- माओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्बोधनकै क्रममा आफूले सबैलाई बोल्ने समय मिलाए पनि केही गल्ती भएकोमा सबैलाई सचेतसमेत पार्नुप¥यो
- कार्यक्रमका लागि थोरै समय छुट्याएको भन्दै सञ्चालक छेवैमा गएर उभिएपछि माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रिसाउँदै भाषण टुंग्याए
- उपमहासचिव जनार्दन शर्माले माओवादीको नेतृत्व सेट नै फेर्नुपर्ने बेला अएको धारणा राख्दा अर्का उपमहासचिव वर्षमान पुन नेतृत्वको बचाउमा उभिए
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका जनताको गुनासो सुन्न भन्दै सोमबारबाट तराई मधेस जागरण अभियान सुरु गरेको छ । मुलुककै होचो स्थान झापाको कचनकवलबाट सुरु भएर हुलाकी राजमार्गहुँदै कञ्चनपुरमा पुगेर टुंगिने यो अभियान माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका पदाधिकारीहरुले सुरु गरेका हुन् ।
तर अभियानको सुरुकै दिनमा माओवादी नेताहरुले मञ्चबाट आफ्नै गुनासाका पोका फुकाए । अध्यक्ष दाहालले सम्बोधनकै क्रममा आफूले सबैलाई बोल्ने समय मिलाए पनि केही गल्ती भएकोमा सबैलाई सचेतसमेत पार्नुप¥यो । ‘वरिष्ठ उपाध्यक्ष कमरेडले बोल्दै गर्दा यहाँ अलिकति असहज जस्तो हुनगयो,’ दाहालले भने, ‘अग्निजी यहाँ आइपुग्नु भएछ । यसैले के हो भन्ने पर्न गयो । अग्निजीले क्षमा मागिसकेको हुनाले यो ठूलो कुरा हैन । यसमा त्रुटि कतै भए हामी रियालाइज गर्छौं ।’
भएको के थियो ?
उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालको सम्बोधनअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मञ्चमा पुगेका थिए । औपचारिक सम्बोधनपछि श्रेष्ठले सैद्धान्तिक कुरा गर्न थाले । श्रेष्ठले आफ्ना कुरा भनिसकेकै थिएनन् । छेउमा पुगेर उभिए, कार्यक्रम उद्घोषक माओवादी केन्द्रका झापा जिल्ला अध्यक्ष राज आचार्य ‘अग्नि’ ।
राज छेउमा ठिंग उभिइरहेपछि श्रेष्ठ अक्मकिए । अनि श्रेष्ठले भने, ‘सक्नुस् भन्न आउनुभएको हो ?’ कार्यक्रम सञ्चालक छेउमा उभिएपछि श्रेष्ठले मञ्चमा बसेका दाहालतिर पुलुक्क हेर्दै सोधे । आचार्यले ‘हैन’ भन्दै जवाफ फर्काए ।
‘हो भने म जान्छु,’ श्रेष्ठले सीधासीधा भने ।त्यसपछि कार्यक्रम सञ्चालक हैन भन्दै पछाडि हटे । त्यसपछि श्रेष्ठले दाहालतिर हेर्दै भने, ‘म बिदा हौं, समयको चाप छ । म केही कुरा भन्न चाहन्थेँ, सायद । सञ्चालकलाई कार्यक्रमको चाप भयोहोला । म बिदा हुन्छु, लालसलाम,’ यति भन्दै श्रेष्ठले भाषण टुंग्याए ।अभियान सुरुआतपछि माओवादीका केन्द्रीय नेताहरुको सहभागितामा राजवंशी चोकदेखि झापा गाउँपालिकासम्म थप कार्यक्रम भयो । ती कार्यक्रमहरुमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ देखिएनन् । श्रेष्ठले अधुरै भाषण छाडेपछि बोल्ने पालो आयो दाहालले यो घटना केही असहजजस्तो देखिएको बताएका थिए ।
कांग्रेससँग मिल्दा कांग्रेस ठूलो, एमालेसँग मिल्दा एमाले
