काठमाडौं– वैदेशिक रोजगारीको नाममा विभिन्न म्यानपावर कम्पनी र कन्सल्टेन्सीबाट ठगिएका युवाहरुले न्यायको माग गरेका छन् । उनीहरुले आइतबार पत्रकार सम्मेलन गर्दै न्याय नपाए सडकमा उत्रने चेतावनी दिएका छन् । देशभरबाट करिब ८० हजार युवा ठगीमा परेको उनीहरुको दाबी छ ।
पत्रकार सम्मेलनमा १० वटाभन्दा बढी म्यानपावरबाट ठगिएका युवाहरुका साथै अभियन्ताहरुकोसमेत उपस्थिति रहेको थियो । युवाहरु आफ्नै देशभित्र ठगिँदा पनि सरकार टुलुटुलु हेरेर बसेको भन्दै उनीहरुले आक्रोश पोखे । म्यानपावर तथा कन्सल्टेन्सीबाट ठगिएकालाई न्याय माग्न प्रदर्शन गर्दा सरकारले उल्टै आफूहरुमाथि दमन गरेको गुनासो गरेका छन् ।
पीडितहरुलाई एकजुट गराइरहेका अछामका प्रकाश रावलले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र श्रममन्त्री शरतसिंह भण्डारीले आफूहरुलाई न्याय दिलाउने अपेक्षा रहेको बताए । पीडितको पक्षमा आवाज उठाउँदा आफूलाई ज्यान मार्नेसम्मको धम्की आएको उनले बताए । ‘काठमाडौं ब्राइट ह्युमन रिसोर्स प्रालिका सञ्चालकले पीडितलाई उकास्ने काम बन्द नगरे मारेर फलिदिने धम्की दिएका छन्,’ उनी भन्छन्, ‘तर म आफैं पीडित हुँ, २६ महिनादेखि मरेर हिँडिरहेको छु । मैले काम गर्दै आएको कन्सल्टेन्सी फरार भएको छ । सबैलाई कारबाहीको दायरामा नल्याएसम्म म पछि नहट्ने छैन ।’
श्रममन्त्री भण्डारीलाई आफ्नो समस्या सुनाउन जाँदा २६ महिनाअघि आफू श्रममन्त्री नभएको भन्ने ठाडो जवाफ दिएर पन्छिएको रावलले बताए । मुद्दा दर्ता गराउन जाँदा आफूहरुलाई घण्टौं कुराउने, सरकारसँग आफ्नो समस्या राख्न जाँदा प्रहरी प्रशासनको प्रयोग गरेर थुन्न लगाउनेजस्ता ज्यादती सरकारले गरेको भन्दै ८० हजार युवा सडमा उत्रिए थाम्न गाह्रो पर्ने चेतावनी दिए । सरकारले ठगलाई उन्मुक्ति दिएर पीडितलाई थुन्ने गरेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
अर्का अभियन्ता अर्जुन पौडेलले सरकार र वैदेशिक रोजगार व्यवसायी मिलेर पीडितहरुमाथि आक्रमण गरेको आरोप लगाए । न्याय नपाएसम्म आफूहरु पीडितको साथमा रहने उनको भनाइ छ । ‘सरकारले व्यवसायीहरु समस्यामा रहेको बताउँदै आएको छ । व्यवसायी र पीडित दुवै पक्षलाई एकै ठाउँमा राखेर संवाद गर्न सरकार किन चाहँदैन ?,’ उनले प्रश्न गरे ।
कन्सल्टेन्सीपीडित कैलालीका नवराज भट्टले न्याय माग्न जाँदा उच्च पदस्थहरुले ‘हामीलाई सोधेर पैसा दिएको हो ?’ भनेर उल्टै प्रश्न गर्ने गरेको गुनासो गरे । कानुनी बाटो अपनाउँदा पनि अदालतबाट मिल्न दबाब दिएको उनको भनाइ थियो । पीडितलाई चोटमाथि चोटलाग्दा सरोवारवालाहरु मूकदर्शक बनेको उनले बताए । ‘वैदेशिक रोजगार विभागले पनि हामीलाई विभिन्न बहानामा झुलाउने काममात्र गरेको छ । सबै पीडितहरु एकजुट भएर पीडकको कठालो समातेरै छोड्नुपर्छ,’ भट्टले आक्रोश पोेखे ।
अर्का पीडित राकेश शाक्यले दुई वर्षअघि राइट कन्सल्टेन्सीले फिनल्यान्ड पठाइदिने भनेर ठगी गरेको र त्यसपछि बानेश्वरको सबकुरा प्रालिले क्रोएसिया पु¥याउने भन्दै फेरीि ठगी गरेको बताए । ‘म सहित मेरी श्रीमती र भाइले पनि दुईवटै कन्सल्टेन्सीमा पैसा बुझाएका थियौं । जोबाट पनि ठगिने मात्र भइरहेको छ,’ उनी भन्छन्, ‘यस्तो भइरहँदा पनि सरकार हेरेरै मात्र बस्ने रहेछ ।’
पत्रकार सम्मेलनमा बानेश्वरमा अवस्थित सबकुरा प्रालि, ललितपुरको इटुडब्ल्यू, कलंकीको पल्स वेभ कन्सल्टेन्सी, कार्की कन्सल्टेन्सी तथा विभिन्न म्यानपावर पीडितहरु उपस्थित भएका थिए । सबकुराले ७०० जना, ललितपुरको इटुडब्ल्यूले ७०० जना, कार्की कन्सरटेन्सीले ३०० जना, महाराजगञ्जको ब्राइट ड्रिमले ७०० जनाबाट पैसा उठाएर भागेको घटना पछिल्लोपटक सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले पनि पछिल्लो दुई–तीन महिनायता कन्सल्टेन्सीबाट ठगीका घटना बढ्दै गएको बताएको छ ।