वैदेशिक रोजगारीमा जाने योजनामा रहेकाहरु ठगिनेक्रम दिनानुदिन बढ्दो छ । जापान पठाइदिने भन्दै लाखौं ठगी, कोरिया पठाइदिने भन्दै लाखौं ठगी, युरोप पठाइदिने भन्दै लाखौं ठगी, क्रोएसिया पठाइदिने भन्दै लाखौं ठगी– हिजोआज यस्तो हेडलाइनका समाचार सामान्य लाग्न थालिसकेको छ ।
कोशीका प्रदेशमन्त्रीसमेत जापानमा कामदार पठाउने सेटिङमा मुछिए । नेताका छोराछोरी, गाउँपालिकाका प्रमुख÷उपप्रमुखका छोराछोरी पनि यस्ता प्रकरणमा पक्राउ पर्ने क्रम जारी छ । दैनिक ठगीका समाचार हेर्दा देशमा वेरोजगारी समस्या कति विकराल रुपमा फैलँदो छ भन्ने चित्र प्रस्ट देखिन्छ ।
देशमा चित्तबुझ्दो रोजगारी नभेटेपछि युरोपदेखि खाडीसम्मको यात्रा योजना बनाएकाहरु पाइलापाइलामा ठगिन्छन् । युवाको रोजगारी सपना डुबाउनेहरु म्यानपावरदेखि दलालसम्मै देखिन्छन् । कोही कन्सल्टेन्सीबाट ठगिन्छन् त कोही आफन्तबाटै । यो त भयो रोजगार गन्तव्य नपुगी भएको ठगी । रोजगार गन्तव्य मुलुकमा पुगेपछि पनि युवाहरु पाइलापाइलामा ठगिन्छन् । नगदमात्र हैन शारीरिकरुपमै ठगिनेहरु बोल्न सक्दैनन् । ती पीडितहरुको समस्या समाधान गर्न स्थापना भएका नेपाली दूतावासले उनीहरुको पीडा भने सुनी दिँदैन । यसको कारण हो पीडितहरुसँग यथेष्ट प्रमाण नहुनु ।
विश्वासको भरमा रोजगारीको खोजीमा रहेकाहरुले कुनै कागजात नबनाई नगद बुझाउने गर्छन् । औपचारिक पत्र नबुझी लहैलहैमा पैसा बुझाउने, पासपोर्ट बुझाउने गर्दा उनीहरु ठगको फन्दामा पर्छन् । जुन कुराको प्रमाण हुँदैन, त्यसमा सरकारी निकायले कारबाही अगाडि बढाउन पनि मुस्किल हुन्छ । यसो त म्यानपावर कम्पनीले पनि सरकारको आँखा छल्न औपचारिकता निभाउने काममात्र गरेर श्रमिकलाई दुःख दिने काम नगरेका हैनन् । त्यसैले झण्झटिलो काम छाडेर युवाहरु अनौपचारिक रुपमै विदेशिने लाइनमा लाग्छन् । केही देशहरु यस्ता छन् जुन सरकारले अवैधानिक भन्दाभन्दै कन्सल्टेन्सीदेखि विभिन्न निकायले लैजाने गर्छ ।
पछिल्ला दिनहरुमा ‘सिजनल वर्कर’ (मौसमी कामदार) भन्दै कामदार खोजेर ठगिने क्रम जारी छ । यसमा निश्चित देशमा दुई–चार जना मिलेर मौसमी कामदार चाहियो भन्दै माग्ने र नेपालमा केही मानिस सम्पर्कमा बसेर पैसा उठाउँदै ठग्ने काम गर्छन् । देशभर यसरी नै ठगीमा परेकाहरुको संख्या लाखमा पुगेको बताइन्छ । एकपटक ठगिएकाहरु आफू ठगीमा परेपछि चेतना फैलाउनुको साटो उनीहरु पनि त्यस्तै धन्दामा लागेको पनि पाइन्छ । यसरी नै ठगिने र ठग्नेको चक्र चलिरहेको छ । यसको अन्त्यका लागि सरकारले रोजगारीमा सबै देश खुला राख्ने र जुनसुकै देशमा जाँदा पनि आफ्नै देशबाट जान सहज वातावरण बनाइदिनुपर्छ । नभए ठगी घटना यसरी नै बढिरहने छ ।