ठूलाघरे माल्दाइ उता चौताराको पिपलको रुख काटियो भनेर चिन्ता गर्दै थिए । पिपलको रुख काटिनुअघि ठूलो पाटोको डिलमा बसेर माल्दाइ रमिते बनेर हेरिरहेका थिए । ठूलाघरे कान्छा बाले आफ्ना छोराछोरी नभएकाले भजन गर्ने पाटीको छेउमा वर पिपल रोपेका थिए ।
वर पिपलको बोट रोपेका मात्र थिएनन् । वर पिपल बढ्दै गएपछि कान्छा बाले साइत जुराएर रित पुर्याएरै हिन्दू संस्कारअनुसार बिहे गरिदिएर ब्राह्मण भोजन पनि गराएका थिए । ती सबैका साक्षी थिए माल्दाइ ।कान्छा बाको सन्तान नभएकाले माल्दाइ उनको अंशियारको एकमात्र भागिदार नै थिए । साह्रै भाग्यमानी । पहिले पनि माल्दाइले उनकै बाका दाजुभाइमध्येको साहिलो दाइ, जो बांगे बाका रुपमा गाउँभर चिनिन्थे । उनको पनि अंश पाका थिए सातघरेतिर । कान्छा बा बितेसँगै उनको जायजेथामा माल्दाइले आँखा डुलाएका थिए ।
‘अरुको अंशले आफ्नो वंशलाई नै पिरोल्छ त्यसैले दान दिनु, नखानु’ भन्थे ‘बांगे बा’ । उनकै अंशले पो हो कि माल्दाइ पटक–पटक संकटमा नपरेका पनि होइनन् । आखिर गाउँ समाज नै यस्तै छ । शक्तिको भक्ति गाउने । सम्पन्नको वीरताको गाथा बनाउने । माल्दाइ तिनैको फन्दामा परे । आको बात छैन भ्याउनुपर्छ भनेर उकास्नेहरु नै उनको साथमा भए त्यसबेला ।
माल्दाइले पारिघरे पशुपतिदेखि डाँडाघरे सागरेसम्मलाई धेरै विश्वास गरेका थिए । कान्छा बाले रोपेको वर पिपलको रुख काटिरहँदा उनलाई ठूलो पाटोको डिलमा बसेर रुख काटेको र हाँगाबिँगा हल्लिएको खुब रमाइलोसँग हेर्नमात्र लगाए ती दुवैले । ती दुईले भनेको कुरालाई होऽ मा हो मिलाउने अरू तल्लाघरे श्यामेदेखि राताघरे धर्मेसम्म पनि थिए ।
पिपलको रुख काटिरहँदा त्यही रुखमा सहारा लिएर गुँड बनाएर बसेका भँगेरा, परेवा चिच्याउँदै गुँड छोडेर उडेर भाग्दा माल्दाइलाई ताली बजाएर खुसी व्यक्त गर्ने पशुपतिदेखि सागरेहरुकै लहैलहैमा लागेर माल्दाइ त्यही ठूलो पाटोको डिलमा बसेर ‘खैजडी’ बजाइरहेका थिए ।
माल्दाइले डिलमा बसेर ‘खैजडी’ बजाउँदै बजाउँदै पिपलको रुख गल्र्यामगुर्लुम ढल्यो । विचरा कान्छा बाले रोपेको पिपलको रुख नकाट भन्ने कोही पनि भएन । ‘बांगेबा’को अंश खाएर रमाइरहेका माल्दाइ पनि आफूले के गर्दै छु भन्ने हेक्का राख्दै राखेनन् ।
डिलमा बसेर पिपलको रुख काट्दै गर्दा हार गुहार गर्दै नकाट–नकाट भन्ने थरीका खलक मुग्लान छिर्यो । देश नदुखेपछि विदेश दुख्यो । माल्दाइ त यो वा त्यो कारण गाउँमा मुखिया नै भइहाले । गाउँका मुखियालाई त्यस्ता जाबो पिपलको बोटको के चिन्ता थियो र ? पशुपति र सागरेहरुले पिपलबोट रोप्नेदेखि ढाल्दासम्म संरक्षण गर्नलाई पाखा लगाइदिए ।
