- जिल्ला अदालत ललितपुरमा आधा करोडभन्दा बढीको लेनदेन मुद्दा दायर
- भरतपुरस्थित क्रिकेट रंगशाला निर्माणमा ५२ लाखभन्दा बढी भुक्तानी बाँकी रहेको दाबी
- अन्य कम्पनीकोसमेत १८ करोडभन्दा बढी भुक्तानी बाँकी
- धुर्मुस भन्छन्– सबै बाँकी सरकारले भुक्तानी गर्नुपर्छ
काठमाडौं– कलाकारितामा लोकप्रियताले शिखर चुम्दै गर्दा हास्यकलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सामाजिक अभियानमा जोडिए । उनीहरूका लागि १२ वैशाख २०७२ मा आएको भूकम्प सामाजिक अभियान थालनीको मोड बनिदियो । त्यसबेला धुर्मुस–सुन्तली फाउण्डेसन नामक संस्था खडा गरी देश, विदेशका नेपालीसँग उनीहरूले सहयोग उठाए । सहयोग रकमले सिन्धुपाल्चोकमा गिरानचौरमा एकीकृत नमूना बस्ती, काभ्रेपलाञ्चोकको पाँचखालमा एकीकृत पहरी बस्ती र महोत्तरीमा एकीकृत नमूना मुसहर बस्ती बनाए । उनीहरूको लोकप्रियता झनै बढ्यो ।
त्यही मेसोमा फाउण्डेसनले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने भन्यो । सहयोग करोडौं जम्मा भयो । रंगशाला निर्माण कार्य थाले । तर, बीचमै ऋण भयो भनेर उनीहरूले रंगशाला निर्माण कार्य अलपत्र छोडे । त्यसपछि भने उनीहरु आलोचनाको सिकार बन्दै आएका छन् ।यतिबेला उनीहरूविरुद्ध अदालतमा मुद्दा परेको छ । पञ्चकन्या ग्रुपअन्तर्गतको पञ्चकन्या स्टिलले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको हो । अभियोगपत्रमा रंगशाला निर्माणका लागि कम्पनीबाट पटक–पटक गरी छड लिएको तर उक्त सामग्रीको रकम भुक्तानी नगरेको उल्लेख छ । पञ्चकन्याले लेनदेन कसूरमा मुद्दा दर्ता गरेको हो । कम्पनीले भनेको छ, ‘५२ लाख दुई हजार ५५५ रुपैयाँ भुक्तानी रोकिएको छ ।’
फाउन्डेसनले अन्य १३६ कम्पनीलाई भुक्तान गर्नुपर्ने १८ करोड ४३ लाख रुपैयाँ पनि भुक्तानी हुन सकेको छैन । उसो त २० चैत २०७९ मा बसेको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणको स्वामित्व लिएर निर्माण अघि बढाउन भरतपुर महानगरपालिकालाई स्वीकृति दिने निर्णय गरेको थियो । त्यसबेला प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल थिए । उनले अध्यक्षता गरेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा भरतपुर महानगरले ग्लोबल टेन्डर आह्वान गर्यो ।
हिमालयन कालिञ्चोक बिबिआर जेभीले निर्माणको ठेक्का पायो । हाल निर्माण कार्य जारी छ । तर, विभिन्न कम्पनीको १८ करोडभन्दा बढी भुक्तानी भएको छैन । यस्तोमा धुर्मुस र सुन्तलीविरुद्ध लेनदेन मुद्दा दायर भएको हो ।धुर्मुसले भने रंगशाला निर्माण गर्दा भुक्तानी गर्न बाँकी सबै रकम सरकारले बेहार्नुपर्ने भन्दै आएका छन् । त्यसका लागि दिनहुँजसो उनी सिंहदरबार धाउने गरेका छन् । रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिइसकेको छ । तर, पनि रंगशाला निर्माण गर्दैगर्दा प्रयोग गरिएका सामग्रीको भुक्तानी १८ करोड रुपैयाँ बाँकी रहेको धुर्मुसले नै बताउने गरेका छन् ।
रंगशालामा लोकप्रियता खरानी
नेपालमा दैनान्दिन क्रिकेट खेल लोकप्रिय बन्दै गएको छ । अत्याधुनिक क्रिकेट रंगशाला भने छैन । यस्तोमा धुर्मुस सुन्तलीले २०७५ को सुरुतिरै चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरे । क्रिकेटप्रेमी नेपालीहरुले खुलेर सहयोग गरे । आयोजनाको अनुमानित लागत साढे तीन अर्ब रुपैयाँ थियो । सहयोग मागेरै निर्माण गर्ने भन्दै १६ माघ २०७५ सालमा उनीहरूले अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेका थिए । राज्य संयन्त्रको लोसेपनको फाइदा उठाउँदै अघि बढेका उनीहरू अब वाहवाहीबाट तबाहीतिर लम्के । सुरुसुरुमा रंगशाला बनाउन सहयोग नआएको पनि होइन । देशविदेशमा रहेका नेपालीले छाक काटेर पैसा पठाए । प्रदेश, स्थानीय सरकार, कर्मचारीले सहयोग गरे । पैसा जुटाउन बीचबीचमा धुर्मुसले फण्डाको बाटो पनि अपनाए ।
अर्बौं पैसा उठाउने यात्रामा निस्केका उनले कहिले ठेला पसल खोले । कहिले रुँदै मिडियामा आए । कहिले मजदुरसँगै काम गरिरहेको भिडियो सार्वजनिक गरे । पैसा उठाउने अभियानहरू चलाए । सहयोग राशि उठाउने माहोल बनाउन केही युट्युबरलाई उनीहरूले जागिरै दिएजस्तो देखिएको थियो । त्यहीबीच उनले चन्दा उठाउने योजना बनाए । तर, यो उनको योजना प्रत्युत्पादक भए । किनभने उनले सरकारबाट पनि सहयोग लिनु थियो । त्यसैले उनले अर्को बाटो अपनाए कि मान्छेलाई चन्दाका लागि भावनात्मक रूपले तयार गर्ने । त्यसैले उनले विभिन्न फण्डाहरू गरे । उनलाई सहयोग नआएको पनि होइन । तर, यो परियोजना पाँच, १० वा २० करोडले पूरा हुनेखाले होइन ।
त्यसलाई तीन अर्ब रुपैयाँ चाहिन्छ, जुन चन्दा उठाएरै निर्माण गर्ने उनको योजना रह्यो । त्यही महŒवाकांक्षाले उनीहरूलाई १६ करोड ऋणको दलदलसम्म ल्याएको छ । शिलान्यास गरेको सात वर्ष हुन लाग्दासम्म रंगशालाको भौतिक प्रगति ५० प्रतिशत पनि पुगेको छैन । खर्चको पारदर्शिता नभएको गुनासो सर्वत्र छ । तर, धुर्मुसले हालसम्म रंगशाला निर्माणमा ५४ करोड खर्च भइसकेको र १६ करोड ऋण लागेको बताउने गरेका छन् । ऋणमा जिम्मेवार सरकार हुनुपर्ने धुर्मुसले भन्दै आएका छन् । तर, सरकारले भुक्तानी गर्ने सुरसार गरेको छैन । धुर्मुस र सुन्तली आलोचित भएका छन् ।