काठमाडौं – नेपाल पर्वतारोहण संघ (एनएमए) ले आफ्नो एक तालिमलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको तथा व्यावसायिक पर्वत गाइड (पीएमजी) र व्यावसायिक पर्वत नेता (पीएमएल) का लागि नयाँ पाठ्यक्रम सुरु गरेको घोषणा गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले हिजाे नागपोखरी, नक्सालस्थित अराण्य बुटिक होटलमा आयोजित कार्यक्रममा एनएमएको तालिमलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान भएको तथा पीएमजी र पीएमएलका लागि नयाँ पाठ्यक्रम सुरु भएको औपचारिक घोषणा गरेका हुन् ।
नेपालमा सन् १९७८ देखि व्यावसायिक पर्वत गाइड सम्बन्धी तालिम सञ्चालन गर्दै आएको एनएमए पर्वतारोहण तथा उद्धारसम्बन्धी सरकारी प्राविधिक निकायका रूपमा कार्यरत छ। सन् २०११ देखि एनएमएले पर्वत नेता तालिम सञ्चालन गर्दै आएको थियो।
यसै वर्षदेखि, युनियन अफ इन्टरनेशनल माउन्टेन लिडर एसोसिएसन्स (UIMLA) ले एनएमएको पर्वत नेता तालिमलाई प्रमाणित गरेको छ। २०२४ नोभेम्बर २ मा उत्तर म्यासेडोनियामा सम्पन्न वार्षिक महासभाले उक्त तालिमलाई प्रमाणित गर्ने निर्णय गरेको थियो।
एनएमएको वर्तमान कार्यसमितिको दूरदर्शी सोचअनुसार, संघले पर्वतारोहणसम्बन्धी तालिमलाई नयाँ स्तरमा पुर्याएको छ। संघले आर्थिक तथा प्राविधिक सहयोगका साथ १६९६ घण्टा अवधि रहेको पीएमजी र पीएमएलका लागि पाठ्यक्रम विकास गरेको छ, जसलाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) ले स्वीकृति प्रदान गरेको छ।
एनएमएले १६९६ घण्टे व्यावसायिक पर्वत नेता तालिम तथा व्यावसायिक पर्वत गाइड तालिमको पहिलो चरणको आधारभूत पर्वतारोहण कौशल तालिम समेत सफलतापूर्वक सम्पन्न गरेको छ। संघले व्यावसायिक पर्वत नेता तालिम (आधारभूत कौशल, ग्रीष्मकालीन कौशल, जाडो मौसमको कौशल, ८० घण्टे पर्वतीय चिकित्सा तालिम, उच्च पहाडी कौशल) तथा आधारभूत पर्वतारोहण कौशल तालिम सफलतापूर्वक पूरा गर्ने सबै सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेको छ। अहिलेसम्म ३२ जना व्यावसायिक पर्वत नेता तालिम तथा २१ जना आधारभूत पर्वतारोहण कौशल तालिम सफलतापूर्वक पूरा गरिसकेका छन्।
एनएमएका अध्यक्ष निमानुरु शेर्पाले संघका तालिम पुनः पूर्ण क्षमतामा सञ्चालन भएको घोषणा गरे। उनले भने, "कोरोना महामारीपछि एनएमएका तालिमहरू पूर्णरूपमा सञ्चालन हुन सकेका थिएनन्। अहिले हामी ती तालिमहरूलाई पुनः सुचारु गर्न सफल भएका छौं। यी तालिमहरू नेपाल सरकारको आर्थिक सहयोगमा सञ्चालन हुन्छन्, त्यसैले हामी सरकारलाई धन्यवाद दिन चाहन्छौं र निरन्तर सहयोगको अपेक्षा गर्छौं।"
राज्यमन्त्री चौधरीले प्रशिक्षार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाउने अवसर रहेको बताउँदै भने, "विश्व तापमान वृद्धिका कारण हाम्रो हिमालहरूको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको छ। अब हाम्रो पालो हो, हिमालहरूको संरक्षण गर्ने। मलाई आशा छ कि यी प्रशिक्षार्थीहरूले हिमालहरूको संरक्षण गर्दै अन्तर्राष्ट्रिय रूपमा नेपाललाई गर्व गराउने छन्।"

एनएमएका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे र महासचिव मोहन लम्सालले सरकारले संघलाई विनियोजन गरेको बजेट अझै नदिएको जानकारी गराए। सरकारबाट करिब ६ करोड रकम विनियोजन गरिएको भए तापनि अहिलेसम्म उक्त रकम एनएमएलाई प्राप्त नभएको उल्लेख गरे।