योसँगै पोखरामा आउने पर्यटकले होटल, रेस्टुरेन्ट, यातायात र अन्य सेवामा खर्च गर्छन्, जसले स्थानीय व्यवसायलाई फाइदा पुग्ने र अर्थतन्त्र चलायमान हुने नको भनाइ छ ।
पोखरा महानगरपालिका पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमलरञ्जन कार्कीले पोखरा पर्यटन वर्ष घोषणा भइसकेको जनाउँदै अब १२औँ संस्करणले साहित्यिक महोत्सवले पोखरालाई थप गतिशील बनाउने विश्वास व्यक्त गरे । उनले पोखरालाई केवल प्राकृतिक सौन्दर्यको केन्द्रमात्र नभई, विविध सांस्कृतिक तथा बौद्धिक गतिविधिको प्रमुख थलोका रूपमा स्थापित गर्ने लक्ष्य महानगरको भएको र यस्ता महोत्सवलाई प्रवर्द्धन गरिरहेको जानकारी दिए ।
कार्यकारी निर्देशक नीरज भारीका अनुसार यस वर्षको फेस्टिभलमा दुई सयभन्दा बढी साहित्यकार, कलाकार, पत्रकार र नेताको उपस्थिति रहने छ । फेस्टिभलमा ५० भन्दा बढी सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र रचनात्मक गतिविधि समावेश गरिने छन् । नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता, ‘लिच एण्ड अदर स्टोरीज’ माथि उनी र भूषिता वशिष्ठबीच संवादसँगै प्राध्यापक महेन्द्र पी लामाको विद्वत प्रवचन, मनिषा कोइरालासँगको संवाददेखि राजेश हमालको पुस्तक लोकार्पणसम्मका चर्चित सत्र समावेश हुनेछन् । छ वर्षीया भूमिलक्ष्मीदेखि ८९ वर्षीय मोहनविक्रम सिंहसम्मको पुस्तकको चर्चाजस्ता साहित्य र समाजका विभिन्न पाटोहरूमा बहस विचारविमर्श हुनेछन् ।
निर्देशक अजित बरालले इभेन्टहरूको सहर पोखरामा लिटरेचर फेस्टिभलले सहरको संस्कृति र सभ्यता निर्माण र पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले महोत्सव सफल बनाउन स्थानीय, प्रदेश र सङ्घ सरकारसँगै, निजी क्षेत्र एनसेल, पर्यटन व्यवसायी साहित्य अनुरागी, सङ्घसंस्था, सञ्चार जगत् सबैको साथ रहेको बताए।
उनका अनुसार साङ्गीतिक कार्यक्रममा प्रोजेक्ट सारङ्गी र सोनागी ब्लुजजस्ता समूहहरूले परम्परागत र समकालीन सङ्गीतको मिश्रण प्रस्तुत गर्ने छन् । यसले पोखराको साङ्गीतिक परम्परामा पनि नयाँ रङ्ग थप्ने छ । साथै लोक चित्रकारको चित्रकला प्रदर्शनीले संस्कृति र कलाप्रेमीलाई आकर्षित गर्नेछ ।