काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा करिब ४८ हजार महिला वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका छन् । उनीहरु वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर ५५ भन्दा बढी मुलुकमा पुगेको तथ्यांक छ ।
विभागको तथ्यांकअनुसार यस अवधिमा ४७ हजार ६५६ जना महिला श्रमिक कामको खोजीमा विदेसिएका हुन् । उनीहरुको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आठ हजार १४५, भदौमा छ हजार ७२३, असोजमा छ हजार ८२, कात्तिकमा आठ हजार १००, मंसिरमा आठ हजार ७७१, पुसमा सात हजार १०५ जना महिला रोजगारीका लागि विभिन्न मुलुक गएको तथ्यांक विभागले उपलब्ध गराएको छ । पछिल्लो महिना माघमा आठ हजार १३० जना महिला श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका विभागले जनाएको छ ।
माघमा विदेसिएकामध्ये ११ प्रतिशत महिला
विभागकाअनुसार गएको माघ महिना वैदेशिक रोजगारीमा गएका कूल श्रमिक संख्याको ११.२३ प्रतिशत महिला रहेका छन् । यो संख्या संस्थागत, व्यक्तिगत र श्रम स्वीकृति नवीकरण गरेर जानेहरुको हो । उक्त महिना रोजगारीका लागि विदेसिने पुरुष १०३ वटा मुलुकमा गएको तथ्यांक छ । महिला भने ५५ वटा मुलुकमा पुगेका छन् । विभागको तथ्यांकअनुसार महिलाहरुको प्रमुख श्रम गन्तव्य पनि खाडी राष्ट्र नै बनेको छ । माघमा सबैभन्दा बढी महिला श्रमिक संयुक्त अरब इमिरेट्स (युएई) गएका छन् । जहाँ दुई हजार ९४० महिला गएको तथ्यांक छ । जसमध्ये एक हजार ९६९ नयाँ श्रम स्वीकृति लिएर तथा बाँकी पुनः श्रम स्वीकृति लिएर गएका हुन् ।
धेरै महिला श्रमिक गएका मुलुकमध्ये दोस्रोमा कुवेत छ । माघमा कुवेतमा एक हजार ३२८ महिला गएका छन् । यो संख्या युएईको तुलनामा आधाभन्दा कम हो । कुवेतमा नयाँ श्रम स्वीकृति लिएर जानेहरुको संख्या ९६८ जना रहेका छन् । त्यसैगरी तेस्रोमा रहेको कतारमा ९३५ जना महिला गएका छन् । चौथोमा परेको साइप्रसमा ५६६, जापानमा ५५१, माल्दिभ्समा ३१४, रोमानियामा १८९, ओमानमा १७६, क्रोएसियामा १६८ तथा माल्टामा १४५ जना महिला रोजगारीका लागि गएका छन् ।साथै, बहराइन र मलेसियामा क्रमशः १२९ र ११६ जना गएका छन् । बाँकी मुलुकमा जाने महिलाहरुको संख्या १०० भन्दा कम छ ।
त्यस्तै १५ वटा देशमा एक जनाभन्दा बढी र १० जनाभन्दा कम महिला गएका छन् । उक्त एक महिनामा चेक रिपब्लिक, कम्बोडिया, सेसेल्स रिपब्लिक, मोरक्को, ग्रीस, लिथुआनिया, फ्रान्स, फिनल्याण्ड, चिली, केन्या, नेडरल्यान्ड्स र पलाउ गरी १२ वटा मुलुकमा एक–एक जनामात्र महिला रोजगारीमा गएका छन् ।माघ महिनामा जिटुजी प्रणालीमार्फत दक्षिण कोरियामा मात्र ५७ महिला श्रमिक गएका छन्, जुन उक्त महिना कोरियामा गएका श्रमिकमध्ये ०.७० प्रतिशत हो ।
संस्थामार्फत जाने कति ?
गएको माघमा इजाजत प्राप्त संस्थामार्फत रोजगारीमा जाने महिलाको संख्या तीन हजार ३९३ रहेको छ । यो संख्या सो महिनामा गएका जम्मा महिलाको ४१.७३ प्रतिशत हो । संस्थाबाट जम्मा ११ वटा मुलुकमा श्रमिक महिलाहरु गएकोमा सबैभन्दा बढी युएई नै गएका छन् । एक महिनामा एक हजार ६१० महिला म्यानपावरमार्फत युएई गएका छन् । दोस्रो स्थानमा कुवेत छ । जम्मा ६८१ जना महिला कुवेत गएका छन् । त्यसैगरी कतारमा ५०१ जना, साइप्रसमा ३६५, ओमानमा ८०, बहराइनमा ६९, जापानमा ४३, जोर्डनमा ३६ र साउदी अरबमा छ जना गएका छन् । त्यसपछि, रोमानिया र मकाउमा भने एक–एक जना गएका छन् ।
व्यक्तिगत श्रम स्वीकृति लिने २६ प्रतिशतभन्दा बढी
माघ महिनामा रोजगारीका लागि गएका कूल महिलाको २६.४५ प्रतिशत अर्थात् दुई हजार १५१ जना महिला व्यक्तिगत श्रम स्वीकृतिमार्फत गएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर उनीहरु विभिन्न ४५ वटा देश पुगेका छन् । सबैभन्दा बढी जापानमा ४७४ जना माघ महिनामा गएका छन् । युएई दोस्रो स्थानमा छ । जहाँ ३५९ जना महिला व्यक्तिगत श्रम स्वीकृति लिएर गएका छन् । यसैगरी कुवेतमा २८७ जना, माल्दिभ्समा २६४ जना, रोमानियामा १२४ जना र क्रोएसियामा १०७ जना गएका छन् । बाँकी मुलुकमा जानेहरुको संख्या भने १०० भन्दा कम छ ।