काठमाडौं– कुमारी बैंक लिमिटेड र बालुवाटारस्थित टेस्ला डायगनोष्टिक क्लिनिकबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरूलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले गरिएको उक्त सम्झौतामा कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र टेस्ला डायगनोष्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता–पत्र अनुसार टेस्ला डायगनोष्टिक क्लिनिकका विभिन्न स्वास्थोपचार सेवा तथा औषधोत्पादन शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी १२४ शाखा सञ्जाल, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरू प्रदान गर्दै आएको छ ।