एजेन्सी - चीनको एक कम्पनीले एकल र सम्बन्धविच्छेद गरिसकेका कर्मचारीहरूलाई विवाह गर्न बाध्य पार्ने नीति ल्याएपछि विवाद उत्पन्न भएको छ। चीनको शानडोङ प्रान्तस्थित शुनटियान केमिकल ग्रुप नामक कम्पनीले एकल र सम्बन्धविच्छेद गरिसकेका कर्मचारीहरूलाई विवाह गर्न बाध्य पार्ने नीति ल्याएपछि विवाद उत्पन्न भएको हाे ।
कम्पनीले जनवरीमा जारी गरेको नीतिअनुसार २८ देखि ५८ वर्षका अविवाहित तथा सम्बन्धविच्छेद गरिसकेका कर्मचारीहरूले सेप्टेम्बरसम्म विवाह गर्नैपर्ने नियम लागू गरेको थियो। विवाह नगर्ने कर्मचारीले मार्चसम्म आत्मालोचनापत्र लेख्नुपर्ने, जुनसम्म पनि विवाह नगरे मूल्याङ्कन गरिने र सेप्टेम्बरसम्म एकल रहे जागिरबाट हटाइने चेतावनी कम्पनीले दिएको थियो।
कम्पनीको घोषणामा परम्परागत चिनियाँ मूल्य जस्तै वफादारी, पितृभक्ति, दयालुता र न्याय जोड दिइएको थियो। कम्पनीका अनुसार विवाह नगर्नु असहयोगी व्यवहार हो र समाजप्रति अन्याय हो। तर, चीनको श्रम कानुन विपरीत रहेको भन्दै स्थानीय श्रम तथा सामाजिक सुरक्षा विभागले फेब्रुअरी १३ मा कम्पनीको निरीक्षण गर्यो। सोही दिन कम्पनीले आफ्नो नीति फिर्ता लिएको बताइएको छ।
कुनै पनि कर्मचारीलाई विवाह नगरेको आधारमा जागिरबाट हटाइएको छैन। यस घटनापछि सामाजिक सञ्जालमा धेरैले विरोध जनाएका छन्। एकजनाले लेखे, "कम्पनीले आफ्नो काममा ध्यान दिनुपर्छ, कर्मचारीको व्यक्तिगत जीवनमा होइन।"
कानुनविद्हरूका अनुसार विवाह स्वतन्त्रता माथिको हस्तक्षेप संविधानविपरीत छ, र कुनै पनि कम्पनीले यस्तो नीति लागू गर्न पाउँदैन। चीनमा विगत केही वर्षयता विवाह गर्नेको सङ्ख्या घटिरहेको छ।सन् २०२३ मा ६.१ मिलियन विवाह मात्र दर्ता भए, जुन अघिल्लो वर्षको तुलनामा २०.५% ले गिरावट हो। सरकारले विवाहलाई प्रोत्साहन गर्न विभिन्न किसिमका योजना ल्याइरहेको छ, तर युवाहरू विवाहप्रति कम उत्साहित देखिएका छन्।