काठमाडौं- क्षेत्री समाज राष्ट्रिय महासंघले २२ औं साधारण सभाको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरेको छ । न्याय परिषद्का सदस्य दामोदर खड्काको प्रमुख अतिथ्यतामा शनिबार सम्पन्न साधारणसभामा समाजले प्रमुख अतिथि खड्का, नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका नवनिर्वाचित सह सचिव ईशा अधिकारी क्षेत्री लगायत अन्य विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरेको हो ।
समाजले न्यायको क्षेत्रमा संलग्न भई पिडितलाई न्याय दिलाउन मुख्य भूमिका खेलेको सन्दर्भ त्यसैगरी लामो समय खोजमुलक पत्रकारिताको क्षेत्रमा कलम चलाउने, ओमकार हिन्दू संस्कृतिलाई जर्गेना गर्ने,हिन्दू धर्म प्रवद्र्धनमा मुख्य भूमिका खेल्नेहरुलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो।
समाजको कार्यक्रममा विभिन्न बौद्धिक व्यक्तित्वहरु डा. सुरेन्द्र केसी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,वाचन सिरोमणी दिनबन्धु पोखरेल वरिष्ठ पत्रकार ऋषि धमला, पूर्व माननीयहरु पूर्व राष्ट्र सेवकहरुको बाक्लो उपस्थिती रहेको थियो । करिब ३५ वटा विभिन्न समाज संगठनले बनेको महासंघमा ७७ जनाको केन्द्रीय समिति तथा ९ जनाको सल्लाहकार समिति रहेको कुरा कार्यक्रममा जानकारी गराइएको थियो ।
विशेषगरी समाजले क्षेत्री समुदायलाई राज्यको मूलधारमा ल्याएर उनीहरुको हकअधिकार सुनिश्चित गर्ने अभियानमा आफूलाई तल्लिन गराउदै आएको कुरा समाजका पदाधिकारीले बताए । राज्यबाट क्षेत्री समुदाय सधै बेवास्तामा परेको राज्यले जातीय आधारमा आरक्षण लागू गरी पछाडी परेका पारिएका वर्गलाई अन्यायमा पारेको हुँदा समाजले यी सवालमा आवाज बुलन्द गर्दै आएको कुरा पनि वक्ताहरुले बताए ।
सभामा शुभकामना मन्तव्य राख्दै विभिन्न वक्ताहरुले जातीय मुद्धा भन्दा पनि वर्गीय मुद्धालाई उठाई सबै वर्ग एउटै मालामा गोलवद्ध भएर राज्यलाई दवाव दिनुपर्नेमा जोड दिए । वक्ताहरुले सनातन हिन्दु अधिराज्य स्थापना गरी धर्म निरपेक्षता खारेज गर्नुपर्ने आवाज उठाउनु पर्नेमा एकमत हुनुपर्ने कुरा पनि बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यायपरिषद्का माननीय सदस्य दामोदर खड्काले आफूलाई सम्मान गरेकोमा समाजलाई हार्दिक धन्यवाद दिदै न्यायपालिकाको नियुक्तीको प्रक्रियामा पारदर्शीता कायम गर्न आफूले जोडदार भूमिका खेल्ने कुरा पनि बताए ।
कार्यक्रममा समाजका महासचिव बहादुर सिं बिष्टले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदनसहित आगामी कार्यक्रमको खाकासमेत कार्यक्रममा प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष विष्णु बहादुर खड्काले सबैलाई धन्यवाद दिदै क्षेत्री समुदायको अधिकारका लागि सधै आफू अग्रपंक्तिमा रहने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।