काठमाडौं- नेपाल ट्रेड युनियन कांग्रेसको वार्षिक राष्ट्रिय परिषद् फागुन २१ र २२ गते हुने भएको छ। परिषद्को उद्घाटन सभा भक्तपुरको बोडेस्थित कृषि विकास बैंक तालीम केन्द्रमा हुने ट्रेड युनियन कांग्रेसका उपमहासचिव एवं परिषद् क्रेडेन्सियल उपसमिति संयोजक बलदेव तामाङले जनाए।
उद्घाटनमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा लगायत नेताहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको छ। परिषदको बन्द सत्रमा देशभरिका ४०० भन्दा बढि पार्षदहरुको सहभागिता रहने छ।
परिषदको बन्द सत्रमा महासचिव अजय कुमार राईले साङ्गठानिक प्रतिवेदन र कोषाध्यक्ष संजय दाहालले आर्थिक प्रतिवेदन पेश गर्ने संयोजक तामाङले बताए। परिषदले संगठन विस्तार , योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन , श्रम ऎन संशोधन र प्रभावकारी कार्यान्वयन , श्रमिक पञ्जिकरण, न्युनतम पारिश्रमिक लागू, मर्यादित रोजगारी सिर्जना , जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभाव, सामाजिक संवाद, आधिकारिक ट्रेड युनियनको निर्वाचन , आईएलओ महासन्धिहरुको अनुमोदन , सुरक्षीत कार्यस्थल र ट्रेड युनियन अधिकारको ग्यारेन्टी लगायतका विषयहरुमा बृहत् छलफल गरि सशक्त ट्रेड युनियन आन्दोलनको कार्यदिशा निर्माण गर्ने विश्वास लिएको छ।
परिषद्को तयारी अन्तिम चरणमा पुगेको परिषद् तयारी समितिका संयोजक एवं वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले जानकारी दिए।
नेपाल ट्रेड युनियन कांग्रेसको स्थापना विसं २००३ सालमा विराटनगर मजदुर युनियनको नाममा गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा भएको थियो। यहि विराटनगर मजदुर आन्दोलनले १०४ वर्षे निरंकुश राणा शासन हटाउनेदेखि विभिन्न समयमा भएको लोकतन्त्र स्थापनाको आन्दोलनमा प्रमुख भुमिका खेल्दै आएको छ।