काठमाडौं -वैदेशिक रोजगारीमा ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरूमा सुर्खेत सिम्ता गाउँपालिका-४ घर भई ललितपुर, ललितपुर महानगरपालिका-२९ बस्ने ३७ वर्षीय ईन्द्र बहादुर केसी र बारा करैयामाई गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६ ढुङ्गेधारा बस्ने ४६ वर्षीय बिशुनदयाल चौधरीरहेका छन् ।
पक्राउ मध्ये ईन्द्र बहादुरले ग्रिस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २४ लाख रूपैयाँ र बिशुनदयालले स्विडेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्नस्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ ।