काठमाडौं– गएको माघ महिनामा विश्वका १०३ वटा मुलुकमा नेपाली युवाहरु वैदेशिक रोजगारीका लागि पुगेका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको माघ महिनाको तथ्यांकमा यस्तो देखिएको हो । उक्त महिनामा ७२ हजार ४४१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको तथ्यांक छ ।
सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) गएको पाइएको छ । विभागको तथ्यांकअनुसार उक्त महिना युएईमा सबैभन्दा बढी २५ हजार ३०४ जना श्रम स्वीकृति लिएर गएका हुन् । यो संख्या संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर जानेहरुको हो । जसमध्ये २२ हजार ३६४ पुरुष र दुई हजार ९४० जना महिला रहेका छन् । १७ हजार ४९१ जना संस्थागत माध्यमबाट गएका हुन् भने एक हजार ७७२ जना व्यक्तिगत श्रम स्वीकृति लिएर युएई गएका छन् ।
दोस्रो धेरै संख्यामा श्रमिक गएका मुलुकमा साउदी अरब रहेको छ । उक्त एक महिनाको अवधिमा साउदीमा रोजगारीका लागि जम्मा १२ हजार ८७९ जना गएका छन् । तर युएईको तुलनामा साउदी जानेको संख्या करिब आधा कम छ । साउदी जान श्रम स्वीकृति लिएकामध्ये १२ हजार ८२३ जना पुरुष रहेका छन् । महिलाको संख्या भने अत्यन्त न्यून रहेको छ । माघमा ५६ जना महिलामात्र साउदी गएको तथ्यांक छ । जसमध्ये छ जना संस्थागत र ५० जना पुनः श्रम स्वीकृति लिएर गएका हुन् । साउदीमा व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरुको संख्या पनि न्यून छ । सो अवधिमा १८ जनाले मात्र व्यक्तित श्रम लिएका छन् ।
त्यसैगरी तेस्रो स्थानमा परेको कतारमा ११ हजार ८९८ जना गएका छन् । जसमध्ये १० हजार ९६३ पुरुष र ९३५ महिला छन् । तीन हजार ६५४ जना संस्थागत र एक हजार ७८ जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएका छन् । चौथो स्थानमा परेको कुवेतमा माघ महिनामा पाँच हजार ६६५ जना गएका छन् । कतारको तुलनामा कुवेत जानेको संख्या झण्डै आधाले कम छ । चार हजार ३३७ जना पुरुष र एक हजार ३२८ जना महिला कुवेत गएका छन् । तीन हजार ५०१ जना संस्थागत र ४३७ जना व्यक्तिगत श्रम स्वीकृतमार्फत त्यहाँ गएका हुन् ।
केही वर्षअघि सबैभन्दा बढी कामदार लग्ने गरेको मलेसिया भने पाँचौं स्थानमा छ । गएको महिना तीन हजार ५९२ जना मलेसिया गएका छन् । जसमा तीन हजार ४७६ पुरुष र ११६ जना महिला रहेका छन् । पछिल्लो एक वर्षयता मलेसियाले श्रमिकको माग नगरेको अवस्थामा तीन हजार १८० जनाले श्रम स्वीकृति नवीकरण गरेर गएका छन् । त्यस्तै ४०० जना संस्थागत र १२ जना व्यक्तिगत श्रम स्वीकृतिमार्फत मलेसिया गएका हुन् । माघ महिनामा नयाँ रोजगारकर्ताको रुपमा दुईजना महिला व्यक्तिगत श्रम स्वीकृति लिएर गएका थिए ।
गएको मंसिरदेखि यी नै चार खाडी मुलुक र मलेसिया नेपालीहरुको प्रमुख पाँच श्रम गन्तव्य बनेका छन् । छैटौंमा जापान जानेको संख्या दुई हजार ३३५ रहेको छ । व्यक्तिगत श्रम स्वीकृति लिएर एक हजार ८०३ जना जापान गएका छन् । त्यसैगरी रोमानियामा एक हजार ९२८ जना रोजगारीका लागि गएका छन् । तीमध्ये एक हजार १२० जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएका हुन् भने संस्थागत हिसाबले जानेहरु १३ जनामात्रै छन् ।
सबैभन्दा बढी श्रमिक गएकामध्ये आठौंमा दक्षिण कोरिया रहेको छ । जहाँ गएका एक हजार २५१ जनामध्ये जिटुजीमार्फत एक हजार १६ जना गएका छन् । १८२ जना भने व्यक्तिगत श्रम स्वीकृति लिएर कोरिया गएका छन् । नवांैमा क्रोएसिया परेको छ, जहाँ एक हजार २४ जना गएका छन् । जसमा ५८२ जना व्यक्तिगत श्रम स्वीकृति लिएर र बाँकी ४४२ जना श्रम स्वीकृति नवीकरण गएका हुन् । दशांै स्थानको बहराइनमा एक हजार १४ जना गएको तथ्यांक छ । जसमा ५२६ जना संस्थागत, ४६ जना व्यक्तिगत र ४४२ जना पुनः श्रम स्वीकृति लिएर गएको तथ्यांक छ ।
तथ्यांकअनुसार खाडी मुलुकमा संस्थागत माध्यममार्फत जानेहरुको संख्या बढी छ भने युरोपेली मुलुकमा व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरु बढी रहेका छन् । माघमा जिटुजीमार्फत कोरियामात्र गएका छन् । ८१ वटा देशमा १०० जनाभन्दा कम श्रमिक गएका छन् । ५३ वटा देशमा १० जनाभन्दा कम गएका छन् । त्यसैगरी, बार्बाडोस, फिजी, इटाली, कजाकिस्तान, मोजाम्बिक, सेन्ट लुसिया, पनामा, भियतनमा, तुर्केमिनिस्तानलगायतका २३ वटा देशमा रोजगारीका लागि एक–एक जनामात्र गएको तथ्यांकमा देखिन्छ ।
माघ महिनामा धेरै श्रमिक गएका मुलुक
युएई २५,३०४
साउदी अरब १२,८७९
कतार ११,८९८
कुवेत ५,६६५
मलेसिया ३,५९२
जापान २,३३५
रोमानिया १,९२८
दक्षिण कोरिया १,२५१
क्रोएसिया १,०२४
बहराइन १,०१४
स्रोतः वैदेशिक रोजगार विभाग