माल्दाइले तिनीहरुले गरेको छल र कपट भेउ नै पाउन सकेनन् । विचरा पाउन पनि कसरी ! डाँडाखेत, बाँसा डोल अनि पुराण्डोलमा अरुले कमाइदिएको जिन्सी बेचेर नगद हिसाव–किताव गर्दै ठिक्क थियो । माल्दाइको बाले पनि माइलोले गरिखाला जस्तो छैन भनेर आधुनिक होमस्टे खोलिदिएका थिए । त्यसैले जीवन चल्दै थियो । कान्छो बाउको अंश हात लाग्यो ।
‘मामा धन फुपुको श्राद्ध’ भन्थे ! माल्दाइलाई पनि त्यस्तै आइलागेपछि अरुले तारेभिरको ढुंगामा आफ्नै टाउको फुटाउन खोजेर के हुन्थ्यो र ? तर उल्टो बाटो हिँड्ने मान्छे कहिले पो सही ठाउँमा पुग्छ र ? माल्दाइ पनि त्यस्तै हालतमा पुगिहाले । अब माल्दाइलाई फिरंगी हुनेबाहेक के नै छ र ? कहिले तारेभिर कहिले रत्नेभिर गर्दै बरालिएर हिँडेका माल्दाइलाई के सुर चलेको हो कुन्नि । आफ्नै आँखा अगाडि गिडेको पिपलको रुख सग्लो बनाउन मन लागे छ ।
ऊ बेला भन्थे के सनत कुमारले ‘तँ हेर म हेर ठाउँ हेर अनि बेला हेर’ । कति मज्जाको कुरा सिकाएका थिए सनतले । तर कुरै नबुझेको पनि कसको बाउको के लाग्छ र ? फेरि उही पुरानै ठूलो पाटोको डिलमा आएर पिपलको रुखको ठूटो चलाउँदै थिए ।
ऊ बेला बञ्चराले छियाछिया पार्दा पशुपति र सागरेको कुरामा दंग पर्दै ‘खैजडी’ बजाएर बसेका माल्दाइ अब के बजाउने धोको लिएका हुन् । डिलमा बसेर ‘गुहार’ माग्दै बचाउ ऽ बचाउ ऽ भनेर मात्र कहाँ हुन्छ र ? बेला न कुबेला कसले बचाउने ? हिजो बचाउँछु भन्नेहरुको मन पनि नराम्ररी कुँडिएको छ । सुक्दै नसुक्ने पिपलको पात पनि सुकिसकेको छ । हाँगाबिँगा ध्वस्त पारेर छिया–छिया पारिसकेको छ ।
अब पनि त्यही पात झरेको बूढो रुखबाट हावा आउँछ भनेर भन्ने हो भने त उही हो । १८ वर्षअघि ढालेको पिपल अब अहिले आएर पलाउँला र ? न टुसाउँछ न पलाउँछ । साँच्चै नै रुख चाहिएको हो भने अहिले रोप्नुपर्छ । रोप्दै नरोपी फल खोज्न त चोर नेता बन्नुपर्छ । साढे सातले काटेको खड्गो अब सातमा आएर मलाई साथ चाहियो भनेर हुन्छ ? जुनबेला आवश्यक थियो त्यही बेला साथ पाउने । अब त माल्दाइ पनि उही हो । मुखिया माल्दाइको बात, कसैले दिँदैनन् साथ !
घर छाडेर गएकाहरु आउनै मान्दैनन् । डाँडापारि गाउँमा गएर उतै खानपानमै मस्ती मारिसके । बागमती बरु ढलमतीमा परिवर्तन भयो । तर माल्दाइको आसेपासे परिवर्तन हुन सकेनन् । त्यसैले पनि माल्दाइको जीवनमा फेरि अंश खान नै भाग्यमा लेख्या रैछ भने हो नत्र भने उही हो ! १८ वर्ष अगाडि ढलेको पिपलको बोटबाट अक्सिजन पाउन मुस्किल छ । न त ढालेको पिपलको रुखको पूजा नै हुन्छ । तर सर्वश्रेष्ठ भएर पनि पिपलले न्याय पाउन सकेन । बरु चिलाउने, उतीसहरुले आफ्नो सान र मान दुवै बढायो । त्यसैले पनि को होला र विचरालाई दिने साथ !