माओवादी अध्यक्ष दाहालले पटक–पटक अरु पार्टीसँग मिलेर चुनावमा जाँदा माओवादी चेतेको बताए । ‘हामीलाई जनतासमक्ष जानु छ । विगतमा एमाले र कांग्रेससँग गठबन्धन गर्दा जनतासँगको सम्बन्धबाट विमुख हुन पुग्यौं । अब त्यसो गर्ने छैनौं,’ उनले भने, ‘जनतासँगै सम्बन्ध बनाउने भनेका छौंै । आत्मसमीक्षा र भूलसुधार गर्दै जनताले पक्कै साथ दिने छन् भन्ने विश्वासमा छौं ।’
यसअघि एमाले र कांग्रेससँग सहकार्य गर्दा उनीहरू नै ठूलो पार्टी बनेको भन्दै अब एक्लै चुनाव लडेर ठूलो पार्टी बन्ने दाबी पनि गरे । ‘हामीले जोसँग सहकार्य ग¥यौं, त्यही ठूलो बन्यो । कुनै बेला सहकार्य नगर्दा बरु हामी ठूलो थियौं,’ उनले अगाडि थपे, ‘तपाईंले देख्नुभयो, उपचुनावमा सर्वत्र हेर्दा एक नम्बर पार्टी बन्यौं । र, यो प्रदेशमा त परिणामतः मतसंख्यामा पनि एक नम्बर भयौं ।’
यो सरकार व्यापारीले बनाएकोसमेत दाहालको आरोप रह्यो । ‘नेताहरूको आपसी छलफल गरेर यो बनेको होइन, ठूला पुँजीपतिहरुले आफ्नो घरमा बोलाएर बनाएको हो,’ दाहालले भने, ‘पुँजीपतिहरूको घूस खाएर बनेको सरकार हो यो ।’ सरकार जस्तो भए पनि तत्काल सत्ता फेरबदलको खेलमा आफूहरु नलाग्ने उनले बताए । ‘हामी सरकार फेर्ने पक्षमा लाग्दैनौं, कसरत पनि गर्दैनौं,’ उनले भने, ‘हामीले संकल्प गरेर जनतासँगै सहकार्य गरेर अघि बढ्ने अठोट लिएका छौं ।’
जनार्दन र वर्षमानको आ–आफ्नै कुरा
माओवादीमा जनार्दन शर्मा र वर्षमान पुन एकअर्काका प्रतिस्पर्धी मानिन्छन् । दुवै महासचिव बन्न खोज्दा अध्यक्ष दाहालले रोकेका थिए । यी दुवैको पार्टीमा अलग–अलग गुट छ । यसैले यी दुवैलाई दायाँबायाँ राखेर सोमबार बिहानै दाहालले फोटो खिचाएका थिए ।
यद्यपि दिउँसो अभियानको आरम्भमा आफ्नो मन्तव्य राख्ने क्रममा एकढिक्का देखिएनन् । रोलक्रममा सुरुमा जनार्दनले आफ्नो मन्तव्य राखे । उपमहासचिव शर्माले भने जनतामा निराशा छाएकोले माओवादी नेतृत्व नै बदल्नुपर्ने धारणा राखे । ‘जनतामा फ्रस्टेसन छ । यो कुरा गर्दै गर्दा पार्टीमा फर्कौ । माओवादी पार्टीले आफैले आफैले रुपान्तरण गर्न सक्नुपर्छ,’ शर्माले भने, ‘नभए माओवादीले पनि केही गर्न सक्दैन । माओवादी पार्टीको नेतृत्वको यो टिम बदलिनुपर्छ । त्याग गर्नुपर्छ । त्यागको शिक्षा लिनुपर्छ ।’
शर्माको भनाइपछि अर्का उपमहासचिव पुनले क्रान्तिमा समस्या देखिएको र यसलाई ‘सर्भिसिङ’ गर्नुपर्ने बेला आएको बताए । यद्यपि घरदैलो अभियानमा आफूहरु निराशाका कुरा गर्न नहुने भनाइ राखे । ‘क्रान्तिमा समस्या देखियो । व्यवस्थाको सर्भिसिङ गर्नुपर्छ । यसको इन्जिनियरिङ माओवादीले नै गरेको हो । यसले नै हामीले सर्भिसिङ गर्नुपर्छ,’ पुनले भने, ‘परिमार्जन गर्दै समाजवादी गणतन्त्रसम्म व्यवस्था बनाउनुपर्छ । हामी निराशा बाँड्न आएको हैन ।’
उनले दाहाल नेतृत्वको समाजवादले मात्र अन्तरविरोधहरु हट्ने बताउँदै जनार्दनको भनाइको घुमाउरो पारामा विरोध गरे । ‘आठाैँ महाधिवेशनले भनेको छ नेपाली विशेषताको समाजवादले यस्तो अन्तरविरोधहरु हल गर्छ भनेर,’ उनले भने ।